विप्रेषण : सदुपयोगको आवश्यकता «

विप्रेषण : सदुपयोगको आवश्यकता

केही दशकयता नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित छ । विप्रेषणले कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत बराबरी योगदान पु¥याएको छ । हाल यहाँ दैनिक सरदर २ अरब विप्रेषण रकम भित्रिन्छ । सन् १९९० को दशकमा करब २ सय ५० अमेरिकी डलर रहेको यहाँको प्रतिव्यक्ति आय चालू आर्थिक वर्षमा १ हजार ४ डलर पुगेको छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्ममा नेपालीहरूको प्रतिव्यक्ति आय १५ सय डलर पु¥याउने लक्ष्य लिएकाले यसको परिपूर्तिका लागि विप्रेषणले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
दुई वर्षयता यहाँको विप्रेषण रकम केही घटे पनि चालू आर्थिक वर्षको सुरुदेखि नै उक्त रकमको वृद्धिदर बढ्न थाल्यो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा सो रकम ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड पुग्यो । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम ७ प्रतिशतले मात्र बढेको थियो ।
वर्तमान समयमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षमा यस्तो आप्रवाह ११.८ प्रतिशतले मात्र बढेको थियो । आर्थिक वर्ष ०७५-७६ को पहिलो महिनामा यहाँको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनलाई आधार मान्ने हो भने विप्रेषण रकम विगतको तुलनामा केही बढेको छ । यसको मुख्य कारण अमेरिकी डलरको भाउ बढ्नाले हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीबाट पठाइएको विप्रेषणले यहाँ सकारात्मक तथा नकारात्मक प्रभाव परेको छ । यहाँको गरिबी न्यूनीकरण, वित्तीय पहुँचमा वृद्धि, बढ्दो बेरोजगारीको न्यूनीकरण, सेवा क्षेत्रहरूको विस्तार, बैंक तथा वित्तीय संस्थाहरूको कारोबारमा वृद्धि, विदेशी विमियमा सञ्चिति, शैक्षिक विकास, आर्थिक वृद्धि आदि विप्रेषणका सकारात्मक पक्षहरू हुन् । योबाहेक वैदेशिक रोजगारीमा गएर स्वदेश फर्कने व्यक्तिहरूले नयाँ ज्ञान, सीप र अनुभव प्राप्त गरी यहाँको विकासमा सकारात्मक प्रभाव पारेका छन् ।
अर्कातर्फ यहाँको सक्रिय श्रमशक्तिको पलायन, सामाजिक तथा सांस्कृतिक विचलन, राष्ट्रभक्तिमा कमी, स्वदेशी सरकारप्रति अविश्वास, स्थानीय स्रोत–साधनको परिचालनमा कमी, आन्तरिक कृषि तथा औद्योगिक उत्पादनमा ह्रास, निरन्तर मूल्यवृद्धि, उपभोगमुखी तथा विलासमुखी जीवनशैलीमा बढ्दो आकर्षण, पारपाचुके, पारिवारिक विछोड आदि विप्रेषणका नकारात्मक प्रभावहरू हुन् । यतिमात्र होइन, वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रतिवर्ष सरदर ८ सय मृतकको शरीर नेपाल भित्रिन्छ भने कतिपय व्यक्ति अशक्त भएर स्वदेश फर्कन्छन् । फलतः नेपालीहरूले थप पीडा सहनुपरेको छ ।
नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार नेपालमा विप्रेषण प्राप्त गरिरहेकामध्ये ८०.८ प्रतिशतलाई अन्य स्रोतबाट घर खर्च धान्न नपुग्ने हुनाले अधिकांश घर खर्चका लागि विप्रेषण आयमा भर पर्नुपर्छ । यसै गरी १८.८ प्रतिशत घरपरिवारले उपभोग खर्चका लागि पूर्ण रूपमा विप्रेषण आयमा भर पर्नुपर्छ ।
हालसम्म प्राप्त भएको विप्रेषण आयमध्ये २३.९ प्रतिशत दैनिक उपभोगमा, २५.३ प्रतिशत ऋण तिर्न, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत सामाजिक कार्यमा, ३ प्रतिशत घरायसी सम्पत्ति खरिद गर्न, १ प्रतिशत व्यापार–व्यवसायमा र ५.५ प्रतिशत अन्य काममा खर्च भएको कुरा उक्त अध्ययनबाट प्रस्ट भएको छ । यी तथ्याङ्कहरूबाट यो कुरा बोध हुन्छ कि यहाँ भित्रिने विप्रेषणको ठूलो अंश दैनिक उपभोग र बाँकी गैर–उत्पादनशील क्षेत्रमा खर्च गरिन्छ ।
यहाँ भित्रिने विप्रेषणका सम्बन्धमा यहाँ निकै चर्चा तथा बहसहरू भए पनि यसलाई हालसम्म पनि उत्पादनशील तथा दिगो विकासका निम्ति प्रयोग गर्न सकिएको छैन । आगामी दिनहरूमा पनि यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसकिएमा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्छ ।
वस्तुतः केही दशकयता भित्रिरहेको विप्रेषणबाट यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्छ । यसैले समयमै यसका लागि केही उपाय अपनाउन आवश्यक छ ।
