प्रदेश–१ का चार स्थानमा आयुर्वेद उद्योग स्थापनाको तयारी «

प्रदेश–१ का चार स्थानमा आयुर्वेद उद्योग स्थापनाको तयारी

विराटनगर- प्रदेश–१ सरकारले आयुर्वेद उद्योग स्थापना गर्ने तयारी सुरु गरेको छ । झापा, मोरङ र सुनसरीका चार स्थानमा आयुर्वेद उद्योग स्थापनाका लागि सरकारले तयारी थालेको हो ।
प्रदेश–१ मा उत्पादन हुने जडीबुटीबाट आयुर्वेद उद्योग सञ्चालन गर्ने तयारी गरिएको मुख्यमन्त्री शेरधन राईले बताए । “प्रदेश–१ मा आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको पहल सुरु भएको छ,” मुख्यमन्त्री राईले भने । उद्योग स्थापनाका लागि तीन जिल्लामा जग्गाको प्रस्तावसहित सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन मुख्यमन्त्री राईलाई बुझाइसकेको छ ।
डा. भविन्द्र न्यौपानेको संयोजकत्वमा गठित विज्ञसहितको आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापना सम्भाव्यता अध्ययन टोलीले राईलाई बुझाएको प्रतिवेदनमा उद्योग स्थापनाका लागि झापाको खुदुनाबारी, मोरङको बेलबारी, धनपालथान र सुनसरीको तरहरामा जग्गा छनोट गर्नुपर्ने प्रस्ताव गरेको छ । कार्यदलले सरकार एक्लैले मात्र नभई सार्वजनिक निजी–साझेदारीमा उद्योग स्थापना गर्न सुझाव दिएको छ ।
व्यापारिक महत्वका जडीबुटीमा प्रदेश–१ मा रुद्राक्ष, तेजपात, चिराइतो रिठ्ठा, मजिठो धेरै परिमाणमा उत्पादन हुने गरेको पाइएको छ भने वनलसुन, रुद्राक्ष, चिराइतो, तेजपात र सतुवाको व्यापारबाट बढी आम्दानी भएको देखिएको छ । यस्तै आयुर्वेद औषधि उद्योग स्थापनाका लागि जडीबुटीको छुट्टै सूची तयार पारिएको छ । नेपालमा सबैभन्दा बढी खपत हुने आयुर्वेदिक औषधिमा अभिपत्तिकर चुर्ण, त्रिफला चुर्ण, बर्रो चुर्ण, अश्वगन्धा चुर्णलगायत छन् । यी सबै नेपालमै उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका लागि आवश्यक अमला हर्राे, बर्राे, अश्वगन्धा, सर्पगन्धा, मजिठो, चिराइतो, सताबारी, पिपलालगायत ११ जडिबुटी यस क्षेत्रमा उपलब्ध हुनुका साथै व्यावसायिक खेतीसमेत गर्न सकिने मुख्यमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यदलले प्रदेशका १४ जिल्लामा अध्ययन गरी २ प्रकारका सूची तयार पारेको छ । कार्यदल टोलीले व्यापारिक महत्वका जडीबुटी र आयुर्वेदिक औषधिमा प्रयोग हुने खेती वा वनबाट संकलन हुने जडिबुटी भनी छुट्याएको छ । प्रतिवेदनका आधारमा अब सामाजिक विकास मन्त्रालयले उद्योगका लागि स्थानको छनोट गर्ने, प्रस्तावित आयुर्वेदिक उद्योगको डीपीआर तयार गराउने र गुरुयोजना तयार गर्नेछ । प्रदेश–१ सबैजसो पहाडी र हिमाली जिल्लामा जडीबुटी पाइन्छ । आवश्यक कच्चापदार्थ प्रदेशभित्रै उपलब्ध हुने भएकाले उद्योग सञ्चालन गर्न सहज हुने मुख्यमन्त्री राईको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्