व्यापार युद्धका बावजुद चिनियाँ निर्यातमा वृद्धि «

व्यापार युद्धका बावजुद चिनियाँ निर्यातमा वृद्धि

बेइजिङ-विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकासँगको व्यापार युद्धका बावजुद जुलाईमा चीनको निर्यातमा अप्रत्याशित रुपमा वृद्धि भएको छ ।
गत महिना चीनले गरेको निर्यातमा ३.३ प्रतिशतले वृद्धि भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । सुरुमा चिनियाँ निर्यात गत महिना दुई प्रतिशतले घट्ने प्रक्षेपण गरिएको थियो ।
यद्यपि आश्चर्य लाग्ने कुरा के छ भने चीनले गरेको आातमा भने ५.६ प्रतिशतले गिरावट आएको छ । यो अनुमान भन्दा २.७ प्रतिशतले कम हो ।
तर अमेरिकाले आगामी महिनादेखि चिनियाँ आयातमा नयाँ कर लगाउने तयारी गरिरहेकोले चीनको अर्थतन्त्र दबावमा रहने विश्लेषकहरू बताउँछन् ।
“आगामी महिनाहरूमा पनि निर्यात राम्रै रहने देखिन्छ,” क्यापिटल इकोनोमिक्समा कार्यरत चिनियाँ अर्थतन्त्रका विज्ञ जुलियन इभान्स–प्रिट्चर्डले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १ देखि तीन खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गरिसकेका छन् ।
गत हप्ता अमेरिकाले चीनलाई मुद्रा दरमा हेराफेरी गर्ने राष्ट्र भनेपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरूबीचको तनाव बढेको छ । गत हप्ता चिनियाँ युआनको मूल्य अमेरिकी डलरको तुलनामा ह्वात्तै घटेको थियो ।
चीनको पीपुल्स बैंक अफ चाइनाले सोमवार भन्सार दर बढेको र व्यापार संरक्षण गर्न लिइएको नीतिका कारण युआनको मूल्य घटेको बताएको थियो ।
युआनको मूल्य घट्दा चिनियाँ सामानहरू विदेशी मुद्राले किन्दा सस्तो पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्