नौ करोड राजस्व संकलन
म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले चार करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । चालु आर्थिक वर्षमा बेनीले चार करोड २३ लाख रुपैयाँ अनुमानित राजस्व संकलनको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
अधिकृत ढकालले भने, “पछिल्लो समयमा स्थानीय तहमा राजस्वको दायरा बढ्दै गएको छ । आम्दानीको स्रोत पहिचान गर्दै स्थानीय करअन्तर्गत विभिन्न स्रोतसाधन प्रयोग गरेमार्फत् राजस्व संकलन गर्दै आएका छन्,” उनले भने, “पालिकाले मालपोत कर, घरजग्गा, ब्यवसाय, बहालवितौरी शुल्क, पार्किङ शुल्क, जडिबुटी/जीवजन्तु, नदीजन्य वस्तुलगायत क्षेत्रबाट राजस्व संकलन गरिन्छ । बेनीनगरमा जग्गा वर्गीकरण सम्पन्न भएकाले आगामी वर्षदेखि जग्गाको कित्ताकाट खुल्ने बित्तिक्कै राजस्वको दायरा बढ्छ ।”
त्यस्तै अन्नपूर्ण गाउँपालिकाले एक करोड ५१ लाख रुपैयाँ, रघुगंगा गाउँपालिकाले एक करोड २८ लाख, मंगलागाउँपालिकाले ८४ लाख १५ हजार, धवलागिरिले ४७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको स्थानीय तहका लेखा अधिकृतले जानकारी दिए । त्यस्तै मालिका गाउँपालिकाले असार २० गतेसम्मको राजस्व अपडेट भएअनुसार ४४ लाख ४९ हजार राजस्व संकलन भएको जनाएको छ ।
करिब करोड लक्ष्य राखेको मालिकामा असार २० गतेभन्दा पछिको राजस्व अपडेट गर्न बाँकी रहेको लेखापाल सागर पौडेलले जानकारी गराए । कालिगण्डकी नदीको नदीजन्य वस्तु उत्खनन् गर्न सर्वोच्च अदालतले रोक लगाउँदा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्णले कालिगण्डकी नदीको नदीजन्य वस्तु बिक्री गर्न पाएका छैनन् ।