साउनदेखि भन्सार नाकामा कडाइ
विराटनगरमा व्यापार प्रवर्द्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोड निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले साउन १ देखि भन्सार नतिरी भित्रिने खाद्यन्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको आयातलाई निरुत्साहित गरिने भएको छ । यसअघि एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइने गरिएको थियो । तर, एक सय रुपैयाँको छुटको नियमलाई गलत प्रयोग गरी एउटै व्यक्तिले हरेक दिन पटक–पटक सामान आयात गर्दा राज्यको राजस्व गुम्नुका साथै स्थानीय व्यापारसमेत प्रभावित भएको बैठकले निष्कर्ष निकालेको छ ।
अबदेखि जुनसुकै सामान जोगबनी नाका तथा आसपासका नाकाहरुसमेत बाट आयात गर्दा अनिवार्य रुपमा भन्सार तिर्नुपर्नेछ । त्यसैगरी स्थानीय व्यापारीहरुले पनि अवैध रुपमा आयात भएका सामान खरिद र बिक्री गर्न नदिनका लागि कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताए । सरोकारवाला सबैको सहभागितामा चाँडै नै बजार अनुगमन सुरु गरिने पनि उनको भनाइ छ ।
त्यस्तै अवैध सामान खरिद बिक्री नगर्न आग्रह गर्दै विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, परिसंघ, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघले सार्वजनिक रुपमा संयुक्त अपिल गर्ने निर्णयसमेत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । व्यापारीहरुको गुनासो सम्बोधन गर्नका लागि महानगरले सरोकारवालाहरुको बैठक राखेर स्थानीय बजारको प्रवर्द्धनका लागि महत्वपूर्ण निर्णय गरेको मेयर कोइरालाले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनकोतर्फबाट सहयोग गर्न तयार रहेको प्रजिअ यादवले प्रतिबद्धता जनाए । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सबैभन्दा पहिला स्वदेशी बजारमा सामान खरिद गर्नका लागि नेपाली उपभोक्ताको सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । त्यस्तै सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरको सामानको मूल्यमा धेरै अन्तर गर्न नहुने जिकिर गरे ।
मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङ प्रहरीका प्रमुख दीपक पोखरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापा, डीएसपी लोकेन्द्र सुब्बा, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायका सहभागिता रहेको थियो ।