निर्माण व्यवसायीद्वारा नियमावली संशोधनको स्वागत «

निर्माण व्यवसायीद्वारा नियमावली संशोधनको स्वागत

निर्माण व्यवसायीहरूले सरकारले लागू गरेको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ को स्वागत गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरी सरकारले प्रकाशन गरेको सार्वजनिक खरिद (आठौं संशोधन) नियमावलीले व्यवसायीको सुझाव समेटेको भन्दै स्वागत गरेका हुन् ।
सरकारले यही साउन १६ गते आठौं संशेधन नियमावली नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । सार्वजनिक खरिदको आठौं संशोधनले रुग्ण परियोजनाको हकमा प्राविधिक प्रतिवेदनका आधारमा एकपटकका लागि म्याद थप गर्ने व्यवस्थाले निर्माण व्यवसायीलाई राहत भएको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले सरकारको निर्णय स्वागतयोग्य भए पनि एक वर्षभन्दा बढी आवश्यक हुने परियोजनालाई प्राविधिकको पुष्ट्याइँका आधारमा आवश्यकताअनुसार म्याद थप गर्नुपर्ने र प्राविधिकरूपले सम्पन्न हुन नसक्ने निमार्ण कार्य सुविस्ताका आधारमा ठेक्का तोडिनुपर्ने पनि बताए ।
यस्तै, महासंघले बिड क्यापासिटी लागू हुनु र स्वदेशी निर्माण व्यवसायीलाई एक अर्ब रूपैयाँको सिलिङ तोकिनु पनि स्वागतयोग्य भएको बताएको छ । तर, सोभन्दा माथिका जतिसुकै रकमको निर्माण कार्यमा केही प्रतिशतमा पनि विदेशीसँग जेभी जान पाउनुपर्ने र घरेलु प्राथमिकता पूर्ववत् रूपमा पाउनुपर्ने महासंघको भनाइ छ । यस्तै, पुनरावलोकनको जमानतमा कडाइ गरिएकोप्रति भने महासंघल चिन्ता व्यक्त गरेको छ । महासंघका अध्यक्ष सिंहले पुनरावेदन गर्न जम्मा गर्नुपर्ने रकमलाई शून्य दशमलव एकशून्य प्रतिशतबाट बढाएर एक प्रतिशत पु-याउँदा पुनरावलोकन गर्न प्रतिकूल हुने भन्दै उक्त धरौटीको अंकलाई यथावत राख्न माग गरे ।
महासंघले चालू रहेका साथै सम्पन्न भएका आयोजनामा भुक्तानीका लागि बिल पेश भए पनि लामो समयदेखि भुक्तानी नभएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्