Logo

स्मार्ट सिटीको मानक

अहिले विश्वका करिब आधा मानिस सहरमा बस्ने गरेका छन् । त्यसमाथि सहरीकरण दिनानुदिन बढ्दो छ । पछिल्लो समयमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न स्मार्ट सिटीको अवधारणा अगाडि सारेको पाइन्छ । यसो त कस्तो सहरलाई स्मार्ट सिटी भन्ने अथवा स्मार्ट सिटीमा के–कस्ता सेवा–सुविधा उपलब्ध हुनुपर्छ भन्ने सन्दर्भमा सर्वमान्य मापदण्डको अभाव छ ।

तथापि योजनाबद्ध सहरीकरण, यातायातको यथेष्ठ प्रबन्ध, पर्याप्त खुला सडक, पार्किङको मनग्य व्यवस्था, मनोरञ्जनका विविध साधनको उपलब्धता, भरपर्दो सुरक्षा प्रबन्ध, विद्युतीय सरकारको प्रत्याभूति, गुणस्तरीय शिक्षा, स्वास्थ्य, आवासको प्रबन्धलगायतका सेवासुविधा स्मार्ट सिटीमा उपलब्ध हुनुपर्छ भन्ने मान्यता राखिन्छ । यसका अतिरिक्त हरहमेसा बिजुली तथा शुद्ध पिउने पानीको प्रबन्ध, बैंक, वित्तीय संस्था, बिमा कम्पनी, कलेज तथा युनिभर्सिटीको उपलब्धता, स्वचालित ट्राफिक व्यवस्था आदि कुरालाई पनि आदर्श स्मार्ट सिटीमा उपलब्ध हुनुपर्ने आधारभूत सेवा–सुविधाहरूको रूपमा लिइन्छ ।

जहाँसम्म विश्वका केकति स्मार्ट सहर छन् भन्ने सवाल छ, स्पेनको एक युनिभर्सिटीले २०१६ मा गरेको सर्वेक्षणमा दक्षिण एसियाको हालत निकै नाजुक पाइएको थियो । विश्वका १ सय ८१ सहरको अवस्था नियालिएकोमा दिल्ली १ सय ७४ औं, मुम्बई १ सय ६७ औं, कोलकाता १ सय ७९ औं र बैंग्लोर १ सय ७६ औं स्थानमा परेका थिए भने पाकिस्तानको कराँची सबैभन्दा पुछार अर्थात् १ सय ८१ औं स्थानमा पुगेको थियो । जहाँ सनफ्रान्सिस्को, न्युयोर्क, लन्डन, पेरिस र बोस्टन विश्वका पाँच सर्वोत्कृष्ट सहर बन्न सफल भएका थिए । सहरको अर्थव्यवस्था, मानवीय पुँजी, प्रशासनिक संयन्त्र, प्रविधिको उपयोग, पर्यावरणीय अवस्था, सूचना प्रविधि सञ्जाल, सार्वजनिक सेवा व्यवस्थापन, सामाजिक एकता, यातायात सेवाको उपलब्धतालाई आधार मानिएको थियो ।

भारतमा स्मार्ट सिटीको अवधारणा सन् २००७ देखि अगाडि सारिएको छ । भारतको प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको प्रविष्टिले स्मार्ट सिटी मिसन अझ दुरुस्त बन्न पुगेको छ । स्मार्ट सिटीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रिम प्रोजेक्ट ठान्छन् । यसै सिलसिलामा भारतको गुजरातको गान्धीनगर र अहमदावादको बीचमा गुजरात इन्टरनेसनल फाइनान्स टेक सिटी भारतको पहिलो स्मार्ट सिटीको रूपमा २०१० देखि निर्माणाधीन अवस्थामा छ । त्यस्तै २०१५ जुन २५ मा १ सय स्मार्ट सिटीको अवधारणा अगाडि सारिएकोमा २०१८ जनवरीसम्ममा ९९ वटा सहर पहिचान भइसकेका छन् ।

