संसद्मा सरकार र नेकपाको आलोचना «

संसद्मा सरकार र नेकपाको आलोचना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले सरकारका साथै सत्तारुढ दल नेकपाको पनि आलोचना गरे ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सभामुख कृष्णबहादुर महरालाई कांग्रेसको प्रतिष्ठाका बारेमा धेरै चिन्ता नगर्न आग्रह गरेकी छिन् । मंगलबार बैठकको शून्य समयमा बोल्दै सचेतक भुसालले सभामुख महरालाई कांग्रेसको प्रतिष्ठामा भन्दा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यालयका लागि उपयोग गरिरहेको सार्वजनिक जग्गाका बारेमा चिन्ता लिन आग्रह गरिन् ।
उनले भनिन्, “म सम्माननीय सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिष्ठालाई धेरै चिन्ता नलिउँ । नेकपाले नियम मिचेर जुन सार्वजनिक जग्गालाई भोगाधिकार गरिराखेको छ, त्यसको प्रतिष्ठामाथि बढी चिन्ता गारैं र त्यसलाई बचाउने कोसिस गरौं ।”
सचेतक भुसालले अरुलाई ऐनकानुन लागे पनि सत्तारुढ नेकपालाई भने चैनको अवस्था रहेको टिप्पणी पनि गरिन् ।
नेपाली कांग्रेसकै सांसद डा. डिला संग्रौलाले विराटनगर जुट मिल कारखानामा भ्रष्टाचार भएको दाबी गरिन् । “नेपालको सबैभन्दा पुरानो ऐतिहासिक उद्योग विराटनगर जुट मिलमा भ्रष्टाचार भएको छ,” उनको दाबी थियो । सांसद संग्रौलाले जुट मिलको अध्यक्ष हुँदा नीलहरि काफ्लेले पार्टपुर्जादेखि पर्खाल भत्काएर इँटासमेत बिक्री गरेको आरोप लगाइन् । उनले अर्का अध्यक्ष वसन्त वनले जुट मिलको सेयर मूल्य घटाउनुका साथै स्थानीयलाई दिएको सेयर सरकारका नाममा रहेको भन्दै ढाँटेको दाबीसमेत गरिन् । सांसद संग्रौलाले वनले मिलका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी ल्याएको भन्दै मिलबाट उत्पादन भएको सुतली बेचेको रकम हिनामिना गरेको पनि दाबी गरिन् । उनले जुट मिलका कर्मचारीहरु तलबले नपाएको पनि संसदलाई जानकारी गराइन् ।
सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया अबिलम्ब पूरा गर्न सरकारसँग माग गरे ।
सांसद बडूले मेलमिलाप आयोग र छानबिन आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रिया तत्काल पूरा गर्न सरकारसँग माग गरेका हुन् । “सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीहरुको नियुक्तिमा अनपेक्षित रुपमा ढिलाइ किन भइरहेको छ ? अबिलम्ब नियुक्ति प्रक्रिया पूरा गर्नुप-यो,” उनले भने ।
सांसद बडूले द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएकासँगै विस्थापित भएकाहरुका परिवारलाई सरकारले पूर्व्निर्णयअनुसारको आर्थिक सहायता दिन रोकेको सुन्नमा आएको भन्दै पुनस्र्थापनाको कार्यलाई प्राथमिकता दिन पनि सरकारको ध्यानाकर्षण गराए
नेपाली कांग्रेसकै सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्र्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । अनुगमनका क्रममा आफू त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था पनि त्यस्तै रहेको भन्दै उचित पुनस्र्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको बताए ।
अर्को प्रतिपक्षी दल राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडितको उचित प्रबन्धका तत्काल कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएकोमा आक्रोश पोखे ।
सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरे । सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिने लाई पनि कारबाही गर्न माग गरेका हुन् ।
उनले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन ?’ भनी प्रश्न गरे । उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारबाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे ।
उनले भने, “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? कति जनामाथि कारबाही भयो । ती आफैं कहीँ बजारबाट किनेका नागरिकता होइन होला । प्रमाणपत्र दिने अधिकारीमाथि के के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रहित हुन्थ्यौं होला ।”

 

‘बाबुराम भट्टराई सत्तापक्ष कि प्रतिपक्षी ?’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराई सत्तारुढ हुन् कि प्रतिपक्षी भनेर प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भट्टराईलाई संसदमा बस्ने उचित स्थान देखाइदिन पनि माग गरे । संसद बैठक चलिरहेका बेला मंगलबार पूर्वप्रधानमन्त्री डा. भट्टराई प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद राजेन्द्र महतोको छेउमा बसेपछि सांसद खतिवडाले सभामुख कृष्णबहादुर महरासँग उचित स्थान देखाइदिन माग गरेका हुन् ।
“मैले सदनको नियमलाई ध्यानाकर्षण गराउन खोजेको हुँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यही नै सही हो या संसदले व्यवस्थापन ठिक नगरेको हो ? या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ?,” सभामुखसँग समय लिएर बोलेका सांसद खतिवडाले भने, “त्यसकारण म सभामुखज्यूलाई के अनुरोध गर्न चाहन्छु भने पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै ठाउँ देखाइदिन पनि अनुरोध गर्दछु ।”
उनले बेलिसकेलगत्तै बूठक सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले निर्वाचन आयोगबाट आधिकारिक पत्र प्राप्त नभएकाले भट्टराईका लागि बस्ने व्यवस्था गर्न नसकिएको बताइन् । “माननीयज्यू निर्वाचन आयोगबाट आधिकारिक रुपले पत्राचार नभएको कारणले गर्दा उहाँ पहिले जुन स्थानमा बस्नुभएको छ, अहिले त्यही स्थानमा हुनुहुन्छ । निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार भइसके पछाडि हामी उहाँलाई यथास्थानमा बस्ने व्यवस्था गर्नेछौं,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्