संरक्षित क्षेत्रमा व्यापारीकरण रोक्न माग «

संरक्षित क्षेत्रमा व्यापारीकरण रोक्न माग

संरक्षित क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न सरोकारवालाहरूले माग गरेका छन् । संरक्षण सरोकार समूह र नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीहरूले संरक्षित क्षेत्रको व्यापारीकरण रोक्ने माग गरेका हुन् ।
पछिल्लो समय निकुञ्ज तथा संरक्षित क्षेत्रमा रिसोर्ट, केवलकारलगायतका विकासका अवधारणा सार्वजनिक हुँदै गर्दा सरोकारवालाले भने संरक्षण क्षेत्रको व्यापारीकरण रोक्न आवाज उठाउन थालेका हुन् । वन तथा वातावरण मन्त्रालयले केही व्यवसायीको उक्साहटमा संरक्षण क्षेत्र मास्ने गरी योजना बनाएको भन्दै सरोकारवालाहरूले आलोचना गरे ।
संरक्षणविद् डा. तीर्थबहादुर श्रेष्ठले संरक्षण क्षेत्रमा पर्यटन विकासको वहानामा व्यापारीकण गर्न नहुने बताए । “हाम्रा संरक्षण क्षेत्र शान्त हुनुपर्छ, पर्यटन विकासका लागि पार्क खोल्ने भए निकुञ्ज विभाग नै पर्यटन मन्त्रालयअन्तर्गत राखिदिए हुन्छ,” उनले भने, “अहिले नजिकको पर्यटकीय गन्तव्य शिवपुरी राष्ट्रिय निकुञ्जमा केवलकार निर्माण, पार्क निर्माण तथा रिसोर्ट खोल्ने कुरा आइरहेको छ, यो गलत छ, रोकिनुपर्छ ।”
बरिष्ठ पत्रकार भैरव रिजालले पनि संरक्षित क्षेत्र मास्ने षड्यन्त्र रोक्न जरुरी रहेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव कमलजंग कुवेरले पनि संरक्षण क्षेत्रमा व्यवसायीकरण बन्द नभए भावी दिनमा जलाधार सुक्ने र पानीको समस्या बढ्ने बताए । “शिवपुरीका कारण जालाधार संरक्षण तथा पानीको मुहान संरक्षण भइरहेको छ, तर शिवपुरी संरक्षण हुन सकेन भने काठमाडौंमा पानीको समस्या बढ्नु, बाढी पहिरो नियन्त्रण हुन नसक्नु जस्ता समस्या उत्पन्न हुन सक्छ,” उनले भने, “यसकारण संरक्षित क्षेत्रको व्यापारीकरण समयमा नै रोक्नु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्