साना लगानीकर्ताहरूको लगानी दाउमा
नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले अहिले नेपाली सेयर बजार तातेको छ । हाल नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैंक २८ बाट घटाएर १५ मा झार्ने लक्ष्य लिई नेपाल राष्ट्र बैंकले लिएको हो कि भन्ने चर्चाबीच सेयर बजारले प्रतिक्रिया देखाउन थालिसकेको छ । नेपालको सेयर बजारको विगतको अवस्था हेर्दा हल्लाको पछि लाग्ने र फस्नेमा साना लगानीकर्ताहरू पर्ने गरेका छन् । साना लगानीकर्ता कतिले बुझेर सेयर बजारमा छिर्ने गरेका छन् त धेरै लगानीकर्ता चाहिँ अरेको भरमा नै बजार पस्ने गरेको अध्ययनले देखाएको छ ।
आजभोलि पनि यस किसिमको घटना देख्न पाइन्छ कि सरकारले बजेट भाषणमा बिग मर्जरलाई प्राथमिकता दिने भनेपछि अहिले सेयरबजारमा हरियाली देखिन थालेको जसले गर्दा लगानीकर्ताहरूको मनोबल उच्च हुँदै गएको देखिन्छ । बिग मर्जरको हल्लाको भरमा आज प्रतिसेयर मूल्य प्रतिफल न्यून भएका कम्पनीको सेयर मूल्य पनि निकै राम्रोसँग बढेको छ, बरु ‘क’ वर्गका कम्पनीहरूको त्यति धेरै प्रतिशतले बढ्न सकेको अवस्था छैन । मानौं कि कुनै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ हुन्छ कि जब ती कम्पनीलाई राम्रो प्रतिसेयर आम्दानी भएका कम्पनीले किन्ने, मर्ज गर्ने भन्ने हल्ला लगाएर कृत्रिम महँगो बनाउने र सेयर बढाउने खेल गरिन्छ । साना लगानीकर्ताको मनमा कम्पनीको सेयर मूल्य हेर्छ र ऊ किन्न तयार हुन्छ । पछि कुरा मिल्दैन अनि लगानी जोखिममा पर्छ, त्यसैले लगानी गर्नु भन्दा पहिले कुन कम्पनी कस्तो हो बुझ्न जरुरी छ ।
सेयरबजारमा पस्नका लागि थोरैतिनो ज्ञान हुन जरुरी नै छ, किनकि बजार घटबढ गराउनका लागि यहाँ निकै ठूलो चलखेल हुने गरेको छ । बजारमा सेयर बजारका वादशाहहरू निकै रहने भएकाले सेयर बजारको सेयरमूल्य घटाउने बढाउने जिम्मा यिनै ठूला लगानकर्ताको रहेको देखिन्छ । ठूला लगानीकर्ताको कसरी सस्तोमा खरिद गर्छन् र महँगोमा बिक्री गर्ने गर्छन् भने साना लगानीकर्ताहरू बढेका बेला सेयर किन्ने र घटेको बेला के गर्ने के गर्नेमा अन्योलमा पर्ने गरेको देखिन्छ र अन्जानमा साना लगानीकर्ता आफ्नो लगानीको चेपुवामा परिरहेका छन् ।
साना लगानीकर्ताले के बुझ्न जरुरी छ भने हल्लाको पछाडि नकुद्न आग्रह छ कि साधारणतया सबै नेप्सेमा सूचीकृत १२ वटै समूहअन्तर्गतका कम्पनीहरूको विगत तीन वर्षदेखिको कम्पनीको सूचनालाई आधार बनाएर लगानी गर्दा फाइदा हुन सक्छ । तपाईंले छनोट गरेका कम्पनीले तीन वर्षको अवधिको लेखाजोखा गर्दामा के विचार गर्नुहोस् भने त्यस कम्पनीले नियमित वार्षिक साधारणसभा गरेको छ कि छैन, सोही अवधिमा नियमित मुनाफाबाट सेयरधनीलाई उचित लाभांश दिइरहेको छ कि छैन र तीन–तीन महिनामा प्रकाशित हुने कम्पनीको वित्तीय विवरण राम्ररी अध्ययन गरी लगानी गर्ने सोच राख्नुहोस् । वित्तीय विवरण अध्ययन गर्दा तपाईंले अघिल्लो आवको सोही अवधिमा कम्पनीको कमाइ कति थियो र यस वर्ष उक्त कमाई कति प्रतिशतले बढेको छ या घटेको छ, खर्च तथा कर्जा प्रवाहको अवस्था के–कस्तो छ अनि सञ्चित मुनाफा के–कति छ, सोको अध्ययन गरेर उक्त कम्पनीको सेयर किन्ने सोच गर्नुहोस् ।
नेपालको सेयर बजार अन्य देशको तुलनामा सानो छ, यहाँ अधिकांश सेयर बजार बैंक तथा वित्त कम्पनी छन् । उत्पादनमूलक क्षेत्रका कम्पनीहरू ज्यादै थोरै छन्, त्यसैले यस्तोे सानो बजारबाट पनि उचित किसिमको फाइदा लिन सकिन्छ, जसका लागि साना–साना सूचनाहरूको अध्ययन गर्नु जरुरी हुन्छ । आफूले चाहना राखेको कम्पनीका बारेमा जानकारी लिइरहने र दिनहुँ पत्रपत्रिका आउने समाचारलाई हेरिरहने र पढ्ने बानी बसाल्ने गर्दा पनि हाम्रो लगानीलाई सुरक्षित गर्न सकिन्छ । यतिले मात्र तपाईंलाई सूचना लिने–दिनेमा कमी महसुस भए सेयर बजारसम्बन्धी तालिम दिने विभिन्न संघसंस्था रहेका हुन्छन्, त्यस्ता तालिमको सहायताले पनि आफूलाई अझ बढी सहयोग पुग्न सक्छ र आजभोलि जुन किसिमले बजारमा हल्ला फिँजाइएको छ कि फलानो बैंक फलानोले किन्ने, मर्ज गर्ने भनेर हल्लाको पछि नलाग्न सम्पूर्ण लगानीकर्ताहरूमा अनुरोध छ ।