बजेट अभावले भेरी अस्पतालको सेवा प्रभावित «

बजेट अभावले भेरी अस्पतालको सेवा प्रभावित

बाँके-पश्चिम तराईको एकमात्र विकल्पको रुपमा रहेको भेरी अस्पतालमा मुटुरोगीका लागि सञ्चालित क्याथल्याव सेवा सञ्चालनमा समस्या हुने देखिएको छ । मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण खरिदका लागि बजेट विनियोजन नहँुदा साढे ६ करोडको लागतमा सञ्चालनमा आएको क्याथ ल्याब सेवा प्रवाहमा समस्या देखिएको हो ।
अर्कोतर्फ अस्पतालमा कार्यरत मुटुरोग विशषज्ञको कर्मचारी समायोजनका क्रममा विर अस्पतालमा सरुवा भएपछि क्याथ ल्याब चिकित्सकविहिन हुने भएको छ । अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ । त्यहाँ कार्यरत मुटुरोग विशेषज्ञ डा.कृष्ण अधिकारीको ११ औं तहमा बढुवा भएर वीर अस्पताल काठमाडौंमा पदस्थापन भइसकेको अस्पतालका प्रमुख डा. रूपानन्द अधिकारीले बताए । पदस्थापन भएपनि वीर हस्पिटलमा गएपनि काजमा भेरीमै पठाउनका लागि अस्पतालका तर्फबाट मन्त्रालयलाई पत्राचार गरेको  बताउँदै मन्त्रालयले कुनै विकल्प नदिए सेवा प्रभावित हुने उनको भनाइ छ ।
भेरी अस्पताल नेपालगञ्जका अनुसार क्याथ ल्याब स्थापना गर्ने क्रममा स्वास्थ्य मन्त्रालय, गंगालाल हृदयरोग अस्पताल र भेरी अस्पतालबीच कार्यरत कार्डियोलोजिस्टलाई पाँच वर्षसम्म कहीँकतै सरुवा नगर्ने र सरुवा भएको खण्डमा भेरी अस्पतालमै काजमा खटाउने त्रिपक्षीय सम्झौता भएको थियो । तर, हाल प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिस्टको वीर अस्पतालमा पदस्थापन भएपछि सेवा प्रभावित हुने भएको हो । सरकारले काज फिर्ता अथवा अन्य मुटुरोग विशेषज्ञ नपठाए भेरीमा सञ्चालित क्याथ ल्याब सेवा संचालन हुने विकल्प नरहेको प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारीले बताए । आफू वीर अस्पतालमा हाजिर भएर काजमा यतै आउने सम्भावना रहेको उनको भनाइ छ ।क्याथ ल्याबमा नवौँ तहका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिस्ट एकजनाको मात्रै दरबन्दी छ ।
बाँकी चार मेडिकल अफिसर, ९ स्टाफ नर्स र चारजना कार्यालय सहयोगी करारमा नियुक्त भएका थिए । यसवर्ष बजेट नआएपछि अस्पतालले करारमा कार्यरत कर्मचारीहरुलाई साउन महिनादेखि तलब भत्ता दिन नसक्ने जनाएको छ । क्याथल्याब विभागका एमडी रजिष्टार डा. बिपिन आचार्यले सरकारले बजेट विनियोजन गरी सेवा सुचारु गर्नुपर्ने बताए । मुटु सम्वन्धी क्याथल्याब सेवा बन्द हुने अवस्था आएपछि भेरी अस्पतालमा उपचारका लागि आउने विरामीहरु चिन्तित बनेका छन् । 
अस्पतालमा क्याथल्याव सेवा शुरु भएदेखि हालसम्म १ सय ८० जनाले सेवा लिइसकेका छन् । दैनिक ३० देखि ४० जना मुटुसम्बन्धी रोगका बिरामीहरु आउने गरेको यस अस्पतालमा ब्लड प्रेसरका बिरामीहरु अत्यधिक हुने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्