प्रविधिले झन् उत्पादन घटायो «

प्रविधिले झन् उत्पादन घटायो

आधुनिक उपकरणको प्रयोगले खेती गर्दा उत्पादकत्व घटिरहेको तथ्य सरोकारवालाले अनुमानसमेत गर्न सकेका छैनन् ।

झापा घैलाडुव्वाका घनश्याम प्रसाईँको एक विगाह जग्गा छ । केही वर्ष अघिसम्म गोरु र राँगाको प्रयोग गरेर प्रत्येक वर्ष १०० मनभन्दा धेरै धान उत्पादन गर्दै आएका प्रसाईँ अहिले जग्गाको उत्पादकत्व घटेको बताउँछन् । अहिले सोही जमिनको धान उत्पादन ६० प्रतिशत मात्रै रहेको प्रसाईँले बताए । उपलब्ध कृषि यन्त्रको प्रयोगबाट धान खेती गर्दा लागत नै नउठ्ने गरेको उनी सुनाउँछन् ।
सरकाले कृषिलाई यान्त्रिकीकरण गर्ने प्रमुख नीति नै बनाएको छ । थोरै जनशक्तिको प्रयोग गरेर धेरै उत्पादन गर्नका लागि यान्त्रिकीकरण अनिवार्य बनेको छ । आधुनिक कृषि औजार भिœयाउन सरकारले भन्सारमा समेत सहुलियत दिएको छ । तर, आधुनिक उपकरणको प्रयोगले खेती गर्दा उत्पादकत्व घटिरहेको तथ्य सरोकारवालाले अनुमानसमेत गर्न सकेका छैनन् । कृषक भने हरेक वर्ष उत्पादनमा ह्रास आएको बताउँछन् ।
कृषकले गोरु जोत्ने क्रम घटेसँगै ट्याक्टर प्रयोग हुन थालेको छ । गोरु वा राँगाले जोत्दा माटोमा रहेका गड्यौला, घुरघुरे जस्ता जीव जिवित हुने गरेका थिए । ती जीवले माटोको अम्लियपन घटाउनुका साथै खुकुलो बनाउने भएका कारण उत्पादकत्वमा वृद्धि हुने गरेको कृषिविद् राजेन्द्र कडरिया बताउँछन् । गोरु वा राँगाको प्रयोग गरेर खेती गर्दा गोबर मलसमेत उत्पादन हुने भएकाले खेत मलिलो हुने कडरियाको भनाइ छ । “अहिले ट्याक्टरमा पनि (खासगरी रोडाभेटर) प्रयोग गर्ने क्रम बढेपछि उत्पादकत्व घट्न थालेको छ,” कडरियाले भने, “रोडाभेटर प्रयोग गरेर खेत जोत्दा जमिनमा रहेका बालीलाई आवश्यक पर्ने जीव मर्ने भएका कारण उत्पादकत्व घट्न थालेको हो ।” खासगरी गहिरो स्थानसम्म जरा हाल्ने बालीका लागि रोडाभेटर उपयुक्त नहुने उनले बताए । रोडाभेटरले जोत्दा माटोलाई एकैपटकमा ‘आकर्षक’ बनाउने भएका यसको प्रयोगमा कृषक आकर्षित भएका हुन् । कडरियाले ट्याक्टरमा सामान्य (नङ्ग्रे) हलो प्रयोग गर्न कृषकलाई सुझाव दिएका छन् ।
केही वर्ष अघिसम्म हरेक कृषकले श्रम गर्ने भएका कारण धान खेतीबाट प्रशस्त फाइदा हुने गरेको थियो । उनीहरूले श्रमको उचित मूल्य पाउने गरेका थिए । अहिले बीउ राख्न, काढ्न, रोप्न, काट्नदेखि झार्नसम्म उपकरणको प्रयोग गर्न थालेका कारण लागत बढी आउने गरेको झापाको अर्जुनधाराका कृषक देवी खातीले बताए । गोरु पाल्न छोडेसँगै रासायनिक मल बीउले माटोको उर्वराशक्ति तीब्र रूपमा क्षयीकरण भइरहेको कृषकहरूले बताएका छन् ।

हलो–जुवा लोप हुँदै
झापामा प्रत्येक किसानको घरमा हुने हल गोरु अहिले एउटा टोलमा मुस्किलले एक–दुई घरमा मात्र भेटिन्छ । हलो, जुवासमेत लोप हुन थालेका छन् । कृषिमा आधुनिक उपकरण भित्रिएसँगै किसान पनि यतिबेला फुर्सदिला बनेका छन् । धानको बीउ राखेदेखि भकारीमा धान हालेसम्म मेसिनको प्रयोग हुन थालेपछि किसान फुर्सदिला बनेका हुन् । केही वर्षअघिसम्म खेतका गरा–गरामा जोत्न गोरु र हलीले गोरु धपाउँदा आएको आवाजले महोत्सवको झल्को आउँथ्यो । अहिले मेसिनको आवाजले त्यसलाई पुरै विस्थापित गरेको छ । गोरु पाल्न छोडेसँगै हलो, जुवा, अनौ, हल्लुंड, हरिस, फाली करुवा जस्ता शब्द अब नयाँ पुस्ताका लागि इतिहास बनेका छन् । यो सँगै रोपाईँ गर्दा लगाइने बेठी, गाइने असारे गीतसमेत लोप हुन लागेका हुन् ।

खर्च बढ्दै
उत्पादन कम भएकाले मेसिन प्रयोगको खर्च धान्न किसानलाई हम्मे पर्ने गरेको झापा बिर्तामोडका किसान पवित्रा पाठकले बताइन् । उत्पादनले खर्च धान्न नै समस्या पर्ने गरेकाले खेती मासेर विरुवा लगाउन सुरु गरेको पाठकको भनाइ छ । उत्पादन प्रत्येक वर्ष घट्दै जानु र मानिसको साटो मेसिनले काम गर्दा लागत बढी हुने हुनाले आम्दानीले त्यसलाई धान्न नसकेको हो । एक बिगाहा जमिनमा धान लगाउँदा सिजनमा ४५ हजार रूपैयाँसम्म लागत पर्ने गरेको छ । उत्पादन भने बढीमा ६० देखि ६५ मन हुने उनले जानकारी दिए । कतिपय उच्च जमिनमा भने आकासे पानीको भर पर्नुपर्ने भएका कारण त्यतिपनि उत्पादन नहुने कृषकको भनाइ छ ।
अहिले गाउँ घरमा बृद्ध, बृद्धा र बालबालिका मात्र भेटिन्छन् । केही वर्ष अघिसम्म कृषि पेशामा आवद्ध युवा अहिले विदेशिएका छन् । बृद्धबृद्धा युवाले जसरी हल गोरु पाल्न र जोत्न सक्ने अवस्थामा नरहेकाले पनि यान्त्रिकीकरणको प्रयोग बढ्दै गएको सरोकारवाला बताउँछन् । झापाको ८७ हजार हेक्टर जमिनमा कृषकले बर्खे र चैते धानबाली लगाउँदै आएका छन् । झापा धान, मकै बालीमा मात्र आत्मनिर्भर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराईले बताए । अन्य सबै अन्नबाली झापामा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आयात हुने भट्टराई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्