मनाङका कैदीबन्दीलाई छाक टार्नै धौ–धौ «

मनाङका कैदीबन्दीलाई छाक टार्नै धौ–धौ

मनाङ कारागारका कैदी बन्दीहरूले छाक टार्नै मुश्किल भएको बताएका छन् । दुर्गम जिल्लामा बडदो महंगीका कारण सरकारले दिएको दैनिक ६० रुपैयाँमा गुजारा चलाउन निकै मुष्किल भएको कैदीबन्दीहरूले गुनासो गरेका हुन् ।
मनाङस्थित जिल्ला कारागारमा सातजना कैदी बन्दी छन् । अदालतको फैसलापछि कारागार पुगेका कैदी बन्दीलाई सरकारले दैनिक ६० रुपैया र सातसय ग्राम चामल सिदा दिने गर्दछ । सरकारले दिएको चामाल र रकमले विहान बेलुकीकै छाक टार्न निकै कठिनाई भएको कैदीबन्दीले दुःखेसो पोखेका हुन् ।
सरकारले दैनिक सातसय ग्राम चामल र ६० रुपैया दिन्छ” बन्दी नाईके निमा लामाले भने, “चामल त पुग्छ, तर ६० रुपैयाले केहि पुग्दैन, मुष्किलले बाँचेका छौं ।” सरकारले दिएको ६० रुपैयाले दैनिक दाउरा देखि तरकारी, नुन तेल र मसला खरिद गर्नुपर्ने हुँदा रकम अति न्युन भएको उनिहरूको गुनासो छ । कारागार भित्र थोरै बन्दी भएकोले दैनिक व्यवस्थापन गर्न निकै कठिनाई भएको उनिहरूले बताएका छन् ।
“सरकारले दिएको रकमले दाउरा पनि पुग्दैन” अर्का बन्दी सोनाम लामाले भने “कतिपटक घरबाट खर्च मगाएर काम चलाएका छौँ, मिठो मसिनो र मासु भन्ने त सम्झीने मात्रै हो ।”
सामान्यतः मनाङ सदरमुकाम चामेमा दाउरा सानो भारीको नै प्रति भारी तिनसय रुपैया पर्छ । जवकी एकभारी दाउराले दुईछाक पकाउन मुष्किल पर्छ । अत्याधिक चिसो भएकोले खाना पकाउने देखि पानी तताउन सम्म दाउराको नै प्रयोग गर्नुपर्छ । आर्थिक अभावकै कारण चिसोको समयमा दाउरा बालेर न्यानो अनुभव कैदी बन्दीले कल्पना सम्म गर्न पाएका छैनन् । “खाना पकाउने दाउरा पुग्दैन, पानी पनि नतताई पिउन सकिदैन” बन्दी नाईके लामाले भने “दाउरा बालेर आगो ताप्ने भन्ने त कल्पना बाहिरको कुरा हो ।” कैदी बन्दीले पानीचिसो भएकै कारण सरसफाई समेत गर्न नसकेको बताएका छन् ।
चिसो पानीले नुहाउन नसक्दा र समयमा नुहाई धुवाई गर्न नसक्दा धेरै पटक कैदी बन्दीहरू विरामी भएको पिडा सुनाए । उनीहरूले विरामी हुँदा समेत राम्रो उपचार पाउन नसकेको दुःखेसो पोखेका छन् ।
चामेमा हाल प्रायः तरकारी प्रतिकिलो एकसय ५० रुपैयाको हाराहारीमा पर्ने गर्दछ । हिमाली र दुर्गम जिल्ला भएकोले दाल, नुनतेल र मसला पनि त्यत्तीकै महँगो छ । सरकारले दिएको ६० रुपैयाले नुन तेल, मसला किन्न उनिहरूलाई निकै हम्मे भएको छ ।
कैदीबन्दीहरूले मासिक घरबाट खर्च मगाएर बाँचीरहेको बताए । “कहिलेकाहीँ घरबाट भेट्न आउछ, अनि अलिअलि खर्च छोडीदिन्छ” बन्दी सोनाम लामाले बताए । कतिपय बन्दीहरूले त कारागार भित्रबाटै ऋणको भारी बोकेर निष्किएको बताएका छन् ।
