कहाँ हरायो नयाँ हिमाल थपिने कुरा ? «

कहाँ हरायो नयाँ हिमाल थपिने कुरा ?

नेपाल सरकारले केही नयाँ हिमाललाई पर्वतारोहीका लागि आरोहण गर्न खुला गर्ने तयारी गर्दै छ भनी पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफू मन्त्रीबाट हट्नुभन्दा केही दिनअघि बताउनुभएको थियो । सो कुरो उहाँले त्यो बेला भएको नेपाल पर्वतारोहण संघ (एनएमए) को ३२ औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको थियो । उहाँले नेपालमा हालसम्म नचढिएका नयाँ हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुलाइनेछ भनी सार्वजनिक रूपमा भन्नुभएको थियो । तर, नयाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराती तालुकवाला मन्त्री भएको लगभग सात महिना पुग्नै लाग्दा पनि नेपालमा हालसम्म नचढिएका केही नयाँ हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न खुला गर्ने कुरोबारे के हुँदै छ ? भन्ने सम्बन्धमा थप कुरो बाहिर आएको छैन ।

जे भए तापनि अब खुलाइने केही नयाँ हिमाल ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका रहनेछन् भन्ने जानकारी सो बेला गराइएको थियो । त्यसो त नेपालका हिमाल खुला गर्ने सम्बन्धमा भन्नुपर्दा धेरै अघिदेखि ८ हजार मिटरभन्दा माथिका अरू पाँचवटा हिमाल खुला गर्ने र सार्वजनिक रूपमा ८ हजार मिटर माथिका हिमाल भनी घोषणा गर्ने र त्यसलाई विश्व पर्वतारोहण संघले पनि मान्यता दिने भन्ने कुरो चल्दै आएको छ । यसरी हेर्दा विगत ६/७ वर्षदेखि नेपालमा रहेका तर हालसम्म सार्वजनिक रुपमा घोषणा नगरिएका एवम् विश्व पर्वतारोहण संघले पनि मान्यता नदिएका ८ हजार मिटरभन्दा माथिका अरू पाँचवटा हिमाल थपिएमा नेपालमा मात्रै ८ हजार मिटरभन्दा माथिको हिमाल १३ वटा हुनेछन् । यसरी विश्व पर्वतारोहण क्षेत्रमा अब १९ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल हुनेछन् । थपिने ती हिमालले कहिलेसम्ममा औपचारिक रूपमा मान्यता पाउलान् ? केही टुंगो छैन । जे भए पनि अब थपिने ती ८ हजार मिटरभन्दा माथिका नयाँ पाँचवटै हिमाल नेपाल सरहदभित्र रहेका छन् ।

त्यसो त हाम्रो देशमा हिमरेखा (५ हजार ५ सय मिटर) भन्दा माथिका हिमाल १७ सयभन्दा बढी छन्, तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुला गरेको छ । अथवा भनौं, ती हिमाललाई कानुनी रूपमा मान्यता दिएर कुनै पनि देशका पर्वतारोहीबाट निश्चित रकमबराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ ।

नेपाल सरकारले हालसम्म ४ सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए पनि विश्वकै अग्लो हिमचुचुरो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धौलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथमजस्ता अग्ला हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण रहेको देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्योभन्दा कम उचाइ भए पनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी, सीता चुचुरा, अरनिको चुली, धाम्पुस (थापा) पिक, नीलगिरि, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, मेरा पिक, अन्नपूर्ण चौथो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरैजसो विदेशी पर्वतारोही नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा ससाना हिमाल ‘टे«किङ पिक’ भनी सरकारले अलग्गै खुला गरेको छ ।

हुन त हिमाल किन चढिन्छ ? वा विदेशीहरू किन करोडौं खर्च गरेर हिमाल चढ्न आउँछन् ? किन लाखौं खर्च गरेर हिमालयमा क्षेत्रमा घुम्न आउँछन् ? भन्ने सम्बन्धमा डा. हर्क गुरुङले लेखेका छन्— पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो ।

पर्वत संसारको सबभन्दा गोप्य अङ्ग हो । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र … ।

हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा हजारौं गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । अझ नेपालीहरू पेसेवर रूपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोहीहरूले नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा बर्सेनि लाखौं अमेरिकी डलर नेपालका हिमाल चढेबापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी पनि तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट लगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरूका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैंमा दिएको अमूल्य उपहार पनि हो ।

गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरूलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको जमानामा त एक पर्वतारोहीले सगरमाथा चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । अन्य खर्च त कति हो कति ! हुन पनि हिमाल आरोहणको कुरो गर्दा यो वर्ष (गत अप्रिल–मे सिजनमा) मात्रै २ सय ४० जना विदेशी पर्वतारोही र नेपाली सरदार, गाइड र क्लाइम्बिङ शेर्पा गरेर ६ सय ५८ जना पर्वतारोहीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै सगरमाथा आरोहण गरेबापत मात्रै नेपाललगायत विभिन्न ५३ देशका पर्वतारोही टोलीले सलामी दस्तुरबापत ४० करोड ८७ लाख नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा तिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्