रोगनाशक विषादीहरू, सूत्रीकरण र नीतिगत व्यवस्था «

रोगनाशक विषादीहरू, सूत्रीकरण र नीतिगत व्यवस्था

पर्यावरणीय कृषिका फाँटमा तीनै तहका सरकार प्राथमिकताका साथ अगाडि बढ्नुले विषादीको न्यूनीकरणमा सकारात्मक परिणाम आउने देखिन्छ ।

बालीबिरुवामा नाना थरीका रोगहरू लाग्छन्, तीमध्ये ढुसीजन्य रोगहरू अग्रस्थानमा पर्छन् । यिनले बीउ, जरा, बोट तथा अन्यभागहरूमा रही क्षति गर्छन् । ढुसीका कारणब अनेकन बाली रोग जस्तै माइल्डयुज, सिन्दुरे, पातमा लाग्ने थोप्ले, डढुवा तथा बीउबिजन र जरा कुहिने रोग हुन सक्ने हुन्छ । यिनको व्यवस्थापनका लागि एकीकृत रोकथाम विधिका साथसाथै ढुसीनाशक विषादीको प्रयोग गरिन्छ । कृषकहरूमा प्रायः सोच के छ भने यी पदार्थहरू रोगव्याधिका लागि रामवाण हुन भन्ने सोच छ, तर धेरैजसो प्रचलित विषादीले बालीमा रक्षकका रूपमा कार्य र्गछन् । यस प्रकारका ढुसीनाशकलाई रोग लाग्नुअगाडि प्रयोग गर्नुपर्छ र रोग बढ्दै गए ढुसीनाशक बराबर छर्किनुपर्छ, जसबाट नयाँ पात तथा हाँगाहरूलाई संरक्षण गर्न सकिन्छ । बजारमा अनेकन प्रकारका ढुसीनाशक विषादीहरू पाइन्छन् । यस्ता सामग्रीहरूले प्रयोग गर्नुपूर्व यिनको जानकारी हुनु जरुरी देखिएकाले पाठकवर्गमा राख्ने जमर्को गरेको छु ।
बढी प्रचलनका ढुसीनाशकहरूमा खासगरी तामायुक्त ढुसीनाशक (बोरडोक्स मिश्रण, कपर अक्सिक्लोराइड) पर्छन्, जसलाई अमिलो जातको फलफूलमा हुने खुम्चेको पात र तरकारीमा लाग्ने डढेलो रोगको विरुद्ध प्रयोग गरिन्छ । कागे रोग, पातमा लाग्ने थोप्ले रोग र तरकारीहरूमा लाग्ने डढेलो रोगका लागि डिथियोकार्बामेट्सजस्ता ढुसीनाशक (मेन्कोजेव) उपयोगमा आउँछन् । त्यसैगरी स्याउमा लाग्ने धुलेढुसी, तरकारीमा लाग्ने ढुसी, सिन्दुरे रोग, गहुँमा लाग्ने ढुसी र बीउबिजन उपचारका लागि बेन्जिमिडाजोल, ढुसीनाशक (कार्बेन्डाजिम, बेनोमिल) उपयोग गरीन्छ ।
त्यसैगरी झारपातनाशक विषादीलाई हर्विसाइड भनिन्छ । यिनलाई बाली रोप्नु वा उम्रनुअगाडि वा बाली लागेको बखत उम्रेका झारपात मार्ने प्रयोजनका लागि प्रयोग गरिन्छ । बालीको रोपाइँ गरेको तुरुन्तै पछि प्रयोग गर्न सकिने झारपातहरूमा मकै र भटमासका लागि अलाक्लोर, धानका लागि बुटाक्लोर र २–४ डी विषादीहरू हुन् । सडकहरू, गोरेटा, गल्लीहरू, भवनहरूका वरपर र चिया बगानमा त्यसै उम्रेका झारपात वनस्पतिलाई पनि मार्न झारपातनाशक विष प्रयोग गर्न सकिन्छ । यस्ता झारनाशक विषहरूमा ग्लाइफोसेट र पाराक्बाट आउँछन् ।
मुसानाशक विषादीको पनि उत्तिकै जानकारी हुनु आवश्यक छ । मुसालाई नियन्त्रण गर्ने विषादी साधारणतया चाराका रूपमा उपलव्ध हुने गर्छन्, जसलाई खाने बढी सम्भावना भएका ठाउँहरूमा राखिन्छ । मुसानाशक विषलाई खाद्य पदार्थ र अन्न बिक्री गर्ने स्टोर, घर, पसल र हुर्केका बालीहरूलाई मुसाले बढी आाक्रमण गर्ने खेतहरूमा धेरैजसो प्रयोग गरिन्छ । पसल र घरमा धेरैजसो प्रयोग गरिने मुसानाशक रगत नजम्ने खालका हुन्छन् उदाहरणका लागि ब्रोमाडियोलोन । यस प्रकारको मुसानाशक विषले रगतलाई जम्न दिंदैन, जसको परिणामस्वरूप आन्तरिक रक्तस्राव भई मुसा मर्छ । सामान्यतया यस प्रक्रियामा कैयन् दिन लाग्छ र मुसाले एकभन्दा बढी खुराक विष सेवन गरेको हुनुपर्छ । खेतबारीमा लागेका मुसाहरू मार्न सेल्फोस (एलुमिनियम फस्फाइड) ट्याबलेटहरू पनि प्रयोग गर्न सकिन्छ । यस मुसानाशक विषादीबाट फोसफिन नामक विषालु ग्यास उत्पन्न हुन्छ । ट्याबलेटहरूलाई मुसाको दुलोहरूमा खसाली त्यसको निकासको बाटो छेकिदिनुपर्छ, जसले गर्दा ग्यासको प्रभावबाट मुसा उम्कन नपाई मर्छ । खेत तथा घर, पसलमा जिंक फस्फाइडको धूलो प्रयोग गरी विषालु चरा तयार पारेर पनि मुसा नियन्त्रण कार्य गरिन्छ ।

