सुपारी र मटरको तस्करी बढ्यो «

सुपारी र मटरको तस्करी बढ्यो

झापा-सुपारी निकासी ठप्प रहेकै अवस्थामा सीमावर्ती नाका काँकडभिट्टाबाट दैनिकरूपमा भारततर्फ सुपारी तस्करी हुने गरेको छ । भारतले सुपारी आयातमा रोक लगाएपछि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैधरूपमा भारत कटाउने गरेका हुन् ।
दैनिक सयौंको संख्यामा रहेका पोके व्यापारीले शरीरमा सुपारी बाँधेर भारत पु-याउने गरेका छन् । शरीरमा सुपारी बाँधेर भारत पु-याउन महिला र बालबालिकाको प्रयोग बढी हुने गरेको छ । तस्करीमा संलग्नले बालबालिकालाई समेत प्रयोग गर्न थालेका हुन् ।
नाका नजिकै रहेको गोदामबाट सुपारी भारत पु-याउने गरेको तस्करीमा संलग्न काँकडभिट्टाकी एक बालिकाले बताइन् । कमजोेर आर्थिक अवस्थाका कारण सुपारी तस्करीमा लाग्नुपरेको उनी सुनाउँछिन् । “पुल कटाउँदा मालिकले एककिलो बराबर ६ रूपैयाँ दिने गरेका छन्,” ती बालिकाले भनिन्, “भोक लाग्छ, भात खानकै लागि आमासँगै सुपारी पारी पु-याउने गर्छु, एक पटकमा १५ किलोसम्म सुपारी लान सक्छु ।”

मटर पनि हुन्छ तस्करी
पछिल्लो समय काँकडभिट्टा नाकाबाट मटर पनि तस्करी हुन थालेको छ । नेपालमा उत्पादन नहुने भएका कारण मटरको वैधानिक निर्यात गर्न पाइँदैन । नेपालमा खासगरी दक्षिण अमेरिकी राष्ट्रबाट मटर आयात हुँदै आएको छ । कानुनी प्रावधानकै कारण यसको पोके तस्करी फस्टाएको हो । पछिल्लो पटक मटरले तस्करीमा सुपारीको स्थान लिएको संलग्न एक जना व्यवसायी बताउँछन् ।
स्थानीय मुना सन्थाल पछिल्लो समय सुपारीसँगै मटर पनि तस्करी हुन थालेको सुनाउँछिन् । तस्करीमा संलग्नलाई बेलाबखत भारतीय प्रहरीले भने खेदाउने गरेको सन्थालले बताइन् ।

प्रहरीकै संलग्नता
काँकडभिट्टा नाकाको मुख्य गेटबाटै तस्करले खुलेआम सुपारी भारततर्फ लाने गरेका छन् । गेट आसपास सुरक्षामा खटिएका प्रहरी यस विषयमा बुझ्दा अनविज्ञ बन्छन् । सामान्यतया बिल बिनाका कुनै पनि सामान जफत गरेर प्रहरीले भन्सारमा बुझाउन सक्छ । तर, नाकामा ड्युटीमा खटिएका प्रहरीले तस्करलाई भारत जाने बाटो देखाउने गरेको पाइएको छ । सञ्चारकर्मीले फोटो खिच्न थालेपछि त्यहाँ खटिएका प्रहरीले शरीरभरी सुपारी बाँधेर भारत जाँदै गरेका पोकेलाई फर्काउन थालेका थिए ।
प्रहरीसँग ‘सेटिङ’ मिलाएर तस्करी हुने गरेको स्थानीय बताउँछन् । प्रहरीसँगको सेटिङले सीमावर्ती क्षेत्रमा सुपारी तस्करको चलखेल र उपस्थिति बढेको स्रोत बताउँछ । भन्सारका एक अधिकारीका अनुसार सुपारी निकासी रोक्नका लागि पहल गरे जस्तो देखिए पनि ठूलो परिमाणमा निकासी गर्न दिन प्रहरीले सेटिङ मिलाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी गोविन्दकुमार कार्की भने सुपारी तस्करी नभएको बताउँछन् । “कहाँ तस्करी भएको छ ? यहाँ आएर निगरानी गर्न सक्नुहुन्छ, नाकामा सीसी क्यामेरा जोडेको छ,” डिएसपी कार्कीले भने, “तपाईंलाई म त्यसको फुटेज पनि देखाउन सक्छु ।” उनले अहिले सुपारी तस्करी हुनैै नसक्ने जिकिर गरे ।
यसअघिका डिएसपी महेश थापा इलाका प्रहरी कार्यालय काँकडभिट्टामा रहँदा मेचीखोला बगरबाट कम परिमाणमा तस्करी हुने सुपारी डिएसपी कार्की आएपछि खुलेआम तस्करी हुन थालेको हो । अहिले भन्सारको मुख्य गेटबाट सुपारी तस्करी भइरहे पनि प्रहरी नदेखेझैं गर्दै आएको छ । तस्करीमा संलग्नहरू खोलामा आएको बाढीका कारण गेटबाटै सुपारी कटाउने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्