मनाङ हिमाली र दुर्गम जिल्ला भएकोले त्याहाँ पुगेका सवै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरूले विशेष दुर्गम भत्ता पाउने गरेका छन् । तर सरकारले ७७ जिल्लाकै कारागारका कैदी बन्दीहरूलाई समान रकम र रासन उपलब्ध गराउदै आएको छ । सरकारले कैदीबन्दीलाई दिएको रकम अतिनै न्युन हो । कारागारका कैदीबन्दीले अन्य कर्मचारी जस्तै मनाङका कैदी बन्दीका लागि पनि सरकारी सिदा बढाई दिए आँफुहरूलाई ठूलो राहात मिल्ने बताएका छन् । “हिमाली जिल्लामा सवैले दुर्गम भत्ता बुझछन्” नाईके लामाले भने “कैदी बन्दीलाई चाँहि त्यस्तो केही छैन, हाम्रो निम्ती पनि अलि अलि बढाईदिए धेरै सहज हुने थियो ।”
सिदा–चामलको सुविधा न्यून हुँदा कैदी–बन्दीलाई इन्धन, दाल, सब्जी लगायत व्यवस्थापन गर्न समस्या निकै समस्या भएको कारागार प्रशासनले पनि स्वीकार गरेको छ । कारागारका अनुसार कतिपय कैदी बन्दीले घरबाट खर्च मगाएर गुजारा चलाएका छन् भने कतिपयले कारागार भित्रैबाट ऋणको भारी बनाएका छन् ।
कारागारका बन्दी कैदीहरूले हालको व्यवस्था अनुसार पाइने खर्च र सिदाबाट दुई छाक खान नै समस्या भएपछि ऋण खोजेर पनि गुजारा चलाएको कारागार प्रमूख शैलेन्द्र कुमार चौधरीले बताए । कैदी बन्दीको खर्च व्यवस्थापनको लागी माथिबाट नै त्यहि दर रेट आएकोले आँफुहरूले केहि गर्न नसकेको चौधरीको भनाई छ ।
“सरकारी नीतिअनुसार जे आउछ त्यहिनै दिईरहेका छौँ” कारागार प्रमुख चौधरीले भने “उनिहरूको समस्या बुझेर पनि त्यो भन्दा बाहेक हामीले गर्न सक्ने केहि छैन ।” उनिहरूको समस्याको बारेमा माथिल्लो निकायमा पटक पटक जानकारी गराएपनि केहि प्रतिक्रिया नआएको कारागार प्रमूख चौधरीले बताए ।
कारागारभित्र रहेका अधिकांश थुनवाहरूले बाँसको मुढा बनाउने, सल्लाको काठबाट डाढु पनियो बनाउने र धागोबाट घोडा तथा खच्चडलाई प्रयोग गरीने डोरी बनाउने गरेका छन् । कारागार भित्र व्यवसायिक उत्पादन भएपनि बजार छैन । उनीहरूले उत्पादन गरेका सामाग्री विक्री वितरण भईदिए पनि छाक टार्न अलिक सहज हुने उनिहरूको अपेक्षा छ । मनाङजस्तो दुर्गम ठाउँमा ६० रुपैयाले गुजारा चलाउनु फलामको चिउरा चपाए जस्तै हो । १२ महिना जाडो हुने मनाङमा सरकारी पैसाले दाउरा मात्रै किन्न पनि नपुग्ने उनिहरू बताउँछन् ।
चिसोका कारण पाईपको पानी समेत जम्ने मनाङमा पानी तताउने इलेक्ट्रीकल उपकरण पाएपनि ठूलो राहत हुने उनिहरूको अपेक्षा छ । सो बाहेक विरामी भएका बेला औषधी उपचार, न्यानो कपडा, पिउने पानी देखि नुहाउन धुनका लागी तातोपानीको व्यवस्था भईदिए निकै सहज हुने उनिहरूले बताएका छन् । मनाङमा विशेष भत्ता तथा सेवा लिईरहेकाहरूलाई त महंगीको मार पर्दै आएको छ भने दैनिक ६० रुपैयाले गुजारा चलाउदै आएका कैदीबन्दीको अवस्था निकै दयनिय भएको सरोकारवालाहरूले बताएका छन् ।

सन्देश पौडेल-नेगम परियार

प्रतिक्रिया दिनुहोस्