काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा «

काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा

पूर्वी नेपालमा उत्पादित विजुलीका लागि महत्वपूर्ण मानिँदै आएको काबेली करिडोर १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएको छ । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको काबेली करिडोर प्रसारणलाइन सञ्चालनमा आएको हो । आयोजनाको फिदिमको थापाटार–पाँचथरको अमरपुर तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारणलाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालन (चार्ज)मा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसअघिनै आयोजनाको झापाको लखनपुर, इलामको गोदक तथा इलामकै सोयाक र पाँचथरको फिदिम दोस्रो खण्ड सम्पन्न भई सञ्चालनमा आइसकेको छ । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारणलाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ,” उनले भने ।
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन अभावमा खेर जान नदिन उनीहरूको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारणलाइनको निर्माण सम्पन्न भएको उनले बताए । “अब प्रवद्र्धकहरूले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्छ,” घिसिङले भने ।
आर्थिक वर्ष २०६३-६४मा सुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एन्ड एस्टर जेभीले २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११)मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता १४ पुस २०६८ (२९ डिसेम्बर २०११)मा कार्यान्वयनमा आएको थियो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

ड्रोनको प्रयोग
तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । “चार सयको हाराहारीमा रुख काट्नुपर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं, त्यसैले ३१-३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तान्यौं,” उनले भने ।

लाइन सञ्चालनमा आएको प्रवद्र्धकलाई जानकारी
प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ । यो खण्डस्थित अमरपुर सवस्टेसनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १ को प्रवद्र्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लाइन चार्ज भएको मंगलबार जानकारी दिएको हो । “आयोजनाहरूबाट उत्पादित विद्युत् अरपुर सवस्टेसनमार्फत् राष्ट्रिय ग्रिड प्रणालीमा जुनसुकै बेला जोड्न सकिने जानकारी गराएका छौं,” आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले भने । ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाको विद्युत् पनि यही सवस्टेसनमा जोडिने छ ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्