विषादीको सूत्रीकरण

लक्षित उपयोगका लागि बिक्री हुने सबै जीवनाशक विषादी उत्पादनहरूमा तीन अंगहरू हुन्छन्, सक्रिय अंश, सहायक अंश र तनुकारक अंश । सक्रिय अंश त्यो अंग हो जो कीरा, रोग वा झारपात नियन्त्रण गर्ने काममा सक्रिय रहन्छ । धेरैजसो अवस्थामा यस सक्रिय अंशलाई सोझै उपयोग गर्नु उपयुक्त हँुदैन । त्यसकारण यसलाई विष सामग्रीमा सूत्रित गरिन्छ, जसलाई मिश्रण गरेर कृषकहरूले प्रयोग गर्न सक्दछन् ।
उपयुक्त प्रयोजनार्थ विषादी सूत्रबद्ध गर्नेहरूले सक्रिय अंशमा विभिन्न सहायक तत्वहरू मिसाउँछन् । जसबाट यो सामग्री पानीमा राम्ररी घुलनसिल हुन सकोस्, बोटबिरुवामा फैलिन जाओस् र अन्यत्र निष्काषित नहोस् । यसमा तनुकारक पनि मिलाइन्छ जसले गर्दा विष सामग्री माप गर्दा, सञ्चालन गर्दा बढी सुरक्षित र सजिलो हुन्छ । जीवनाशक विष सामग्री बनाउने कम्पनीहरूले एकै प्रकारको सक्रिय अंश फरक खालका सहायक सामग्रीहरू र तनुकारक मिसाई वेग्ला बेग्लै प्रयोजनका लागि बेग्ला बेग्लै किसिमका विष सामग्रीहरू बनाउँछन् । यसको अर्थ हो कि एकै प्रकारको सक्रिय अंश उपयोग गरी बनाइएको बेग्लाबेग्लै किसिमका विष पदार्थहरू बजारमा उपलब्ध हुन सक्छ र बेग्लाबेग्लै व्यापारिक नामहरू दिई बिक्री गरिएको हुन्छ । उदाहरणस्वरुप ः मेटासिड ५० इसी, धनुमार ५० इसी, नेप्सिल मेटासिड, साबिडोल ५० ईसी व्यापारिक नामहरू भएको सबै विष पदार्थहरूमा पाराथियन मिथाइल सक्रिय अंश रहेको हुन्छ । कृषक तथा वास्तविक प्रयोगकर्ताहरूले जीवनाशक विष पदार्थबारेमा चर्चा गर्दा तिनीहरूले साधारणतया व्यापारिक नाम (जस्तो कि मेटासिड) लिने गर्छन् । तर, वैज्ञानिक पत्रपत्रिकामा जीवनाशक विषादीसम्बन्धी सूचना दिँदा सक्रिय अंशको प्रचलित नाम पाराथियन मेथिल उल्लेख गरिएको हुन्छ । उपयुक्त कारणले गर्दा कुनै पनि सक्रिय अंशको प्रचलित नाम र व्यापरिक नामको बीचमा भएको फरक र तपाईंले सञ्चालन गर्ने वा प्रयोग गर्ने सूत्रित विष पदार्थमा कुन सक्रिय अंश विद्यमान छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । निर्माण गरिने प्रक्रिया र वास्तविक प्रयोगकर्ताको आवश्यकताहरूमा निर्भर हुने गरी जीवनाशक विष पदार्थ विभिन्न प्रकारले सूत्रीकरण गर्न सकिन्छ । विष पदार्थलाई तरल झोल, पाउडर, धूलो, गेडा, चारा वा अन्य धेरै रूपमा बनाउन सकिन्छ र यिनीहरू मुख्यतया प्रयोगकर्ता र वातावरणलाई पुग्न सक्ने खतरा, उपचार गरिने बोटबिरुवाको सुरक्षण, लागत र प्रभावकारिता आदिका दृष्टिकोणले फरक–फरक रूपमा फर्मुलेसन गरिएको हुन्छ ।
