Logo

बागलुङ–कुश्मिसेरा सडकः पहिरो नियन्त्रण गर्न पाँच करोड लाग्ने अनुमान

सामान्य झरि पर्दासमेत अवरुद्ध हुने बागलुङ–कुश्मिसेरा सडक खण्डको दब्ल्याङको पहिरो अस्थायी समाधानका लागि काम थालिने भएको छ । विगत तीन वर्षयता बागलुङ बजारदेखि दक्षिणी भेगको सम्पर्क टुटाउँदै आएको पहिरोको अस्थायी समाधान खोज्न लागिएको हो । बागलुङ नगरपालिका–१० को दब्ल्याङ एक्लेसालमा पर्ने उक्त पहिरोले सामान्य वर्षातमा समेत बाटो अवरुद्ध हुने गर्दछ ।

पहिरोका कारण बागलुङ–कुश्मिसेरा सडक खण्ड तथा कालिगण्डकी करिडोर दुवै अवरुद्ध हुने गर्दछन् । सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिकाका ४ वटा वडा तथा दक्षिण जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका १८ वटा वडा प्रभावित हुने बा.न.पा.–१० भकुण्डेका अध्यक्ष तिलबहादुर थापाले बताए । “पहिरोको कारण विगत तीन वर्षदेखि वर्षात्को समयमा सास्ती बेहोर्न बाध्य भएका छौं,” अध्यक्ष थापाले भने, “वर्षायाम सुरु भएपछि दक्षिण भेगका नागरिक आकास हेरेर यात्रा गर्नुपर्ने अवस्थामा छाैं ।”

पहिरोको अल्पकालीन समाधानका लागि तत्कालका लागि पहिरो खसेको भागभन्दा माथिबाट नाली खनेर पानीको निकास निकालिने थापाले बताए । पहिरोको समस्या विकराल बन्दै गएपछि पूर्वाधार विकास कार्यालय बागलुङले भू–गर्भविदलाई खटाएर गत जेठमा पहिरोबारे विस्तृत अध्ययनसमेत गरेको थियो । पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सी’ ले सुझाव दिएको छ ।

पहिरो माथिबाट बग्ने पानी मात्रै तर्काउन सकेमा पहिरो झर्ने समस्या आधा कम हुने अध्ययन टोलीका इन्जिनियर उमेशचन्द्र भुसालले बताए । तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लास्टिक बिछ्याएर पानीलाई नजिकैको न्वारे खोलामा पु¥याएमा पहिरो बग्नबाट रोकिने उनले बताए । प्रतिवेदनका अनुसार पहिरो समस्या समाधानका लगि अल्पकालीन र दीर्घकालीन उपाए सुझाइएको छ । प्रतिवेदनअनुसार पहिरो ७सातसय मिटर लामो र १३५ मिटर फराकिलो तथा १५ देखि १८ मिटर गहिरो भएर बगेको छ ।

पहिरोकै कारण जम्मा भएको पुरुवा माटोमा सडक बनाउने र वर्षायामको पानीको उचित व्यवस्थापन हुन नसकेका कारण पहिरो सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले बताए । पहिरो नियन्त्रणका लागि पाईल फाउण्डेसनसहित पिल्लर रख्ने, तार जाली लगाउने, मेसिनरी वाल लगाउने, पानी व्यवस्थापन गर्ने, पानी बग्ने पक्कि संरचना बनाउने र इकोप्लानिङ गर्ने सुझाव पेस गरिएको छ ।

अहिले पहिरो बगिरहेको सतहभन्दा १३ देखि २५ मिटरभित्र मात्रै पथ्थर रहेकाले पाईल पिल्लर नहालेसम्म पहिरो नियन्त्रण असम्भव रहेको सुबेदीले बताए । प्रारम्भिक प्रतिवेदनअनुसार पहिरो नियन्त्रण गर्न पाँच करोड, ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । वर्षायाम सुरु भइसकेकाले तत्काल सडक सञ्चालनमा बाधा नआओस् भन्नका लागि अस्थायी व्यवस्थापन गर्न लागेको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए ।

“अहिले पहिरो थप बढ्न नदिने र सडक सञ्चालनमा बाधा नआउने गरी अस्थायी समाधान खोजेका छौं,” सुवेदीले भने, “हिउँद सुरु भएसँंगै प्रदेश, संघ र स्थानीय सरकार मिलेर विज्ञको सल्लाहअनुसार दीर्घकालीन व्यवस्थापनमा लाग्ने छौं ।” नालीको निकासका लागि बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले संयुक्त पहल थालेका छन् । प्रविधिक सहितको नगरपालिकाको टोलीले स्थानीय जग्गादातासँग सल्लाह गरी काम अगाडि बढाउन लागेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्