नेपाली पर्यटन र आशाको दियो «

नेपाली पर्यटन र आशाको दियो

सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन थालेको ‘नोभेल कोरोना भाइरस’ (कोभिड–१९) ले बिस्तारै महामारीको रूप लिएपछि विश्वका प्रायः सबै देशले हवाई तथा सडकबाट आफ्नो देश प्रवेश गर्ने यात्रीहरूलाई यात्रा गर्न प्रतिबन्ध लगाउन थाले । जसले गर्दा झन्डै डेढ वर्ष विश्वको पर्यटन क्षेत्रले आर्थिक रूपमा ठूलो मार खेप्नुपरेको थियो । त्यो बेला पर्यटन क्षेत्रमा मात्रै नभएर समग्र उद्योग, व्यापार, व्यवसाय, कलकारखानालगायतमा एक प्रकारले मुर्दाशान्ति नै छाएको अवस्था थियो भन्दा अतिशय नहोला ।

त्यतिबेला हामीलाई के लाग्थ्यो भने अब के हुने हो ? कसो हुने हो ? कतै कोरोना महामारीले आफैंलाई पो लाने हो कि ? कोरोना महामारीले अझै कति लामो समयसम्म गाँज्ने हो ? कसैलाई पनि केही अत्तोपत्तो थिएन । निराशा र अत्याशलाग्दो अवस्थाले प्रायः सबै मानिसको मनमा घर गरेको थियो भने यस्तो अवस्थामा अझै कति लामो समयसम्म बस्नुपर्ला भनी मानिसहरू चिन्तित भएको अवस्था रहेको थियो । तर, हिजो जुन समय र परिस्थितिले गर्दा हाम्रो जीवनमा निराशा र चिन्ता छाएको थियो, आज आएर त्यही समय, परिस्थिति र चिन्ता हाम्रो सामु छैन । आज हाम्रो जीवनमा ठूलो उत्साह, उमंग, जोस र जाँगरले भरिपूर्ण भएको अवस्था छ । यसो हुनुको कारण हो— आज आएर कोरोना भाइरसले लगभग बिदा नै लिएको अवस्था छ ।

त्यसबेला केही देशका सरकार प्रमुखहरू जस्तै— तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायतले कोरोना महामारीलाई अति नै हलुका रूपमा लिएका थिए । त्यसो भए तापनि कोरोना महामारी आफ्नो पूर्ण शक्तिसहित विश्वभरि फैलने क्रम बढेर गयो । फलस्वरूप विश्वभरिकै पर्यटकीय गन्तव्यहरू बिस्तारै बन्द हुँदै गए । हुन पनि विभिन्न समयमा विश्वमा आएका ठूला महामारी रोगहरूको इतिहास हेर्दा त्यसअघिका महामारीमा यसरी आवतजावत (यात्रा) मा प्रतिबन्ध नै लगाउनुपर्ने बाध्यात्मक स्थिति आएको थिएन । जसका कारण विश्व पर्यटनमा कसैले पनि नसोचेको स्तरमा ‘डाउन–फल’ सुरु भयो । भनाइको मतलब विश्वका धेरैजसो पर्यटकीय स्थल पूर्ण रूपमा बन्द गरियो । कोरोना महामारीका कारण सबै देशका सरकार प्रमुखहरूलाई विश्वभरि यात्रा र घुमघाम गर्न नपाउने गरी प्रतिबन्ध लगाउनुपर्ने बाध्यता आइलाग्यो । त्यसो नगरेमा एक देशका यात्रुले अर्को देश भ्रमण गर्न जाने क्रममा श्वास–प्रश्वासका माध्यमबाट सजिलै अनि छिट्टै कोरोना भाइरस फैलाउने थिए ।

विश्व पर्यटन संगठनले गरेको अध्यययनअनुसार कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि विश्वका करिब २ सय १७ साना–ठूला देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएका थिए भने शतप्रतिशत पर्यटकीय गन्तव्यहरू बन्द भएका थिए । यस्तो खालको अति कडा प्रतिबन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ? त्यसैले बिस्तारै विश्वका केही देशले कोरोना महामारी पैmलिएको देशको अवस्था हेरेर आफ्नो देशमा आउन चाहने विदेशी पर्यटकका लागि केही सहज र खुकुलो नीति लिए ।

जस्तै, सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने, मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम लागू गरेर आफ्नो देशमा पर्यटकीय गतिविधिहरू जारी राखे भने कुनै–कुनै देशका नागरिकलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारीको अवस्था हेरेर निश्चित अवधिसम्म आफ्नो देशमा प्रवेश गर्नै नपाउने गरी प्रतिबन्ध पनि लगाएका थिए । सन् २०२२ को सुरुदेखि चाहिँ विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भयो । किनभने सन् २०२२ मा विश्वका विभिन्न देशका ९ सय मिलियन अर्थात् ९० करोड मानिस पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए ।

नेपालमा पनि सन् २०२३ लाग्दा नलाग्दै विदेशी पर्यटकको आगमन दरमा सुधार हुँदै गएको छ । सन् २०१९ को पहिलो ६ महिनाको तुलनामा सन् २०२३ को पहिलो ६ महिनामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको छ । जुन कुरोलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने सम्बन्धमा र उनीहरूको नेपाल बसाइ अवधि अनि नेपाल बसाइको क्रममा विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा कसरी बढाउन सकिन्छ भन्ने सम्बन्धमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

स्मरणीय छ, सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरूको नेपाल बसाइ अवधि अनि उनीहरूले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन । सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति दैनिक ४८ अमेरिकी डलर खर्च गरेका थिए भने औसत बसाइ अवधिचाहिँ १२.७ सात दिन थियो । त्यस्तै, सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा १ लाख ३१ हजार मात्र नेपाल भ्रमणमा आए । सन् २०२२ मा चाहिँ ६ लाख १४ हजार १ सय ४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । तर, नेपाल बसाइका क्रममा विदेशी पर्यटकले गर्ने दैनिक खर्चचाहिँ केवल ४२ अमेरिकी डलर रहेको तथ्यांक आएको छ, जुन साह्रै दुःखद हो । अहिलेको महँगीको जमानामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन कम्तीमा पनि ६५/७० अमेरिकी डलर खर्च गर्नुपर्ने हो ।

समग्रमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटक संख्याको बढोत्तरी भएको देखिए पनि उनीहरू नेपाल रहँदा गर्ने खर्च गराइमा कमी रहेको देखिन्छ । तथापि पनि हामीले नेपाली नेपाली पर्यटन क्षेत्रमा आशा र उत्साहको दियोमा तेल थपेर जलाइरहने प्रण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्