कुनै कुनै विषादी झोल, तरल रूपमा सविन्यास गरिएको हुन्छ, जुन दुधिलोसार वा इसी विषादीको नाममा प्रचलित छन् । यी पदार्थहरूको बनाउँदा पानीमा घुलनशील तेल, मटीतेल, पाराफिन (मैनबत्ती इत्यादि बनाउने बोसो जस्तो पदार्थ) मा सारतत्व घोली र विशेष प्रकारको तेल पानीको घोल पनि मिसाइएको हुन्छ, जसबाट सविन्यास सजिलैसँग पानीमा घुल्न जान्छ । दुधिलो सारलाई पानीमा मिसाएपछि सामान्यतया दुधिलो सेतो रंग हुन आउँछ । दुधिलो सार अन्य प्रकारको सविन्यासको तुलनामा सञ्चालन, परिवहन, सञ्चय र खेतमा प्रयोग गर्न निकै सजिलो हुन्छ । यस सविन्यासलाई स्प्रेट्यांकीमा पानीसँग मिसाउन धेरै हल्लाउनु पर्दैन, उपकरणलाई खियाउँदैन र स्प्रेनोजल तथा फिल्टर टालिंदैन । यो सविन्यास आगोमा तत्काल ज्यादै बल्न सक्ने प्रकृतिको भएको कारणबाट शितल ठाउँमा भण्डरण गर्नुपर्छ । पाउडर वा धूलोको तुलनामा यो सविन्यास महँगो पर्छ, तर दुधिलो सार विष पदार्थको ठूलो अवगुण मानव र जनावरको छालाबाट सजिलै सोसिन जाने भएकाले पानीमा मिसिन सक्ने धुलो (डब्लूपी) को तुलनामा झोल रुपमा उपलब्ध विषादी प्रयोगकर्ताका निम्ति अलि खतरापूर्ण हुन जान्छ ।
कुनै कुनै विषादी पानीमा मिसाउने पाउडरका रूपमा हुन्छन् र जसलाई, डब्लूपी विषादी भनिन्छ । पानीमा मिसिने पाउडरलाई अति मसिनो धुलोमा विशेष पदार्थ थपेर स्प्रे ट्यांकको पानीमा तैरने बनाइएको हुन्छ । अन्य संयोजनभन्दा यो सस्तो हुने र भण्डार तथा ढुवानी गर्न सजिलो र बालीलाई दुधिलो सारले भन्दा कम हानि पु-याउने हुन्छ । दुधिलो सार भन्दा कम मात्रामा छालामा सोसिन जाने, तर धुलोलाई मिसाउँदा वा स्प्रेट्यांकमा हाल्दा श्वास लिँदा खतरापूर्ण हुन सक्छ । डब्लूपीको अन्य बेफाइदाहरूमा यसलाई बेला–बेलामा चलाइरहनुपर्ने नत्र ट्यांकको पीँधमा जम्मा हुने, स्प्रेनोजल तथा फिल्टरलाई बन्द गर्ने र खस्रोपनाको कारण नोजल र पम्पलाई खियाउन सक्छ । तर, धूलो (डिपी) साधारणतया धूलो सविन्यास (वा धूलो पाउडर) प्रयोग गर्न सकिने तयारीका रूपमा बिक्री गरिन्छ । यस सविन्यासमा कम मात्रामा सार तत्वलाई अभ्रक, माटो र अन्य तनुकारकसँग मिसाइएको हुन्छ । यो सविन्यास सुक्खा धुलो विष पदार्थ भएकाले प्रयोगका लागि पुनः मिसावट गर्नु आवश्यक पर्दैन, सञ्चालन गर्न र प्रयोग गर्न सजिलो हुन्छ, तर यसको अवगुणमा हावा, पानीबाट सजिलैसँग अन्यत्र उडेर वा बगेर जान सक्ने भएकाले गैर लक्षित क्षेत्रलाई दूषित पार्न सक्छ । यस प्रकारको सविन्यासले प्रयोगकर्ता, वातावरण र मौरीलाई बढी असर पु-याउँछ ।
अन्य सविन्यासहरू नेपालमा माथि वर्णन गरिएका तीन प्रमुख प्रकारका सविन्यासहरू प्रयोग गरिन्छन् । यसका साथै जीवनाशक विष पदार्थ दाना (जीआर), धुवाँइने र ग्यास उत्पादन गर्ने पदार्थ (जीई) घुलनशील सार (एसएल) र नघोली प्रयोग गर्न सकिने अन्य प्रकारको तरल पदार्थका रूपमा पनि बिक्री र प्रयोग गरिन्छ । त्यसैगरी हाल आएर अन्तर्राष्ट्रिय क्षेत्रमा नयँ नयँ सविन्यासहरूको विकास भइरहेको छ । ती नयाँ खालका सविन्यासहरू प्रयोगकर्ता, प्रयोग गरिने बाली, प्राकृतिक शत्रुहरू र वातावरणको लागि अत्यन्तै सुरक्षित मानिन्छन् । ती नयाँ खालका सविन्यासहरूमा मुख्यतया पानीमा घोलिने पाउडर, पानीमा घोलिने झोल, पानीमा घोलिने दाना, पानीमा मिसिने दाना, दाना, पानीमा मिसिने पाउडर, झोल र चाराजस्ता पदार्थहरू पर्छन ।

