२५ करोडका गाडी खरिद «

२५ करोडका गाडी खरिद

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले गतआर्थिक वर्षमा सवारी साधन खरिदमा २५ करोड ४९ लाख ३ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले गाडी, मोटरसाइकल र स्कुटर खरिदमा ठूलो रकम खर्च गरेको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा २४ करोड ६९ लाख ५२ हजार १ सय १८ रुपैयाँमा ५३ वटा गाडी, ५६ लाख ७७ हजार ६ सय रुपैयाँमा ३३ मोटरसाइकल र २२ लाख ७३ हजार ३ सय ९९ रुपैयाँमा १२ वटा स्कुटर खरिद गरेको हो ।
५३ चारपांग्रे मध्ये प्रत्येक संघीय निर्वाचनमा पर्ने गरी १६ वटा एम्बुलेन्स र ९ वटा जिल्ला प्रहरी कार्यालयका लागि ९वटा पिकअप भ्यान खरिद गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए । उनका अनुसार बाँकी गाडी मन्त्री, राज्यमन्त्री, सचिव, सभामुख, उपसभामुख, संसदीय समितिका सभापतिहरू र कार्यकाल परियोजनका लागि खरिद गरिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६९ लाख ७९ हजार ५ सय रुपैयाँमा एउटा नयाँ गाडी, पाँच वटा मोटरसाइकल र दुई वटा स्कुटर खरिद गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एउटा गाडी खरिद प्रक्रिया नै रद्द गरेको र खरिद गरिएको गाडी कार्यालय परियोजनका लागि भएको जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ करोड ३१ लाख ४१ हजारमा ११ वटा गाडी खरिद गरेको छ । जसमा ९ वटा प्रहरीका लागि पिकअप भ्यान पनि पर्छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ करोड ८ लाख ७७ हजारमा तीन वटा गाडी र सात वटा मोटरसाइकल खरिद गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा २ करोड सात लाख ४२ हजारमा ३ वटा नयाँ गाडी खरिद गरेको छ । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्री र सचिवका लागि एक करोड २४ लाख ९० हजार रुपैयाँ दुई वटा गाडी खरिद गरेको छ । सामाजिक विकास मन्त्रालयले ७ करोड ७३ लाख ८७ हजार आठ सय १७ रुपैयाँमा दुई वटा गाडी, १६ एम्वुलेन्स, आठ मोटरसाइकल र सात वटा स्कुटर खरिद गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ३३ लाख ५५ हजार ३ सयमा दुई वटा गाडी, चार वटा मोटरसाइकल र तीन वटा स्कुटर खरिद गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले १ करोड १४ लाख ८५ हजारमा २ वटा गाडी खरिद गरेको छ । प्रदेशसभा सचिवालयले ३ करोड ३८ लाख ७८ हजार ९ सयमा १० वटा गाडी र पाँच वटा मोटरसाइकल खरिद गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले ४५ लाख ६६ हजार ६ सय रुपैयाँमा एउटा गाडी र चार वटा मोटरसाइकल खरिद गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता शाहले गाडी किन्न अत्यावश्यक भएकाले प्रदेश सरकारले गाडी खरिद गरेको बताए । उनले मन्त्रीहरूले चढ्ने सबै गाडी बिसौं वर्ष पुरानो रहेको र दैनिक मर्मत गरेर चलाउनुपर्ने बाध्यता रहेकाले नयाँ खरिद गर्नुपरेको बताए । उनले प्रहरीलाई पेट्रोलिङ गर्न पिकअप भ्यान आवश्यक रहेको र प्रत्येक निर्वाचन क्षेत्रमा बिरामीलाई अस्पताल पु-याउन एम्बुलेन्स आवश्यक रहेकाले सो खरिद गरेको बताए । उनले बजेट सक्ने र सुविधा भोग गर्ने उद्देश्यले गाडी खरिद नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्