पार्कलाई ६४ अर्ब लगानी स्वीकृत «

पार्कलाई ६४ अर्ब लगानी स्वीकृत

नेपाल–चाइना फ्रेन्डसीप इन्डस्ट्रियल

झापा-लगानी बोर्डले झापामा औद्योगिकपार्क निर्माणमा स्वीकृति दिएको छ । लगानी बोर्डले स्वीकृति दिएसँगै झापा क्षेत्र नम्बर–५ का कमल गाउँपालिकाका, गौरादह र दमक नगरपालिकाको संयुक्त जग्गामा चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियलपार्क निर्माण हुने भएको हो । बैठकले पार्क निर्माण गर्नका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको हो ।
चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ–पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेडलाई पार्क निर्माणका लागि लगानी गर्न स्वीकृति दिएको लगानी बोर्डले जनाएको छ । पहिलो चरणको काम असोजदेखि थालिने बताइएको छ भने पार्क एक किलोमिटर चौडाइ र लम्बाइ नौ किलोमिटर भएको क्षेत्रमा बन्ने छ ।
सन् २०१७ मा चीनबाट आएको टोलीले पार्क निर्माण गर्ने विषयमा सो क्षेत्रको अवलोकन गरेको थियो । पार्क निर्माणको चर्चा सुरु भएको तीन वर्ष पछि लगानी बोर्डको बैठकले विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न दिने निर्णय गरेको हो । पार्क निर्माणको जिम्मा दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई दिइएको छ ।
औद्योगिक पार्क निर्माणका लागि करिब २१ सय विगाह जमिन आवश्यक पर्ने बताइएको छ । अहिले ९४२ विगाह जग्गा अधिग्रहण भइसकेको छ । रतुवा खोलाले काटेको जमिनलाई स्थानीयवासीले भोग चलन गर्दै आएका छन् । सो क्षेत्रमा थप जग्गाको व्यवस्था गर्ने काम भइरहेको छ । अब भने कामले गति लिने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । “पहिलो चरणमा ६४ अर्ब रुपैयाँ छुटिएको छ” काफुलेले भनिन्, “पहिलो चरणमा सात सय विगाह जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृति दिएको छ काम सुरु हुने विषयमा हामी विस्वस्त छौँ ।”
बहुराष्ट्रिय कम्पनी स्थापना हुने
पार्क निर्माणपश्चात् चीनमा स्थापित बहुराष्ट्रिय कम्पनी सो क्षेत्रमा स्थापना हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत बताउँछन् । मोबाइल फोन, सवारीसाधन, विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी स्थापना हुने बस्नेतले बताए । आफ्नो उत्पादनलाई विश्व बजारका सबै क्षेत्रमा सामान पु¥याउनका लागि यो औद्योगिक पार्कले सहयोग गर्ने बस्नेतको भनाइ छ । “पार्क निर्माणमा नेपालको लगानी भनेको उपलब्ध गराइएको जमिन हो,” बस्नेतले भने, “पार्क निर्माणको अवधि १० वर्ष रहनेछ ।” ४० वर्षसम्म चिनियाँले नै पार्क सञ्चालन गर्ने र त्यसपछि मात्र नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ ।
मुआब्जा समस्या
बीचमा पर्ने रतुवा खोलाको संरक्षण गर्दै पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । पार्क निर्माण क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई मुआब्जा उपलब्ध गराएर अन्यत्र सार्ने प्रक्रिया सुरु भएको छ । पानी बगेको, काँसबारी र खेतीयोग्य जमिन गरेर तीन चरणमा जग्गाको विभाजन गरिएको छ । पार्क बन्ने भएपछि घरबार छोड्नु पर्ने विषयले भने स्थानीय चिन्तित् छन् । गौरादह नगरपालिकाका मात्र ६० घर परीवारले घर, खेत छोड्नु पर्ने गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए । पार्क व्यवस्थापन समिति निर्माण भए पनि नगरपालिकासँग सहकार्य गर्न भने नआएको प्रमुख साह बताउँछन् ।
दमक नगरपालिका –१० की केवाइ माया द्यिमाल पार्क बन्नेमा खुसीभन्दा पनि घर छोड्नु पर्नेमा चिन्तित छिन् । “पहिले बस्तीलाई जोगाएर पार्क बनाउने भनिएको थियो, अहिले हाम्रो घर नै जाने भन्दै छन्, हामीलाई कसरी मुआब्जा उपलब्ध गराउने भन्ने कुरा हामीलाई भनिएको छैन ।” ऋण गरेर घर बनाइएकाले उचित मुआब्जा उपलब्ध गराउनुपर्ने माग स्थानीयको छ ।
पार्क समयमा नै निर्माण हुने विषयमा भने स्थानीय जनप्रतिनिधि विश्वस्त छैनन् । दमक नगरपालिकाका एक जनप्रतिनिधिले भने, “वातवरणीय अवस्थाको अध्ययन नगरी लगानी स्वीकृत गरिएको छ, उद्योग स्थापनाको सुरुवाती चरणका न्यूनतम मापदण्ड पूरा गर्ने विषयमा पनि गम्भीर बन्न आवश्यक छ ।” नेपाली ठेकेदारलाई काम दिँदा भने समयमा नै निर्माण हुन नसक्ने सरोकारवालाको भनाई छ । समयमा पार्क निर्माण हुने विषयमा अहिले नै केही भन्न नसक्ने अध्यक्ष काफ्लेले बताइन् । चिनियाँ कम्पनीले नै बनाउने जिम्मा लिए पार्क समयमा नै निर्माण हुने जनप्रतिनिधि बताउँछन् ।
पार्क निर्माण हुने विषय चर्चामा आएसँगै रोजगारी पाउने आशा स्थानीयमा छ । स्थानीय स्तरमा पार्क निर्माण गरेपछि स्थानीयलाई नै रोजगारी उपलब्ध गराउनुपर्ने स्थानीय पदमकुमारी विक बताउँछिन् । रोजगारीकै शिलशिलामा छोरा नातीले विदेश जानु नपर्ने अवस्था सिर्जना हुनुपर्ने विकले बताइन् । पार्क निर्माणको अवधि र निर्माण पश्चात सयौंले रोजगारी पाउने जनप्रतिनिधिको विश्वास छ । झापालीलाई मात्र नभई देशभरका युवालाई रोजगारीको अवसर सिर्जना हुने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । उत्पादनलाई विश्व बजारमा पु-याउने उद्योग व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्