जहाँसम्म नेपालको सहरीकरणको सवाल छ, नेपालमा सहरीकरणलाई योजनाबद्ध रूपमा विकास गर्न सकिएको छैन । यसैले अधिकांश सहर बस्न लायक वा स्मार्ट छैनन् । त्यसमाथि संघीय राजधानी सहर काठमाडौं सबैभन्दा अस्तव्यस्त छ । अझ भनौं, अस्तव्यस्तताको पराकाष्ठा नाघेको छ । सडकको कुरा गर्नुपर्दा, खाल्डाखुल्डी नभएको सडक पाउन कठिन छ । कार्यालय सयममा रिङरोडभित्र एक घण्टामा एक किलोमिटको दूरी पार गर्न कठिन हुने गरेको छ । त्यसमाथि धूलोमैलो खानु त छँदै छ । सामुदायिक सरसफाइएको कुरा गर्नुपर्दा, राजधानीको सार्वजनिक स्थलमा पेट काटिहाल्यो भने एकाध स्थानबाहेक शौचालय पाउन कठिन छ ।

फोहरमैला फ्याँक्न डस्टबिन पाउन दुर्लभ छ । ढलको उचित व्यस्थापन हुन सकेको छैन । दुई दशकदेखि आउने भनेको मेलम्ची अझै नियमित आउन नसक्दा पिउनका लागि मिनरल वाटरकै सहारा लिनुपरेको छ । राजधानीमा हरियाली वा खुला स्थान चाहेर पनि भेट्टाउन सम्भव छैन । यहाँसम्म कि ठूलो भूकम्प आएमा जीउज्यान कसरी बचाउने भन्ने विषयमा कुनै सोच बनाइएको छैन । ठिमी, असन, इन्द्रचोक, न्युरोड, बागबजार, कुपन्डोल, पुल्चोक गल्लीको सहरभन्दा गल्लीजस्तो अनुभूति हुन्छ । जहाँ विश्व बैंकको प्रतिवेदन, २०१३ ले काठमाडौंलाई दक्षिण एसियामा तीव्र सहरीकरण भइरहको सहरको रूपमा इंगित गरेको छ ।

यसो त पछिल्लो समयमा नेपालमा स्मार्ट सिटीको अवधारणा अगाडि सारेको पाइन्छ । ०७३/७४ को बजेट वक्तव्यको बुँदा नं. ९१ मा काठमाडौंमा उपत्यकामा थप दुईवटा स्याटेलाइट सहरको विस्तृत योजना तयार गरिने, पाँच वर्षभित्र काठमाडौं उपत्यकामा १ लाख क्षेत्रफलमा क्षेत्रफलमा स्याटेलाइट सहर निर्माण गर्न जग्गा विकासका लागि भूउपयोग योजना तयार गरिने उल्लेख छ । बुँदा नंं. ९२ मा गोरखाको पालुङटारलाई केन्द्रबिन्दु मानी मस्र्याङ्दी आसपासको क्षेत्र, वालिङ, लुम्बिनी, डँडेलधुरालगायतका १० स्थानलाई आधुनिक एवं स्मार्ट सहरको रूपमा विकास गर्न गुरुयोजना तयार पारिने उल्लेख छ ।

०७४/७५ को बजेट वक्तव्यको बुँदा नं. ११५ मा काठमाडौं उपत्यकाभित्रका सबै नगरपालिकामा समन्वयात्मक रूपमा स्याटेलाइट सिटी विकास गरिने उल्लेख छ । ०७५/७६ को बजेट वक्तव्यको सम्भाव्यतका आधारमा मेगा सिटी, ग्रिन सिटी र स्मार्ट सिटीको विकास गर्न बजेट विनियोजन भएको थियो । त्यस्तै ०७५/७६ को वार्षिक विकास कार्यक्रम (रातो किताब) मा स्मार्ट सिटीको रूपमा ०७३/७४ देखि अगाडि सारिएका १३ वटा सहरलाई क्रमागत आयोजनाको रूपमा स्वीकार गरिएको छ । जहाँसम्म पहलकदमीको सवाल छ, काठमाडौं, भक्तपुर, ललितपुरका चार स्थानमा स्मार्ट सिटी निर्माण गर्ने सोच बनाइएको छ ।

