प्रधानन्यायाधीशको नियुक्ति नै बदर गर्न केसीको माग

डा. गोविन्द केसीले विचाराधिन मुद्दामा चलखेल गर्नसक्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् । पराजुलीको राजीनामा माग गर्दै यसअघि अनसन नै बसेका केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो पुरानै माग दोहोर्याएका हुन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको माग गर्दैप्रधानन्यायाधीश पराजुलीलाई विपक्षी बनाई केसीले दायरगरेको रिट सर्वोच्चमा अहिले विचाराधिन अवस्थामा छ । पत्रकार सम्मेलनमा केसीले सर्वोच्च अदालतले दिएको कागजात र विभिन्न सञ्चार माध्यमहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलग अलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको दाबी गरे । “विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी अनुचित चलखेल गरी रहेको र अहिले पनि विवादास्पद कार्यहरु गरी रहेको हुनाले प्रधान न्यायाधीश गोपाल पराजुलीले तत्काल राजीनामा दिनु पर्दछ,” केसीको माग छ, “प्रधान न्यायाधीश गोपाल पराजुलीले दूषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपीहरु, शैक्षिक प्रमाणपत्रहरु तथा तीनका आधारमा भएका नियुक्ति बदर गरी उहाँलाई कानुनी कारवाही गरियोस् ।”
तनहुँबाट नागरिकता लिएका पराजुलीले क्षेत्रधिकार नै नभएको काठमाडौं जिल्ला प्रशासनबाट प्रतिलिपि लिने क्रममा जन्ममिति सच्याउनु गैरकानुनी भएकोे उनको भनाइ छ । पराजुलीले नै आफूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न रोकेको भन्दै उनले तत्काल दर्ता गर्न पनि माग गरेका छन् । त्यस्तै उनले पत्रकार सम्मेलनमा पराजुलीले आफ्ना पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई दिएको भनिएको ज्यानमार्ने धम्कीबारे कलरेकर्ड झिाएर थप अनुसन्धान गर्न माग पनि गरेका छन् ।
डा. केसी प्रधानन्यायाधीशले न्यायको किनबेच गरेको भन्दै उनको राजीनामाको मागसहित गत पुसको अन्तिम साता अनसन बसेका थिए । सर्वोच्चले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीनमा डा. शशी शर्मालाई पुनर्वहालीको आदेश दिएसँगै डा.केसी अनसन बसेका थिए ।