चिनियाँ अनुदानको खानेतेल बिक्री भएन «

चिनियाँ अनुदानको खानेतेल बिक्री भएन

नेपाललाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको तोरीको तेल बिक्री नहुँदा गोदाममै थन्किएको छ । अनुदानको तेल न्यून गुणस्तरको पाइएपछि नेपाल खाद्य संस्थानले साबुन उद्योगलाई बिक्री गर्न पटक–पटक टेन्डर आह्वान गरेको थियो । तीन पटकसम्म टेन्डर आह्वान गरेर मूल्य घटाए पनि बिक्री नभएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । खान अयोग्य तेल साबुन बनाउन र बत्ती बाल्न प्रयोग हुन्छ ।
“खान अयोग्य देखिएपछि साबुन बनाउन बिक्री खुला गरेका थियौं,” उनले भने, “दुई पटकसम्म मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन ।” संस्थानले पहिलो पटक प्रतिलिटर ९० रुपैयाँ र दोस्रो पटक प्रतिलिटर ८० रुपैयाँ मूल्य कायम गरेको थियो । मूल्य घटाउँदा पनि बिक्री नहुँदा फेरि मूल्य घटाएर टेन्डर आह्वान गर्न लागिएको खनालले बताए । लामो समयसम्म बिक्री नभएपछि सञ्चालक समितिमा छलफल गरेर पुनः मूल्य घटाउन लागिएको उनको भनाइ छ ।
चीनले ०७२ साल पुस १ गते १० लाख आरएमबी मूल्य बराबरको १० हजार ६ सय लिटर खानेतेल अनुदानमा उपलब्ध गराएको थियो । सो तेल परीक्षण गर्दा न्यून गुणस्तरको भएको पाइएको थियो । खानेतेलमा मानव स्वास्थ्यलाई हानी गर्ने गरी एसिडको उच्च मात्रामा भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणबाट सो तेल स्वास्थ्यका लागि हानीकारक भएको पुष्टि भएको थियो ।
लामो समयसम्म असुरक्षित रूपमा राखिएको अत्यन्त पुरानो खानेतेलमा एसिडको मात्रा (भ्यालु) उच्च भेटिन्छ । विभागका अनुसार प्रशोधित खानेतेलमा एसिडको मात्रा ०.५ मात्रै हुनुपर्छ । तर, चीन सरकारले खाद्य संस्थानलाई अनुदानमा उपलब्ध गराएको खाने तेलमा खाद्य ऐनको मापदण्ड विपरित एसिडको भ्यालु १.३ देखि १.४ पाइएको थियो । स्वदेशी तेलमा एसिडको मात्र उच्च भए पनि उपभोग गर्न कुनै असर नपर्ने भए पनि आयातित तेल खान अयोग्य मानिन्छ । संस्थानको नख्खु र थापाथली गोदाममा १० हजार ६ सय लिटर तेल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्