जहाज निर्माण क्षेत्रको परीक्षा कात्तिकमा
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ)का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन,” उनले कारोबारसँग भने, “यसैगरी उत्पादनमूलक क्षेत्रमा पनि हाल ८ हजार युवा रोष्टरमा रहेका कारण आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिने छ । तर, भनेजस्तो माग नभए यो मितिमा समेत परीक्षा हुनेछैन ।”
पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ । कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन् । कोरियाले कार्यस्थल परिवर्तन गर्ने नियमलाई कडाइ गर्न रोजगारदाताको मागअनुसार कानुनमा समेत परिमार्जन गर्ने तयारी सुरु गरेको कोरियामा रहेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रमा हाल मासिक २ हजारको हाराहारीमा श्रमिक माग गर्दै आएको छ ।
कोरियाले सोहीअनुसारको माग निरन्तर गरेमात्र पुस र माघमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुने देखिएको छ । कोरियाले ३/३ महिनामा विदेशी श्रमिकको माग कोटा निर्धारण गर्ने भएकाले हरेक ३ महिनामा ३ हजारदेखि ३५ सय नेपाली युवाको माग भएमात्र उत्पादनमूलक क्षेत्रको परीक्षा आगामी ६ महिनाभित्र हुनेछ । ईपीएस शाखाले कृषि क्षेत्रको छनोट भाषा परीक्षा भने सन् २०२४ मा नगर्ने जनाएको छ । पछिल्लो समय रोष्टरमा रहेका युवाको समेत माग नआएपछि शाखाले रोष्टरमा रहेका ८० प्रतिशत युवा कोरिया प्रवेश नगरेसम्म अर्को भाषा परीक्षा नगर्ने नीति लिएको छ ।
कृषि तथा पशुपालनमा ८ हजार उत्तीर्ण
कृषि तथा पशुपालन क्षेत्रतर्फ दोश्रो चरणको कोरियन भाषा परीक्षा अर्थात् ईपीएस टपिक परीक्षा पास भएका मध्ये सीप परिक्षणमा ८ हजार १९८ युवा पास भएका छन् ।
शुक्रबार नतिजा प्रकाशन गर्दै ईपीएस शाखाले मानव संशाधन बोर्ड कोरियाबाट गत फागुन २३ देखि वैशाख १३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको दोश्रो चरणको कोरियन भाषा परीक्षामा जम्मा २६ हजार ८७६ जना परीक्षार्थी रहेकोमा परीक्षामा समावेश भएका २४ हजार ३२६ मध्ये सीप परीक्षणबाट ८ हजार १९८ जना उम्मेदवार उत्तीर्ण भएको जनाएको छ । उत्तीर्ण हुनेको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फाराम भर्ने काम केही दिनमा सम्पन्न गरी रोष्टर तयार गरिने भएको छ ।
सीप परीक्षणमा पास भए पनि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्नका लागि आवेदन दिन सकिने शाखाले जनाएको छ । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगार प्रक्रियामा समावेश हुनको लागि रोष्टरमा सूचीकृत हुनुमात्र रहेको जनाउँदै शाखाले दक्षिण कोरियामा रोजगारीको ग्यारेण्टी हुन्छ भन्ने नभएको स्पष्ट पारेको छ । रोष्टरमा नाम समावेश भए पनि आफ्नो पेशा एवं व्यवसायलाई समेत निरन्तरता दिन शाखाले अनुरोध गरेको छ ।