त्रिशूलीमा बस खस्दा ३१ को मृत्यु, १६ घाइते

धादिङ (घाटबेंशी): शनिबार बिहान साढे पाँच बजे पृथ्वी राजमार्गअन्र्तगत बाङ्गेमोडबाट त्रिशूली नदीमा बस खस्दा बसमा सवार ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशूली नदीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक वरुण सिंहका अनुसार शनिबार रातिसम्ममा मृतक ३१ जनामध्ये १२ जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा सिम्मीकुमारी झा, वर्ष ३५ (सप्तरी तिलाठी), सञ्जीतकुमार झा, वर्ष ३८ (सप्तरी तिलाठी), मञ्जितकुमार झा, वर्ष ३३ (सप्तरी तिलाठी), आदित्य यादव, वर्ष ६ (सप्तरी बोदेबरसाई नपा), चन्द्ररेखा प्रणामी, वर्ष १५ (सप्तरी बोदेबरसाई नपा), रमानन्द यादव, वर्ष २४ (सप्तरी नेरेया), पार्वती चौधरी, वर्ष २५ (सप्तरी नेरेया), शुसान चौधरी, वर्ष ३ (सप्तरी नेरेया), नरेश मुखिया, वर्ष १८ (सप्तरी देउरीमरुवा नपा), चन्द्रावती झा, वर्ष ७४ (सप्तरी राजविराज), राजकुमार यादव, वर्ष ५० (सिरहा गोलबजार) र ममतादेवी ठाकुर, वर्ष २९ (भारत बधुवन) छन् ।
बस त्रिशूलीमा खसेको आधा घण्टामै गजुरीस्थित इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, देवीदत्त गणको नेपाली सेना तथा स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । सो क्रममा १६ जना घाइते उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सिंहले बताए । घाइतेमध्ये २ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य सबै घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण तिव्र गति भएको सोही बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण प्रसाद सापकोटाले बताए । “बस घाटबेसीको बजार कटिसकेपछिको मोड नमोडिकन सिधै नदीमा खसेको हो । सो क्रममा बसले सडक छेउमा राखिएको डिभाइजर र तारजाली पनि भत्काएको छ,” उनले भने । तर, दुर्घटनाको यकिन कारण भने अनुसन्धानपछि मात्र खुल्ने उनले बताए ।
बस खसेको ठाउँमा नदी गहिरो भएका कारण खोज तथा उद्धारमा कठिनाइ भएको थियो । उद्धारका लागि सशस्त्र प्रहरीका गोताखोरहरु, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयले निकै कठिनाइसँग गाडीभित्रबाट शव निकालेका थिए । दुर्घटनामा घाइते भएकाहरु पनि बसका झ्यालबाट हाम फालेका धेरै रहेको प्रहरीले जनाएको छ । साँझपख बस तानेर नदी छेउमा राखिएको छ ।
भोली पनि उद्धार कार्य जारी राख्ने प्रहरीले जनाएको छ । बिहान झिसमिसेमा गाडी ठोक्किएको चर्को आवाज सुनेपछि पोखरेखोला आसपासका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।