निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउन माग
राष्ट्र बैंकले ल्याउने नीतिमा निजी क्षेत्रलाई प्रोत्सान गर्ने खालको नीति ल्याउ निजी क्षेत्रका अगुवाहरुले माग गरेका छन् । मौद्रिक नीतिले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै ब्याजदर घटाउन, साना तथा मझौला उद्यमलाई सहज कर्जा प्रवाह गर्न, पुन कर्जा, कर्जाको पुनर्तालिकीकरण गर्न सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बजार चलायमान गराउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताए । बजेटले समेट्न नसकेका विषयलाई समेत मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने शर्मा बताउँछन् । अहिले बजार चलायमान हुन नसकेको उनको भनाइ छ । बजार चलायमान गराउन बैंकका ब्याजदर एकल अंकमा सीमित गर्नुपर्ने उनको तर्क छ । यसले लगानी गर्न सहज हुने शर्मा बताउँछन् ।
“सहज रुपमा लगानी गर्ने अवसर सृजना गरिनु पर्दछ” अध्यक्ष शर्माले भने । घर जग्गा किताकाट खुल्ला गर्ने हो भने पनि आर्थिक चलायमान गराउन सहयोग पुग्ने उनको अपेक्षा छ । आर्थिक संकटका कारण समस्यामा रहेको भन्दै कर्जाको पुनर्तालिकीकरण गरिनुपर्नेमा उनको जोड छ । “उद्योगहरुको उत्पादन तथा बिक्री वितरणसमेत घट्दै गएको छ” अध्यक्ष शर्माले भने । उत्पादन तथा बिक्री वितरण घटेपछि अहिले उद्योग तथा व्यवसायीहरु समस्यामा रहेको उनको भनाइ छ ।
त्यसैले उद्योगी तथा व्यवसायीलाई ऋण तिर्नसमेत समस्या भएको उनी बताउँछन् । नेपालको आर्थिक क्षेत्र चलायमान गराउन पर्यटकीय क्षेत्रको महत्वपूर्ण योग्दान गरेको उनले बताए । पर्यटकीय क्षेत्रलाई अगाडि बढाउनका लागि मौद्रिक नीतिले सम्बोधन गरिनुपर्ने उनको भनाइ रहेको छ । “पर्यटकीय क्षेत्रलाई आर्कषक बनाउनु पर्दछ” अध्यक्ष शर्माले भने । भारतीय पर्यटकलाई प्राथमिकता दिएर नाकाहरुमा त्यसै अनुसारको व्यवस्था मिलाउन लाग्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्रले दिएका सुझाव गर्न समेत उनले आग्रह गरे ।
जिल्ला उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले उद्योगी तथा व्यवसायीलाई कर्जा सरल र सुलभ रुपमा पाउने नीति ल्याउनुपर्ने बताए । उद्योगी तथा व्यवसायीले सहज र सुलभ रुपमा ऋण पाउन नसक्दा समस्या भोग्नु परेको उनले बताए । कर्जाको व्याज एकल अंकलमा ल्याउने नीति ल्याउनुपर्ने उनको भनाइ रहेको छ । “व्याज बढी हँुदा लगानी गर्न समस्या भएको छ” उनले भने । सरकारले ल्याएको चालु पुँजी कर्जा निर्देशिका सच्चाउनु पर्ने उनी बताउँछन् । यसले उद्योगी व्यवसायीलाई धेरै समस्या पारेको उनी बताउँछन् ।
उत्पादनशील क्षेत्रमा कर्जालाई प्राथमिकता दिन उत्पादनमूलक क्षेत्र र साना तथा मझौला उद्योगमा कर्जा विस्तारमा जोड दिइनुपर्ने अध्यक्ष बुढाथोकी बताउँछन् । “वित्तीय पहुँचलाई सहज बनाउने र व्यापार विस्तार तथा लगानीलाई प्रोत्साहन गर्ने मौद्रिक नीति ल्याउनु पर्दछ” अध्यक्ष बुढाथोकीले भने । कृषि, पर्यटन क्षेत्रलाइ प्राथमिकता दिनुपर्ने उनी बताउँछन् । नेपालमा कृषि, पर्यटन तथा जलविद्युतको धेरै राम्रो सम्भावना रहेको भन्दै त्यसतर्फ ध्यान दिन सक्नुपर्ने उनले बताए ।
देशमा उत्पादनलाइ प्राथमिकता दिएर निर्यात गर्नतर्फ लाग्नु पर्ने उनको भनाइ छ । “आयात बढ्दा देशमा व्यापार घाटा बढने गरेको छ” उनले भने, “यसलाई कम गर्न उत्पादन बढाउनुपर्छ ।” उत्पादनको आधारमा अनुदान दिने व्यवस्था ल्याउनु पर्ने उनी बताउँछन् । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । अहिले निर्यात भन्दा पनि आयात बढेको भन्दै उनले उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । “निर्यातलाई प्रोत्साहन र आयातलाई निरुसाहित गरिनु पर्दछ” उनले भने । उत्पादनको आधारमा अनुदान दिने खालको नीति ल्याउनु पर्ने उनको तर्क छ ।
उद्यमशिलतालाई प्राथमिकता दिएर सरल र सहुलियत रुपमा ऋण प्रदान गरिनुपर्ने उनले बताए । यसले लगानी गर्न चाहनेलाई सहजता हुने केसी बताउँछन् । “उद्यमी बन्न चाहनेलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्दछ” महासचिव केसीले भने । आर्थिक संकटको कारण उद्योगी तथा व्यवसायीहरु समस्यामा रहेको भन्दै उनले कर्जाको पुनर्तालिकीकरणको व्यवस्था गर्नुपर्ने बताए । नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावन रहेकाले यस क्षेत्रलाई अगाडि बढाउनु पर्ने उनले बताए ।
“नागरिकहरुलाई वितीय साक्षरता प्राथमिकता दिनुपर्छ” उनले भने । नागरिकलाई वितीय साक्षरता दिन सकेमा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै उनले यसलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनी बताउँछन् । उनले सरकारी निकायमा प्रविधिको प्रयोग गरेर आर्थिक कारोबार गर्न सकिने व्यवस्था नीतिमा ल्याउनुपर्ने बताए । अहिले सरकारी निकायमा रकम तिर्नु पर्दा लामो समयसम्म लाइनमा बसेर तिर्नुपर्ने बाध्यता रहेको छ । यसले आर्थिक रुपमा तथा समय धेरै लाग्ने गरेको छ । “सेवालाई सहज र सुलभ बनाउने नीति ल्याउनु पर्दछ” महासचिव केसीले भने ।