पत्रकार युवराज घिमिरे र शिव गाउँले पुरस्कृत «

पत्रकार युवराज घिमिरे र शिव गाउँले पुरस्कृत

वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । चेतना संरक्षण प्रतिष्ठान नेपालले पत्रकार घिमिरेलाई नगद ५१ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । यसैगरी, प्रतिष्ठानले सामाजिक सेवा पुरस्कारबाट विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीसहित एक दर्जन स्रष्टालाई सम्मानित गरेको छ ।
प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले पुरस्कार वितरण गर्दै चेतना र विवेकलाई सँगै लगेमा मुलुकमा समृद्धि कायम हुने बताए । उनले सम्मानित व्यक्तिहरुले आफ्नो सम्मान कायम राखी राष्ट्रको कला, संस्कृति र भाषाको विकासकार्य लाग्नुपर्नेमा जोड दिए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अंग्र्रेजी भाषाको मोहको कारण नेपाली भाषा सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले नयाँपुस्तालाई भाषा र साहित्य उत्थानमा दिशानिर्देशन दिनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार भाषा, साहित्य र कलाको संरक्षणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदनको आधारमा स्व बालकृष्ण पोखरेलका नाममा १ लाखको पुरस्कार स्थापना गरी वितरण गरेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानित पत्रकार युवराज घिमिरेले चेतनाको विकास बृहत राष्ट्रका लागि हुनुपर्नेमा जोड दिए ।

गाउँलेलाई टंकप्रसाद–रमादेवी पुरस्कार
यसैबीच, टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासंका पूर्वअध्यक्ष शिव गाउँले पुरस्कृत भएका छन् । टंक–सरिता फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गरे । गाउँलेलाई भ्रष्टाचारविरुद्धको समाचार लेखेवापत २ हजार अमेरिकी डलर राशि पुरस्कार प्रदान गरिएको हो । यसैगरी टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५ वरिष्ठ पत्रकार चन्द्र भण्डारी र देवीका घर्तीमगरलाई प्रदान गरिएको छ । उनलाई पाँच सय डलर नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । सोही अवसरमा १ हजार डलर राशि रहेको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०७५’ वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई प्रदान गरिएको छ ।
नेता नेपालले मुलुकको आर्थिक विकासमा तीव्रता दिनका लागि भ्रष्टाचार बाधक रहेको भन्दै भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्ने बताए । यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारले मुलुकमा जरो गाडेकोले उखेल्नुपर्ने बताए । पत्रकार गाउँलेले भ्रष्टाचारविरुद्ध पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले भ्रष्टाचार विरोध कार्य नगर्ने पत्रकार हुन नसक्ने भन्दैै पत्रकारले जनतालाई सुसूचित पारेर भ्रष्टाचार नियन्त्रण गरिरहेको बताए । कार्यक्रममा जनवादी गायक टुहुरेले मुलुकमा मौलाएको भ्रष्टाचार रोक्न सबै लाग्नुपर्ने बताए । फाउण्डेसनका संरक्षक हेम पाठकले भ्रष्टाचार विरोध अभियानलाई सहयोग पु¥याउन पुरस्कार प्रदान गर्न आफूहरुले थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्