खासमा मूलपानी, साँखु, गोठाटार, सूर्यविनायक, बालकोट, खोकना, सैंबु, बाइपास स्मार्ट सिटी निर्माणका लागि छनोट भएका छन् । जहाँ उत्तरपूर्व १ लाख रोपनी र अन्य तीन कुनामा १०/१० हजार रोपनी गरी कुल १ लाख ३० हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माण गर्ने लक्ष्य राखिएको छ । सोअनुरूप स्थानीय जग्गाको कित्ताकाट र भवन निर्माणमा रोक लगाउनुका साथै डिपिआर निर्माण भइरहेको छ । जहाँ स्मार्ट खुला क्षेत्र, खेल मैदान, पार्किङको प्रबन्ध मिलाइनुका साथै आवासीय र व्यावसायिक भवन निर्माण गरिने बताइन्छ ।

उक्त कार्यका लागि ५ खर्ब र १० वर्ष लाग्ने अनुमान गरिएको छ । स्मार्ट रातारात निर्माण हुने कुरा होइन । स्मार्ट सिटी निर्माणका लागि आजैदेखि घोत्लिनु आवश्यक छ । अब बन्ने सहरी संरचनामा एकपटक प्रयोग भएको जल प्रशोधन गरी कसरी पुनःप्रयोग गर्ने, त्यसको व्यवस्था मिलाइएको हुनुपर्छ । स्मार्ट इनर्जी, स्मार्ट ग्रिड, स्मार्ट मिटर, स्मार्ट कुलिङ, स्मार्ट हिटिङको सुनिश्चितता कसरी गर्ने विचार पुर्‍याइएको हुनुपर्छ । भवन निर्माण गर्दा मर्मत खर्च कसरी न्यूनीकरण गर्ने सोचिएको हुनुपर्छ । स्मार्ट सिटीमा गुणस्तरीय इन्जिनियरिङ तथा चिकित्सा शिक्षाको उपलब्धता हुनुपर्छ ।

सरकारीमा नागरिकको सहज पहुँच तथा जानकारीका लागि पोर्टल सेवा उपलब्ध हुनुपर्छ । पर्यटन आवागमनलाई सहज तुल्याउन विद्युतीय प्रवेशाज्ञाको प्रबन्ध हुनुपर्छ । राज्यका महत्त्ववपूर्ण कामकाजमा नागरिकलाई सहभागी र सुसूचित बनाइएको हुनुपर्छ । व्यापार–व्यवसायमा एकद्वार प्रणाली निर्माण गरिएको हुनुपर्छ । रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न लगानीमैत्री वातावरण निर्माण गरिएको हुनुपर्छ । क्षमताअनुरूप कार्य गर्न पाउने अवसर सिर्जना गरी प्रतिव्यक्ति जिडिपी फराकिलो पारिएको हुनुपर्छ ।

श्रम गर्ने अनेकन् अवसर सिर्जना गरी श्रम बजारलाई लचक तुल्याइएको हुनुपर्छ । ४५ किलोमिटरसम्मको यातायातका लागि मेट्रोको प्रबन्ध गरिएको हुनुपर्छ । पैदल १० मिनेटभन्दा अधिक हिँड्न नपर्ने गरी यातायात सुविधाको प्रबन्ध गरिनुपर्छ । दूरसञ्चार सेवालाई प्रभावकारी तुल्याउन अप्टिकलको प्रयोगले बढावा दिएको हुनुपर्छ । सार्वजनिक क्षेत्रमा कम्तीमा पनि १ सय एमबिपिएस गतिको इन्टरनेट सेवा उपलब्ध गराइनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्