पोखरामा २५ होटल थपिए «

पोखरामा २५ होटल थपिए

४ सय ३५ वटा होटल पर्यटन कार्यालयमा दर्ता

पोखरा-पर्यटकीय नगरी पोखरा क्षेत्रमा लक्षित गरी आर्थिक वर्ष २०७५-७६ मा २९ वटा पर्यटकीय स्तरीय होटल तथा लजहरू थपिएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष भन्दा १० प्रतिशत कम होटल थपिएको गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन कार्यालय पोखराले जनाएको छ ।
आर्थिक वर्ष २०७४-७५ मा ३२ वटा होटल थपिएकोमा यस वर्ष भने गत वर्षभन्दा ३ वटा कम होटल थपिएको पर्यटन कार्यालय पोखराका अधिकृत सालिकराम रेग्मीले बताए । उक्त होटलमा करिब ४ सय ३५ वटा रुम थपिएको जसमा ७ सय ७१ वटा शैय्या रहेको उनले जनाए । उक्त होटलको संख्या थपिएसँगै कार्यालयमा हालसम्म पर्यटक स्तरीय ४ सय ३५ वटा होटल रहेको पर्यटन कार्यालयको तथ्यांकमा उल्लेख छ । पोखरा क्षेत्रमा पर्यटकीय स्तरीय होटलमा करोडौं लगानी भए पनि सरकारी झनझटीलो प्रक्रिया हुने भएकोे गर्दा अधिकांश व्यवसायीहरूले न्यून लगानी देखाउने गरेको पाइन्छ । कार्यालयको तथ्यांक हेर्दा न्यूनतम १५ लाख देखि ५ करोडसम्म लगानी देखाएका छन् ।
आर्थिक वर्ष २०७४-७५ मा पोखरा क्षेत्रमा करिब ५ लाखदेखि ३ करोड मूल्यबराबरका ३२ वटा होटल थपिएका थिए । पोखरा क्षेत्रमा हालसम्म यद्यपि व्यवसायीहरूले पर्यटन कार्यालयमा देखाउने लगानी तथा होटल एवं लजको संरचना करिब दोब्बरदेखि चार गुणाभन्दा बढी हुने गरेको पाइन्छ । यसै वर्षदेखि पर्यटन कार्यालय प्रदेशमा माताहातमा रहेकाले आफूहरूसँग कर्मचारी अभाव र बजेटको अभावले गर्दा बजार अनुगमन गर्न नपाएको अधिकृत रेग्मीले जनाए ।
उनले भने, “हाम्रो दरबन्दी करिब १२ जनाको हो तर हाल यहाँ ४ जना कर्मचारी मात्र छौं, हामीसँग बजेट अभावले गर्दा बजार अनुगमन गर्न नसक्दा पनि केही होटलहरू दर्ता गर्न अझै आएका छैनन्, उनीहरूलाई सम्झाइ बुझाइ गर्न सके गर्दा प्रक्रियामा अवश्य आउँछन् ।” पोखरा क्षेत्रमा हाल भकाभक होटलहरू मात्रै ठडिएको देखिन्छ त्यसको अध्यावधिक गर्न किन कार्यालय चुकेको भन्ने हाम्रो प्रश्नमा उनले व्यवसायीहरू आवश्यक पर्दा दर्ता गर्न आएको खण्डमा मात्रै हाल आफूहरूले दर्ता गराउने गरेको अधिकृत रेग्मीले जनाए । सायद सरकारलाई राजस्व कम तिर्नुपर्ने भएको कारणले गर्दा व्यवसायीहरूले कम लगानी भएको देखाउने गरेको हुन सक्ने उनले जनाए ।
कार्यालयले गण्डकी तथा धौलागिरिका १० जिल्लाका पर्यटकीय स्तरका होटल तथा लज एवं रेस्टुराँको दर्ता तथा ५-५ वर्षमा नवीकरण गर्ने गरेकामा यस वर्षदेखि थप एक जिल्लासहित गण्डकी प्रदेशकै जिम्मा पाएको हो । आर्थिक २०७४-७५ मा पोखरा क्षेत्रमा होटल तथा लज एवं रेस्टुराँमा मात्र करिब २५ करोडभन्दा बढी लगानी भएको पर्यटन कार्यालय पोखराका सूचना अधिकारी शुक्रराज कोइरालाले बताए । गत बर्ष भने २९ करोड ४८ लाख लगानी भएको उनले जनाए । नन स्टारको १० हजारदेखि पर्यटकीय स्तरीय डिलक्स स्तरिय होटलको दर्ता शुल्कः ४० हजारसम्म छ । यसअघि होटलहरूको न्यूनतम दर्ता शुल्कः ५ हजार रहेकोमा यस आर्थिक बर्ष २०७४-७५ देखि दोब्बरले वृद्धि भएको हो । केही व्यवसायीहरूले घरेलु तथा अन्य क्षेत्रबाट समेत दर्ता गरेर पर्यटन कार्यालयसम्म दर्ता गर्न नआएको उनले बताए ।
यसैबीच, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आर्थिक वर्ष २०७४-७५ देखि हालसम्म पोखरा क्षेत्रमा ठूलो लगानी होटल क्षेत्रमा भएको दाबी गरे । करिब २ अर्बभन्दा बडी होटल क्षेत्रमा लगानी भएको उनले जनाए । उनका अनुसार पोखराका ३ सयको हाराहारीमा पर्यटकीय स्तरका होटलहरू दर्ता विना सञ्चालन हुँदै आएका छन् । उनले एकै रातमा २० हजार पर्यटकलाई पोखरा क्षेत्रमा व्यवस्थापन गर्न सकिने दाबी गरे । हालसम्म पोखरा क्षेत्रमा करिब १० हजार रुम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्