थपिँदैछन् ८ हजार मिटरमाथिका हिमाल «

थपिँदैछन् ८ हजार मिटरमाथिका हिमाल

हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् र त्यसमध्ये आठवटा (६० प्रतिशत) नेपाल सरहदमा रहेका छन् । ती हुन्— विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा, जसको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । उता विश्वकै तेस्रो अग्लो हिमशिखर कञ्नजंघा पनि नेपालमै पर्छ, जसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । त्यस्तै ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से-चे हिमशिखर पनि नेपालमै छ, जुन विश्वको चौथो अग्लो हिमशिखर हो । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जसको उचाइ ८ हजार ४ सय ८६ मिटर छ । ८ हजार २ सय १ मिटर अग्लो चोओ यु पनि नेपालमै छ, जुन विश्वको छैटौं अग्लो हिमाल हो ।
त्यस्तै विश्वको सातौं र आठौं अग्ला हिमाल पनि नेपालमै छन् । ती हिमाल क्रमशः ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी र ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हुन् भने १० औं अग्लो हिमाल अन्नपूर्ण प्रथम पनि नेपालमै छ । विश्वका बाँकी ६ वटा ८ हजार मिटर अग्ला हिमालमध्ये ५ वटा पकिस्तानमा र एउटा चीनमा छ ।
हुन त पर्वतारोहण पर्यटनलाई नेपालको पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । यसको प्रमाण भनेको हरेक वर्षको पर्यटकीय सिजनमा नेपालको विभिन्न हिमाल आरोहणका लागि आउने विभिन्न देशका हिमाल आरोहीहरूले गर्ने गरेको खर्चको विवरण पनि एक हो । जस्तो कि आजभन्दा लगभग आठ वर्षअघि नेपाल पर्वतारोहण संघले सन् २०११ मा आफ्नो मुखपत्र ‘नेपाल पर्वत’मा प्रकाशित गरेको एक विवरणअनुसार (नेपाल सरकारले ३३ वटा स–साना हिमाललाई नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउने लगायतको जिम्मेवारी दिएको छ । ती ३३ वटा ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले मात्रै सन् २०११ को वर्षा सिजनमा ७२ लाख ९ हजार तीनसय ५६ अमेरिकी डलर खर्च गरेका थिए । उक्त सिजनमा ४ सय ४७ वटा पर्वतारोही टोलीले सलामी दस्तुरबापत मात्रै नेपाल पर्वतारोहण संघलाई १ लाख ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए, जुन रकम तत्कालीन बजार भाउअनुसार सटही गर्दा नेपाल पर्वतारोहण संघलाई एक करोड ३३ लाख १८ हजार २ सय नेपाली रुपैयाँ प्राप्त भएको थियो ।
यसरी हेर्दा सन् २०११ मा मात्रै ३३ वटा ट्रेकिङ पिकहरूबाट नेपालले ५१ करोड ९० लाख ७३ हजार छ सय ५० नेपाली रुपैयाँ आर्जन गरेको देखिन्छ ।
नेपाल भूगोल र जनसंख्याका आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको भए पनि नेपालमा हिमरेखा (५ हजार ५ सय मिटर) भन्दा माथिका १ हजार ७ सय १३ भन्दा बढी हिमाल छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग ४ सय १४ वटा ५ हजार ५० मिटरभन्दा अग्ला हिमालहरू पर्वतारोहणका लागि खुल्ला गरेको छ ।
नेपालको पर्वतारोहण पर्यटनमा अर्को महत्वपूर्ण घटना भनेको अब विश्वमा ८ हजार मिटरभन्दा माथिका ६ वटा नयाँ हिमाल थपिँदैछन् । यसरी थप हुने सबै हिमाल संयोगले नेपालकै परेका छन् ।
यसरी हेर्दा नयाँ थप भएर विश्वमा ८ हजार मिटरमाथिका हिमाल २० वटा हुँदैछ भने थपिएका सबै हिमाल नेपालमै पर्नु हामी नेपालीहरूका लागि गर्वकै कुरो हो । थपिएका हिमालहरू कञ्चनजंघा र ल्होत्चे हिमाल क्षेत्रमा रहेका छन् । यी नयाँ हिमालहरूको नाम र स्थान घोषण गर्न गत वर्ष नै स्विट्जरल्यान्डबाट प्राविधिक टोली आउने भनिए पनि प्राविधिक कारणले सो टोली हालसम्म पनि आउन सकेको छैन । आशा गरौं, सो प्रविधिक टोली नेपाल भ्रमण वर्षअघि नै नेपाल आएर नापजाँच गरी हिमालको नाम र उचाइ घोषणा गरेर जाऊन् !
यो काम छिटो गर्नका लागि नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, हान, नाट्टा, नारा, पाटालगायत नेपाली पर्यटन व्यवसायसँग सम्बन्धित सबैले घच–घच्याउनुपर्ने देखिन्छ— स्विट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय पर्वतारोहण संघको मुख्यालयलाई ।
—निनाम कुलुङ ‘मंगले’

 

 

 

 

[email protected]

प्रतिक्रिया दिनुहोस्