गाईघाट–फोक्सिनटार सडक सञ्चालन «

गाईघाट–फोक्सिनटार सडक सञ्चालन

उदयपुर-दुई साताअघिको बाढी र पहिरोबाट अवरुद्ध गाईघाट–दिक्तेल सडकको गाईघाट–फोक्सिनटार खण्ड आइतबारदेखि सञ्चालनमा आएको छ ।
गाईघाट–दिक्तेल सडक योजनाले यो खण्डको साउनेदेखि फोक्सिनटारसम्मको २३ किलोमिटर सडक खण्डको पहिरो सफा गर्नुका साथै कतिपय ठाउँमा नयाँ ट्रयाक निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो । बाढी र पहिरोले उदयपुर र खोटाङ दुवै खण्डका दर्जनौ स्थानमा १० करोड रुपैयाँभन्दा बढीको क्षति गरे पनि पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको सडक योजना प्रमुख पशुपति ज्ञावलीले बताए । “बाढी पहिरोले उदयपुर र खोटाङ दुवैतर्फ गरेर १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” फोक्सिनटारसम्मको सडक खुलाएर १० दिनपछि सदरमुकाम फर्किएका उनले भने, “कतिपय स्थानमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेर यातायात सुचारु गराएका छौं ।” खोटाङ खण्डको पहिरो सफा गरेर छिटोभन्दा छिटो यातायात सुचारु गराउनका लागि ठेकेदार कम्पनी लागिरहेको उनले बताए ।
खोटाङ खण्डको समेत सडकको अवस्था अनुगमन गरेर फर्केका योजना प्रमुख ज्ञावलीका अनुसार बाढी पहिरोले दर्जनौं स्थानको सडकमा क्षति पु¥याएको छ । उदयपुर खण्डको रानिवासदेखि अंधेरी र छाम्लिगंदेखि फोक्सिनटार खण्डमा पहिरोले कल्भर्ट, बाललगाएतका अन्य स्ट्रक्चरमा नराम्रो क्षति गरेको छ ।
उदयपुरको सिमाना फाेिक्सनटारदेखि राजापानीसम्मको खोटाङ खण्डको २६ किलोमिटर सडकको दर्जनौं स्थानमा पहिरोले क्षति गरेको निर्माण कम्पनी मैनाचुली÷खाम्पाचो÷जयनारायण पवन जेभिका प्रोजेक्ट म्यानेजर विजय चाम्लिङले वताए । “फोक्सिनटारदेखि रसुवा रिट्ठाबोटे र रमाइलो खण्डमा ज्यादा क्षति पुगेको छ,” उनले भने, “सानो भण्डारेको माथिबाट ठूलो पहिरो खसेका कारण भित्तातर्फको पर्खाल भत्किएको छ र ठूलो भण्डारे र रेग्मीटार खण्डमा पनि ज्यादै नोक्सान भएको छ ।” सबै क्षतिको विवरण संकलन गर्दा खोटाङतर्फ मात्रै ६ करोड बराबरको क्षति भएको चाम्लिङको भनाइ छ ।
सडकमा जति क्षति भए पनि नजिकिएका चाडपर्वमा सर्वसाधारणलाई आवतजावतका लागि अस्थायी रूपमै भए पनि सडक सञ्चालनमा ल्याउन पहिरो सफा गर्ने र नयाँ अस्थायी ट्रयाक निर्माण गर्ने काम भइरहेको म्यानेजर चाम्लिङले बताए । उदयपुरतर्फको रसुवाघाटदेखि दिक्तेलसम्मको ७८ किलोमिटर सडकमा पनि ट्रयाक्टर, बुलेरोलगायतका फोरह्विल गाडी शुक्रबारदेखि नै सञ्चालनमा आएको सार्वजनिक सवारी साधन सञ्चालन गर्नसक्ने गरी सडक सफा गर्ने काम भइरहेको उनको भनाइ छ ।
गाईघाट–दिक्तेल सडक योजना प्रमुख ज्ञावलीका अनुसार रौतामाई गाउँपालिका क्षेत्रमा पर्ने फोक्सिनटारदेखि रसुवाघाटसम्मको करिब ४ किलोमिटर सडक सफा गर्ने काम पनि आइतबारबाट सुरु भएको छ । यो सडक सफा भएपछि उदयपुर सदरमुकाम गाईघाटबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने रसुवाघाटसम्म सोझो सार्वजनिक यातायात सञ्चालन हुनेछ । गाउँपालिकाले ४ किलोमिटर सडक सफा नगर्दासम्म भने गाईघाटदेखि फोक्सिनटार ५४ किलोमिटर सडकमात्रै सञ्चालनमा आएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्