घोराही उपमहानगरद्वारा ११ किमि सडक कालोपत्रे «

घोराही उपमहानगरद्वारा ११ किमि सडक कालोपत्रे

दाङ-घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष ०७५-७६ मा ९१ प्रतिशत प्रगति भएको जनाएको छ । उपमहानगरले एक कार्यक्रम गरी वार्षिक समीक्षाका बारेमा जानकारी गराएको हो ।
आव ०७५-७६ मा भए गरेका कामको प्रगति सार्वजनिक गर्दै चालू र पुँजीगत गरी ९०.६६ प्रतिशत काम भएको जनाएको हो । कुल १ अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये १ अर्ब ३५ करोड ३२ लाख १ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको सूचना अधिकृत भीमबहादुर चौधरीले बताए । विकासतर्फ ५७ करोड ६८ लाख ९८ हजार रुपैयाँ विनियोजन भएकोमा ५० करोड ५६ लाख ८२ हजार २ रुपैयाँ खर्च हुँदा  ८६.७७ प्रतिशत प्रगति भएको छ । त्यस्तै चालूतर्फ ९१ करोड ५७ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा ८५ करोड २६ लाख ३३ हजार १ सय ८२ रुपैयाँ अर्थात् ९३.१० प्रतिशत खर्च भएको सूचना अधिकारी चौधरीले बताए ।
गत आवमा नगरले ११ किमि सडक कालोपत्रे, ४९ किमि सडक ग्राभेल, २२ किमि कच्ची सडक, पक्की कल्भर्ट १ सय ५० वटा बनाएको, १४ वटा बोरिङ खनेको र ४६ स्थानमा ग्याबिन जाली लगाएको जनाएको छ । त्यसैगरी, कुवा तथा ट्यांकी ७१ वटा निर्माण, विभिन्न भवन तथा शौचालय गरी ४० वटा निर्माण, १४ किमिमा विद्युत् विस्तार, १४ हेक्टरमा वक्षारोपण, २६ वटा खेल मैदान र ५ वटा कृत्रिम जलाशय निर्माण भएको नगरले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।

कृत्रिम जलाशय निर्माण
त्यसैगरी ४ सय १७ वटा भूकम्प प्रतिरोधी घर निर्माण, १ सय ४७ वटा घर अभिलेखीकरणमा आएको र ४१ वटा साधारण घर बनेको उल्लेख छ । त्यसैगरी नगरका विभिन्न वडामा ५ वटा कृत्रिम जलाशय निर्माण गरेको छ । उपमहानगरले प्रत्येक वडामा कृत्रिम जलाशय निर्माणको अभियान नै थालेको छ । नगरका अधिकांश वडामा कृत्रिम जलाशय निर्माण भइसकेका छन् । जलाशय निर्माणसँगै कृषकले प्रत्यक्ष फाइदासमेत लिएको नगरपालिकाले दाबी गरेको छ । खेतीका लागि कृषकले त्यो जलाशयबाट पानी लैजानेसमेत गरेका छन् भने अर्कोतिर नगरमा हरियाली समेत बढेको नगरपाललिकाले जनाएको छ । उपमहानगरले जलाधर संरक्षणका लागि १ करोड ८५ लाख बजेट विनियोजन गरेको थियो ।
१४ किमि विद्युत् विस्तार
त्यसैगरी उपमहानगरले गत आवमा १४ किमि विद्युत् विस्तारसमेत गरेको छ । विशेष गरेर उपमहानगरको अन्य वडाभन्दा १९ नम्बर वडाको सैघामा अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । विद्युत् अभावमा त्यस वडाका नागरिक अझै पनि टुक्की बाल्ने गरेका छन् । विद्युत् विस्तार हुन नसक्दा रातको समयमा घोराही बजार क्षेत्रको उज्यालो हेरेर चित्त बुझाउने गरेका छन् । उपमहानगरले ऊर्जातर्फ ४३ लाख ४५ हजार बजेट विनियोजन गरेको थियो । उपमहनगरका अुनसार नगर क्षेत्रका ८५.९१ प्रतिशतमा खानेपानी सेवा, ९५.२९ प्रतिशतमा विद्युत् विस्तार भइसकेको छ । उपमहानगरमा ३५ हजार ६ सय ४७ घरधुरी छ । उपमहानगरको जम्मा जनसंख्या १ लाख ५२ हजार ७ सय ६६ छ ।

१९ करोड राजस्व संकलन

त्यसैगरेर उपमहानगरले लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको दाबी गरेको छ । १९ करोड राजस्व संकलन गर्ने लक्ष्य भएकोमा नगरले २१ करोड २४ लाख ९६ हजार १ सय ३० रुपैयाँ राजस्व संकलन गरेको छ । आव ०७४-०७५ मा उपमहानगरले ६ करोड ६४ लाख ८ हजार २ सय ७८ रुपैयाँ संकलन गरेको थियो । साथै गत आवमा उपमहानगरको न्यायिक समितिले २ सय ६ वटा उजुरीमा ८० वटा मिलापत्र गराएको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षबाट सरेको मध्य १८ विबादलाई निरुपण गरेको जनाएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले नगरको समृद्धि गर्दै जनतालाई सहजरूपमा सेवा प्रवाहमा उपमहानगरपालिकाको ध्यान दिएको बताए । त्यस्तै नगरप्रमुख चौधरीले जनतालाई नगरप्रति जिम्मेवार बनाउनका लागि उपमहानगरपालिकाले जनतासँग कर लिने गरेको भन्दै जनताको करलाई जनता कै हितमा लगाउने गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्