लालपूर्जा नहुँदा वित्तीय सेवाबाट वञ्चित «

लालपूर्जा नहुँदा वित्तीय सेवाबाट वञ्चित

धनगढी-कैलालीको मोह्न्याल गाउँपालिकाका केही वडामा जग्गाधनीहरु आफ्नो लालपुर्जा नहुँदा वित्तीय सेवा लिनबाट वञ्चित भएका छन् । २२ हजार जनसंख्या रहेको मोह्न्याल गाउँपालिकामा साविक सुगरखाल गाविसको वडा नं.१, ३, ६ र ७, पण्डौन गाविसको वडा नं. २, ४ र मोह्न्याल गाविसको वडा नं. ५ का बासिन्दा लालपूर्जाविहीन हुँदा वित्तीय सेवा लिनबाट बञ्चित रहेको मोह्न्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए ।
२०२१ सालमा पहिलो पटक कैलालीमा एकसरो नापी आउँदा साविक सुगरखाल गाविसका केही वडा सीमा विवादका कारण नक्सांकनबाट वञ्चित भएका थिए । त्यसपछि २०३६ सालतिरको नापीले जग्गाधनीलाई नापी पूर्जा दिए पनि जग्गाको नक्सा नदिँदा जग्गाधनीहरुले हालसम्म बिक्री वितरणलगायत वित्तीय कारोबारमा समेत समस्या झेल्नुपरेको छ । लालपुर्जा नहुँदा मोह्न्यालबासी खानेपानी, बिजुलीलगायत विकासका पूर्वाधारबाटसमेत वञ्चित भएका छन् ।
प्रदेश नं. ७ को राजधानी रहेको धनगीबाट ९० किलोमिटर नजिकै रहेको मोह्न्याल गाउँपालिकामा नापी कार्यालयको ध्यान पुग्न सकेको छैन् । भौगलिक विकटता, यातायातको असुविधा र सञ्चार सेवाको समस्याका कारण सुविधाभोगी कर्मचारीहरु आउन नमानेको मोह्न्याल गाउँपालिकाका वडा अध्यक्ष नवलसिंह रावलले बताए । “जग्गाको लागतकट्टा गर्न समेत गर्न गाह्रो भएको छ,” उनले भने, “रोजगारीका लागि विदेश गएका युवाले पठाएको रकम झिक्न समस्या झेल्नुपरेको छ ।” लालपुर्जा नहुँदा बैंकमा खाता खोल्नसमेत समस्या भएको उनले बताए ।
२०६६ सालमा साविक सुगरखाल गाविसका अगुवाले कैलालीका तत्कालीन प्रमुख नापी अधिकृत अमृतप्रसाद न्यौपानेलाई ध्यानाकर्षण तथा फाइल पेस गरेका थिए । उक्त फाइल अध्ययन गरेर नापी कार्यालय कैलालीले नापी विभागमा पठाएको प्रमुख नापी अधिकृत ज्ञानेन्द्र कुमार विष्टले बताए ।
त्यसैगरी नापी विभागले ०६७ सालमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा फाइल पेस गरेको बताइए पनि तर हालसम्म मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेस नगरेको खुल्न आएको छ । मन्त्रिपरिषद्को निर्णय नहुँदा नापनक्सा गर्न कठिनाइ भएको अधिकृत बिष्टले जानकारी दिए । “यसरी ७ वर्ष पुराना फाइलमाथि मन्त्रालयले नजर नलगाउँदा समस्या हुन गएको छ,” उनले भने, “दबाव समूहले मन्त्रिपरिषद्मा गएर फाइलमाथि ध्यानाकर्षण गराएर राजपत्रमा प्रकाशित गरि पठाए नापी कार्यालय धनगढी नापी गर्न तयार छ ।” उनका अनुसार २०२१ सालमा कैलालीमा एकसरो नापी आउँदा साविक मोह्न्याल गाविस केही वडा डोटी जिल्लामा पर्दा र डोटीमा एकसरो नापी आउँदा सोही वडा कैलालीमा पर्दा सीमा विवादका कारण उक्त समस्या हुन गएको हो ।

हिमेश विक

प्रतिक्रिया दिनुहोस्