फोहोरले रोगी बन्दै नगरबासी «

फोहोरले रोगी बन्दै नगरबासी

बाराको जितपुर–सिमरा उपमहानगरपालिका बासिन्दा फोहोरका कारण बिरामी पर्न थालेका छन् । उपमहानगरका अधिकांश वडा फोहोरले दुर्गन्धित हुँदा स्थानीयवासी बिरामी हुन थालेका हुन् । उपमहानगरपालिकाले फोहोर नउठाउँदा सिमरा, जितपुर, पथलैया जस्ता धेरै जनघनत्व भएका शहर दुर्गन्धित मात्र भएका छैनन्, नगरवासी रोगीसमेत बनेका हुन् ।
जताततै फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि रुघाखोकीको संक्रमण फैलिएको छ । नगरमा ९४ जना नयाँ क्षयरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कुष्ट रोग शाखाले जनाएको छ । रुघाखोकी, स्वासप्रश्वासका बिमारीसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् । पछिल्लो पाँच महिनायता यस्ता बिरामी बढेको उनीहरूको भनाइ छ ।
फोहोर व्यवस्थापनमा उपमहानगरपालकाले चासो नदेखाएपछि केही टोल र बजारमा नगरबासी, ब्यापारी, व्यवसायीले फोहोका लागि कर नतिर्ने भन्दै आफैं सफा गर्न थालेका छन् । सिमरा विमानस्थल रोड, पथलैया बजारलगायतका स्थानीयले समूह बनाई दैनिक केही रकम संकलन गरी फोहर सफा गर्न लगाउँदै आएका थिए । तर, उपमहानगरपालिकाले ठेकेदारसँग मिलेर फोहर संकलन कर सुरु गरेपछि सातामा एक पटक फोहर उठाउन थालिएको छ । यसले बजार दुर्गन्धित हुँदा व्यापारसमेत घटेको छ । सिमरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिव पौडेलले फोहोर व्यवस्थापन नहुँदा नगरवासीको स्वास्थ्यमा गम्भीर असर देखिने थालेको बताए ।
उपमहानगरपालिकाले फोहर संकलन गर्न तीन जनालाई जिम्मा दिएको छ । त्यसका लागि उपमहानगरपालिकाले दुई वटा ट्याक्टर, दुई वटा टिपर, चार जना चालकसहित इन्धन र भत्ता उपलब्ध गराउने गरेको छ । नगरकै ठूलो जितपुर खाद्यान्न बजारमा मासिक १ लाख ६१ हजार र सिमरा–पथलैयामा २ लाख १ हजारमा कर उठाउन उनीहरूलाई नगरले स्वीकृति दिएको छ । जसमा होटलले मासिक २ सय, पसलले १ सय र निजी घरले ५० रूपैयाँ तिर्नुपर्छ ।
तर, फोहोर संकलनको जिम्मेवारी लिएकाहरू कयौं दिनसम्म बेपत्ता हुने गरेका छन् । यसबाट आजित भएका पथलैया, सिमरा र जितपुरका बासिन्दाले फोहोर कर नदिने र आफ्नो घर आँगन सके आफैंले नसके टोल समिति बनाएर सफा गर्ने बताएका छन् ।
उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हीराबहादुर गुरुङले आफूले फोहोर व्यवस्थापन गरी नगरलाई सफा गर्न मेयर, कार्यकारी अध्यक्ष र ठेकेदारलाई भने पनि बेवास्ता गरिएको गुनासो गरे । जनताले आफैं वा टोल समिति बनाएर सफा गर्छौं तर, नगरलाई कर तिर्दैनौं भन्दा आफूसँग कुनै उत्तर नभएको उनले बताए ।
नेपाली कांग्रेसका नगरसभापति श्यामबाबु गुप्ताले मेघा सिटीको प्रारम्भिक अध्ययन थालिएका बेला नगर प्रमुखको काम गर्ने शैलीले जनतालाई निराश पारेको बताए । उनले फोहोरको दुर्गन्धले नगरवासी बिरामी हुन थाल्दासमेत वेवास्ता गरिएको आरोप लगाए । स्थानीय सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प अब आफूले नदेखेको उनको भनाइ छ ।
जितपुर–सिमरा उपमहानगरपालिकामा दैनिक १.१ टन फोहोर संकलन हुने गरेको छ । त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले वार्षिक १ करोड रूपैयाँ खर्च गर्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्