माइती नेपाललाई सहयोग गर्न खुल्यो ‘माइती क्याफे’ «

माइती नेपाललाई सहयोग गर्न खुल्यो ‘माइती क्याफे’

नाफाको ५१ प्रतिशत चेलीबेटीको उद्धार र पुनस्र्थापनामा खर्च हुने

चेलीबेटी बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालमा आश्रितहरूलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरूले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको संयोजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे सञ्चालनमा ल्याएको हो ।
यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौं चेलीबेटीहरूको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे सञ्चालक आफ्नो नेपालसँग आबद्ध समिर पन्थीले बताए ।
“मुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिनेछ,” उनले भने । क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनुपर्ने बाध्यता न्यूनीकरण गर्ने अपेक्षा क्याफे सञ्चालकको छ ।
माइती क्याफेमा माइती नेपालमा आश्रित चेलीबेटीहरूले रोजगारी पाएका छन् । “माइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरूको पुनर्जीवनका लागि पनि यो क्याफे महत्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ,” पन्थीले भने, “माइती नेपालमा रहेका चेलीहरूलाई यस क्याफेमा संलग्न गराएर उनीहरूलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तरघुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ ।”
आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न व्यवसाय सञ्चालन गरेका थिए । देशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उनले सामाजिक अभियान र व्यावसायिक काम गर्दै आएका छन् ।
उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशमशेर राणा र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो । क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरू पाइनेछ । यहाँको परिकारबारे मूल्य पनि निकै सस्तो राखिएको पन्थीले दाबी गरे । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरूको जानकारी राखिएको छ ।
“ग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्,” पन्थीले भने, “खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलीबेटीको उद्धार र पुनस्र्थापनामा खर्च हुने कुराले उनीहरूलाई फरक आनन्दको अनुभूति दिनेछ ।”

प्रतिक्रिया दिनुहोस्