पहिरोले सत्यवती गाउँपालिकामा सत्यानाश «

पहिरोले सत्यवती गाउँपालिकामा सत्यानाश

१२ सय विस्थापित, करोडौंको क्षति

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं. ३ ठूलोलुम्पेक र वडा नं. ४ लिम्घाबासीले वर्षासँगै पहिरोले गाउँनै क्षतविक्षत बनाउला भनेर कहिल्लै सोचेका थिएनन् । साउन ६ गते साँझदेखि परेको वर्षाले केही घण्टामै ठूलोलुम्पेक र लिम्घालाई क्षतविक्षत बनायो । १३ जनाको जीवन खोस्यो । १२ सयभन्दा बढी मानिसको बास खोस्दै विस्थापित बनायो । करोडौंको क्षति भयो । पहिरोले गाउँ घेरेको छ । वर्षा हुन आकाशले संकेत देखाउने बित्तिकै विद्यालय तथा अस्थायी शिविरमा बसेका विस्थापितहरूको आङ सिरिङ हुने गरेको छ ।

विस्थापितलाई व्यवस्थापनमा चुनौती
पहिरोले लिम्घामा धेरै मानवीय क्षति भयो । तर भौतिक क्षति भने ठूलोलुम्पेकमा बढी भएकोे छ । पुरै गाउँ क्षतविक्षत भएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ, घर गए बाँचेर फर्किने सम्भावना छैन । कति दिन विद्यालय कब्जा गर्ने,” सबैभन्दा बढी पहिरो प्रभावित सिङ्दी गाउँका प्रकाश विकले भने, “राज्यले बस्ने ठाउँ दिनुप¥यो ।” उनले छिटोभन्दा छिटो आफूहरू बस्ने स्थानको टुंगो लगाइदिन आग्रह गरे । गाउँघर पनि जान नदिने र सही व्यवस्थापन पनि नगर्दा थुप्रै परिवारको बिचल्ली भएको उनले बताए । उनले घर, सम्पत्ति, दुहुना भैंसी र बाख्रा बेवारिसे छोडेर आएका स्थानीयलाई सही समयमा सुरक्षित बनाउन नसके जोखिम मोलेरै घर फर्कने स्थिति रहेको बताए ।
सत्यवती गाँउपालिकाका अध्यक्ष पारीश्वर ढकालले हालसम्म पीडितका लागि खाद्यान्न, बासका लागि अस्थायी शिविरको व्यवस्थापन मात्र गर्न सकेको भन्दै विद्यालयहरूमा बसेकाका लागि अस्थायी रूपमै भए पनि व्यवस्थापन गर्नु मुख्य चुनौती रहेको बताए । “अरु विपदले त कमसेकम जमिनसम्म बाँकी राख्छ, यो पहिरोले गास, बास, कपास सबै लग्यो, त्यतिमात्र नभएर माटोसमेत लग्यो,” ढकालले भने, “अब यी परिवारलाई कहाँ राख्ने भन्ने मुख्य चुनौती देखिएको छ, निद्रा हराएको छ ।”
हालसम्म त बर्खे बिदा परेको कारण विद्यालयमा बिदा भएकाले विस्थापितलाई राखेको भए पनि अब चाँडै नै विद्यालय खोल्नुपर्ने भएको कारण समस्या भइरहेको वडाअध्यक्ष रुकबहादुर मगरले बताए । “प्रभावित चार सय परिवारमध्ये करिब २ सय परिवारलाई त नयाँ ठाउँमै राख्नुपर्ने भएको छ, त्यसैले अस्थायी शिविर थप्दै छौं,” मगरले भने, “केही समयलाई अस्थायी रूपमा राखे पनि फेरि स्थायी रूपमै व्यवस्थापन गर्न अझै चुनौती छ ।” उनले तीनै तहका सरकार, स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर दिगो रूपमा व्यवस्थापनतर्फ ध्यान दिने बताए ।

गर्भवतीदेखि वृद्धवृद्धा बढी प्रभावित
यममाया गाहा सात महिनाकी सुत्केरी हुन् । हाल शिविरमा बसेकी छन् । पहिरोले घरगोठ घे¥यो । फेरि ठूलो पानी परे त्यो पनि रहँदैन । बच्चा कोखिलामा च्यापेर यममायाले त्यसैदिन परिवारसँगै घर छोडिन् । आठ जनाको परिवार धर्मपुर माविमा बस्दै आएको छ । “सुत्केरी भनेर अर्को विकल्प छैन दैनिक दालभातनै खाएका छौ बरु कहिलेकाहीँ पुग्दैन,” विकले गुनासो गरिन्, “चिसो भूइँमा एकसरो कपडा ओढेर बच्चासँग रात काटेकी छु ।” उनीसँगै ११ महिनाकी बच्चाकी आमा सुष्मा सुनार पनि शिविरमै छन् । उनले सानो बाबुसँगै शिविरमा खानपान गर्न र सुत्न निकै मुस्किल परेको गुनासो गरिन् । पहिरोले घर जोखिममा परेपछि शिविर आएका ९० वर्षीय धनसिंह विकलाई दिन कटाउन मुस्किल परेको छ । विकले धर्मपुर माविको बेन्चमै बसेर पछिल्ला दिन कटाएका छन् । “मर्ने बेलामा दैव लाग्यो घरमा बस्न दिँदैनन्, स्कुलमा के खाएर कसरी बच्ने ?” धनसिंहले भने, “घरको न घाटको भएर मर्ने भएँ ।”

विज्ञ टोेलीले अध्ययन गर्दै
गाउँपालिकाको ठूलोलुम्पेकमा मात्रै ५ सयभन्दा बढी पहिरो गएका छन् । ५ वटा पहिरो त २ किलोमिटरसम्मका छन् । गाउँपालिका अध्यक्ष ढकालले २०१८ सालपछि यति ठूलो विपत्ति स्थानीयले नदेखेको बताए । स्थानीयहरू यसरी धेरै स्थानमा पहिरो गएकोप्रति अचम्मित भएको उनले बताए । यसखाले पहिरो जानुमा २०७२ सालको भूकम्प पनि कारक हुन सक्ने आफूहरूले अनुमान गरेको उनको भनाइ छ । पहिरो अध्ययन गर्नका लागि काठमाडौंबाट भूगर्भविद्को टोली सत्यवती आएको छ । केही दिनमा टोलीले प्रतिवेदन दिने भएको छ ।

विपद् व्यवस्थापन कोषमा ६० लाख संकलन
पहिरोपीडितका लागि राहत संकलन जारी छ । देश तथा विदेशमा नगद तथा खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री संकलन भइरहेको छ । विभिन्न संघसंस्था तथा व्यक्तिले घटनास्थलमै पुगेर अथवा गाउँपालिकाले राखेको विपद् व्यवस्थापन कोषमा नगद जम्मा गरिदिएका छन् । हालसम्म करिब ६० लाख रुपैयाँ संकलन भएको गाँउपालिका अध्यक्ष ढकालले बताए । उनका अनुसार गाउँपालिकाले विपद् व्यवस्थापनको खाता सञ्चालनमा ल्याएको छ । सो खातामा विभिन्न क्षेत्रबाट रकम आउने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्