दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व «

दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व

दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ । छ वर्षअघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समय स्वामित्व परिवर्तनसँगै आन्तरिक समस्यामा परेपछि सरकारी स्वामित्वको कम्पनी टेलिकमको ग्राहक संख्या भने उत्साहजनक रुपमा बढेको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फ मात्रै हो । टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख पुगिसकेको छ । जसमध्ये मोबाइलतर्फ सेवाग्राही नै ४ करोड ३ लाख पुगेका छन् । एकातर्फ एकभन्दा धेरै सिमकार्ड लिनेको सख्या बढ्दै जानु र अर्काेतर्फ सेवा प्रदायक कम्पनीहरुले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नुले ग्राहक संख्या बढेका हुन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३९.२९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ ।
एमआईएस रिपोर्टअनुसारसाधारण टेलिफोन (ल्याण्डलाइन) प्रयोगकर्ता ७ लाख ९७ हजार छन् । कुल दूरसञ्चार पहुँचमा यो २.७० प्रतिशत हो । मोबाइल सेवाको पहुँच बढ्दै जाँदा ल्याण्डलाइनतर्फको वृद्धि भने सुस्त छ । “विश्वव्यापी रुपमा दूरसञ्चार क्षेत्रमा भएको व्यापक विकास र विस्तारसंगै नेपालमा पनि दूरसञ्चार क्षेत्र छोटो समयमा छिटो र धेरै जनतासम्म पहुँच पुग्न सफल भएको क्षेत्र हो,” प्राधिरकणका प्रवक्ता अर्यालले भने, “अहिलेसम्म ग्राहकले सिमकार्ड कतिवटासम्म लिन पाउने भन्ने स्पष्ट व्यवस्था छैन, यस विषयमा मापदण्ड बनाउने काम हुँदैछ ।”
रिपोर्टअनुसार नेपाल टेलिकम २ करोड २४ लाख, एनसेल १ करोड ६५ लाख, स्मार्ट टेलिकमका २० लाख छन् । एमआईएस रिपोर्टअनुसार टेलिकमको भ्वाइस सेवामा ५५ र एनसेलको ४० प्रतिशत बजार हिस्सा छ बाँकी ५ प्रतिशत स्मार्टको रहेको प्रतिवदेनमा उल्लेख छ ।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआईएसअनुसार १ करोड ९० लाख अर्थात कुल जनसंख्याको ६४.४६ प्रतिशतमा ब्रोडव्याण्ड सेवा पुगेको छ । फोरजी, थ्रीजी, ईभिडियो, वाइम्याक्स, लगायतमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडब्याण्ड इन्टरनेट सुविधा पु¥याउने तयारी गरेको छ । सूचना सञ्चार प्रविधि (आईसीटी) मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोवाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडव्याड इन्टरनेट पहुँचमा ध्यान दिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्