प्रथमतः हालसम्म उपभोग तथा गैरउत्पादन क्षेत्रमा भैरहेको विप्रेषणको बढ्दो उपयोगलाई न्यून गर्न र उत्पादनशील उपयोगलाई प्रवद्र्धन गर्न नागरिक चेतना स्तर बढाउनुपर्ने देखिन्छ । यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन आवश्यक छ ।
यहाँको धेरैजसो ग्रामीण क्षेत्रमा विप्रेषण आय प्रचुर मात्रामा भित्रिने गरेकाले निकासीजन्य घरेलु तथा साना उद्योगहरूमा यस्तो आय उपयोग गर्न जोड दिनुपर्छ । यसका लागि विदेशमा रोजगारीका लागि गएका व्यक्तिको परिवारका सदस्यहरूलाई व्यावसायिक कृषि एवम् पशुपालनलगायत घरेलु उद्यम तथा सेवा–व्यवसायजस्ता व्यवसायिक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नु आवश्यक छ ।
विप्रेषण आयलाई यहाँको सर्वतोमुखी विकासमा परिचालन गर्न नेपाल राष्ट्र बैंकले बेलाबेलामा जारी गर्दै आएको वैदेशिक रोजगार बचतपत्रको प्रभावकारिता अभिवृद्धि गरी लक्षित वर्गलाई आकर्षण गर्न जरुरी छ । यसो गर्न सकेमा निःसन्देह पनि वैदेशिक रोजगार बचतपत्र यहाँको पूर्वाधार निर्माणका लागि आवश्यक रकम जुटाउन भरपर्दाे माध्यम बन्न सक्छ । यतिमात्र होइन, ठूला पूर्वाधार तथा ऊर्जासम्बन्धी आयोजनाहरूको सञ्चालनका लागि ऋणपत्र उपलब्ध गराउन सके वैदेशिक रोजगारीबाट फर्किएका र फर्कने व्यक्तिहरूका लागि दीर्घकालीन आयको स्रोत पनि हुन सक्छ ।
नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार विप्रेषण आयको बचतलाई वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा घरमूलीको बैंकिङ बानीले पनि निकै प्रभाव पार्ने कुरा थाहा भएको छ । बैंक खाता खोलेर वैदेशिक रोजगारीमा गएका व्यक्ति वा घरमूलीले बैंक खाता नखोलेका व्यक्तिहरूको तुलनामा बढी रकम बचत गर्ने कुरा उक्त अध्ययनबाट प्रस्ट भएको छ ।
आजसम्म पनि यहाँको सम्पूर्ण जनसंख्याको ४० प्रतिशतमात्र बैंकिङ सेवामा आबद्ध भएकाले अझै धेरै ठाउँमा र खास गरेर दुर्गम क्षेत्रमा बैंकिङ सेवा पुग्न नसकेको कुरा सर्वविदित छ । वास्तवमा बैंकिङ सेवाको पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने व्यक्ति तथा अन्यलाई पनि बैंक खाता खोल्न प्रोत्साहन गर्नु आवश्यक छ । योबाहेक देशभित्र निर्माण गरिने जलविद्युत् आयोजना-परियोजना तथा उद्योगहरूको प्राथमिक सेयर निष्कासनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई एक निश्चित प्रतिशत छुट्ट्याउने व्यवस्था गर्न सके त्यस्ता आयोजना-परियोजना र उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न ठूलो सघाउ हुन सक्छ ।
हालसम्म पनि नेपालमा प्राप्त भइरहेको विप्रेषण आयको धेरै अंश अनुत्पादनशील क्षेत्रमा प्रयोग गर्नु न्यून आय भएका व्यक्तिहरूको बाध्यता हो । वास्तवमा यस्ता व्यक्तिहरूको घर खर्च टार्न विप्रेषण आयले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
वैदेशिक रोजगारीमा जाने केही व्यक्तिले साहूसँग लिएको चर्काे ब्याजसहितको ऋण र सावाँब्याज भुक्तानी गर्नुपर्ने बाध्यताको कारण विप्रेषण आयको झन्डै एक–चौथाइ अंश ऋण तिर्न खर्च भएको देखिन्छ । यसैले एकातर्फ विप्रेषण आय प्राप्ति गर्ने घर परिवारको खर्च गर्ने शैलीमा केही परिवर्तन गर्नु आवश्यक छ भने अर्कातर्फ वैदेशिक रोजगारीमा जाने व्यक्ति ऋण दिने व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । यसका लागि सम्बन्धित क्षेत्रबाट सचेतना कार्यक्रमहरू सञ्चालन गर्न नितान्त आवश्यक छ ।
विप्रेषणले अर्थतन्त्रमा केही योगदान प्रदान गरे पनि यो दिगो रहन सक्दैन । त्यसैले नेपालजस्तो अतिकम विकसित देशमा यो नै अन्तिम रोजगारीका रूपमा विद्यमान हुनु राम्रो संकेत होइन । वास्तवमा यहाँको युवाशक्तिलाई मानवपुँजीका रूपमा स्वीकार गर्न नसक्नु र विप्रेषणबाट भित्रेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नु दुःखको कुरा हो । त्यसैले यहाँको सरकार तथा नियामक निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित तथा सम्मानजनक बनाई यसबाट प्राप्त हुने विप्रेषणको प्रभावबाट जोगाइराख्न, कारोबारलाई व्यवस्थित गर्न लगानी योजना तथा आवश्यक ऐन–कानुन बनाई सम्बोधन, व्यवस्थापन र नियन्त्रण गर्न जरुरी छ । यतिमात्र होइन, विप्रेषण रकमलाई पीडादायी एवम् निर्वाहमुखी प्रवृत्तिबाट परिवर्तन गरी निकास तथा उत्पादनमुखी बनाउन नितान्त आवश्यक छ । यसो गर्न सकेमा मात्र भविष्यमा विप्रेषणबाट ठोस फाइदा हुनेछ ।

के.बी. बस्नेत

प्रतिक्रिया दिनुहोस्