नीतिगत व्यवस्था

रासायनिक विषादीको न्यायोचित प्रयोगका सन्दर्भमा नेपाल सरकारले विगतदेखि नै प्राविधक क्षमता र स्रोतसाधनअनुसार समुचित व्यवस्थापनका पहलहरू गर्दै आइरहेको छ । जीवनाशक विषादी ऐन, २०४८ को परिधिभित्र रही आयात इजाजत, दर्ता, भण्डारण, बिक्री, प्रयोगका बारेमा सरकारले नियमन गरिरहेको छ । यसका अतिरिक्त सरकारले सुरक्षित विषादीको जानकारीका सन्दर्भमा दर्जनौं कार्यक्रम अगाडि सार्नुका साथै प्राविधिक तथा कृषकहरूको क्षमता अभिवृद्धि गर्दै आइरहेको छ । विषादीको परीक्षणलगायत नियमनका कार्यक्रम अगाडि सारेको छ । बिरुवा स्वच्छता प्रमाणपत्रका आधारमा प्लान्ट क्वारेन्टाइन कार्यक्रमहरूले बिरुवाको पैठारी र निर्यात कार्य अगाडि बढाइरहेका छन् । नेपाल विश्व व्यापार संगठनको पक्षराष्ट्र भएकाले यसले विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप र अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूअनुरूप रासायनिक विषादीहरूको आयात, दर्ता, दर्ता खारेजी, ढुवानी, भण्डारण, प्रयोग, दण्ड, जरिवाना, प्रतिबन्ध गर्ने तथा सुरक्षित विसर्जन, बाली–बिरुवामा विषादी प्रयोग गरेपछि पर्खनुपर्ने समय आदिको पूर्ण परिपालना गर्दै आइरहेकोे छ । नेपालले २१ वटा विषादीमा प्रतिबन्ध लगाइसकेको र सुरक्षित एवं घरायसी विषादीहरूको प्रवद्र्धन गरिरहेको छ, जसको फलस्वरूप गच्छेअनुसार प्रयोग पनि भइरहेको छ । जनस्वास्थ्यलाई ख्याल गर्दै देशका मौलिक प्रकृतिका बालिहरूको प्रांगारिक कृषिमा जोड दिएको छ । पर्यावरणीय कृषिका फाँटमा तीनै तहका सरकार प्राथमिकताका साथ अगाडि बढ्नुले विषादीको न्यूनीकरणमा सकारात्मक परिणाम आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्