सर्लाही घटनाबारे कांग्रेस र नेकपाका अडान यथावत «

सर्लाही घटनाबारे कांग्रेस र नेकपाका अडान यथावत

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठन्डा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने, “हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौं । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं ।”
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले सदन खोल्नको लागि वार्ता गर्नुपर्ने धारणा राखे । उनले भने,“संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।” उनले सर्लाहीका तीन वटा घट्नालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको बताए ।
साक्षात्कारमा उनले भने, “असार ५ गते घट्नाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घट्नामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भइसकेको छ । अब केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छ ।”
मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाइ छ । उनले भने,“त्यस्तो अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्नु कत्तिको उपर्युक्त हुन्छ ? लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा र विधिको शासनको लेन्सबाट हेर्दा यो गलत छ ।”
संसदीय छानबिन समिति बनाउने नीतिगत कुरा भएको र मानवअधिकार आयोगले गर्ने छानबिन न्यायिक हुने पनि उनले तर्क गरे । संसद यति लामो समयसम्म अवरुद्ध गर्दा कतै कांग्रेसले अहिलेको व्यवस्थालाई नै समाप्त पार्न खोजेको त होइन ? भनेर पनि प्रश्नचिन्ह उब्जिएको गुरुङको भनाइ छ । उनले भने,“सभामुखज्यूले पनि संसदको क्षेत्राधिकारको कुरा गर्नुभएको छ।” उनले बरु, ती घट्नाको सवालमा ४ दलबीच वार्ता टोली बनाएर छलफल तथा वार्ता गर्नुपर्नेपनि सुझाए । उनले भने,“तर, सदन सुचारु राख्नुपर्छ । सदनलाई डेडलक राख्दा हामीलाई दुःख लागेको छ । अहिलेपनि संसदमा छलफल गर्नुपर्ने १२÷१५ वटा एजेण्डा छन् ।”
काइक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरूले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी छिन् । उनले भनिन्,“हामीले उठाएका कुराहरू सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।” उनले आफूहरू हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् ।
भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरू त्यसको विरोधमा उत्रिने बताइन् । उनले भनिन्,“हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं । संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौं । यी सबै विषयहरू उठाउने महत्वपूर्ण थलो भनेको नै संसद हो । त्यही भएर हामीले यी विषयहरू उठाइरहेका छौं ।”
सर्लाहीमा असार ५ गते घटेको कुमार पौडेल हत्या प्रकरणको बारेमा आफूहरू संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर माग गरिरहेको पनि उनले सुनाइन् । उनले भने,“यो घट्नामा मानवअधिकारको उल्लघंन भएको छ । यो घट्नामा संसदीय समिति गठन गर्नुपर्छ । यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।” त्यस्तै, असार १४ र असार १५ गते भएका अन्य दुइ घट्नाको सवालमा पनि संसदीय समिति गठन गर्नुपर्ने आफूहरूको माग रहेको भुषालले सुनाइन् । राज्यले इनकाउन्टरको नाममा नागरिकको हत्या गरेको पनि उनको आरोप छ ।
उक्त घट्नाको बारेमा सदनमा मात्रै होइन सडकमा पनि आवाज उठिसकेको पनि उनले बताइन् । उनले भनिन्,“यतिका धेरै आवाज र प्रश्नहरू उठिसकेपछि सरकारले सदनलाई जवाफ दिनुपर्छ । शान्तिपूर्ण तवरले आन्दोलन गर्दा पनि गोली चलाईएको छ । यो गलत भयो । गैरन्यायिक काम भएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।” छानबिन समिति बनाउनको लागि सरकार किन तयार नभएको भन्दै उनले प्रश्नसमेत तेस्र्याइन् ।
उनले सर्लाहीका तीन वटै घट्नामा सरकारले चालेको कदम ठिक छ भन्ने लागेको छ भनेपनि त्यो कुरा संसदमा आएर ठिक हो भनेर भन्नुपर्ने आफूहरूको भनाइ रहेको सुनाइन् । उनले भनिन्,“संसदीय समिति भनेको न्यायिक समिति होइन, त्यसैले राज्य डराउनुहुँदैन् । संसदमा उठेका विषयमा छलफल हुनुपर्छ । इगोको कारण इस्यु बनाउनुहुँदैन् ।” उनले भोलि बस्ने बैठक सुचारु गराउनको लागि आफूहरू तयार रहेको सुनाइन् । तर, संसद चल्ने वा नचल्ने भन्ने कुरा सत्तापक्षमा भर पर्ने पनि जिकिर गरिन् ।
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिएका छन् । उनले भने,“संसव अवरोध गर्ने हाम्रो इच्छा होइन । हामीले यो चाहेको छैन् ।”
कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारप्रति कडा आपत्ति जनाए । उनले भने,“सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन् । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन् । यो त निकृष्ट काम हो ।”
संसदको रोष्ट्रमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेकोमा कर्णले गुनासो पोखे । उनले भने,“६ महिना भइसक्यो, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन् । सरकारले सभामुख र संसदको मर्यादामाथि खेलबाड गर्न मिल्दैन् । बाध्य भएर हामी विरोधमा उत्रिएका हौं ।”
कर्णले सर्लाहीमा गैरन्यायिक हत्या भएकोले आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे । उनले भने,“अवैध धन्धा चलाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने अनि त्यही खाल्डोमा पुरिएर बालकको ज्यान गएको छ । यो त मानवअधिकारको गम्भिर उल्लंघन हो ।” उनले सर्लाहीमा भएका दुइवटै घट्ना गैरन्यायिक हत्या भएको टिप्पणी गरे । उनले भने,“यी दुवै घट्नामा मानवअधिकार उल्लंघन भएको छ । त्यही भएर हामीले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।” संसदीय इतिहासमा पहिलोपटक संसदीय समिति गठन नभएको सुनाउँदै अब समिति बनाउँदा के को ? आपत्ति भयो ? भन्दै उनले प्रश्न गरे ।
समिति गठन गर्दा गैरन्यायिक हत्यामा सरकार संलग्न भएको कुरा सबैले थाहा पाउँछन् र आफू उदांगो भइन्छ भन्ने डरले समिति गठन गर्न सत्तापक्षले नमानेको पनि कर्णको गम्भिर आरोप छ । उनले भने, “सत्तापक्षले समिति गठन गर्नेलगायतका हाम्रा मागका बारेमा एस नभनेसम्म हामी रोष्ट्रमबाट फकर्न बाटो छैन् ।” आफूहरूले उठाएको माग म्याम्सिमम माग नभएको बरु मिनिमम माग रहेको उनको भनाइ छ ।
सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अडगरियाले कांग्रेस र राजपाले अविलम्ब वार्तामार्फत सहमति गरेर संसद सुचारु गर्नुपर्ने बताएका छन् । उनले भने,“देश अहिले राष्ट्रिय विपतिको बेला हो । मुलुकमा बाढि, पहिरो र डुबानबाट ठूलो क्षति भएको छ । यस्तो अवस्थामा संसद अवरुद्ध गर्नु राम्रो कुरा होइन् ।”

 

प्रतिक्रिया दिनुहोस्