राहदानीबाट मात्रै २ करोड राजस्व «

राहदानीबाट मात्रै २ करोड राजस्व

लमजुङमा राहदानी वितरणबाट मात्रै २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५-७६ मा २ करोड ३५ हजार २ सय ५० रुपैयाँ संकलन भएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ५ हजार ८० जनाले राहदानी लिएका हुन् । जिल्लाबाट ३ हजार ७ सय ९८ जनाले साधारण सिफारिसमा राहदानी दिएका छन् भने १ हजार २ सय ८२ जनाले द्रुतसेवामा राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी साउनमा मात्रै राहदानीबाट २५ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै गत असारमा सबैभन्दा कम १० लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
जिल्लामा राहदानी लिनेमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । जिल्लाबाट अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७४-७५ मा जिल्लाबाट ३ हजार ४ सय २४ जनाले साधारण सिफारिस र १ हजार ७ सय ६९ जनाले द्रुत सिफारिसमा राहदानी लिएका थिए । यस्तै आर्थिक वर्ष २०७३-७४ मा भने राहदानीबाट १ करोड ८१ लाख ७० हजार रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले गत आर्थिक वर्षम मात्रै २ करोड ९ लाख ८० हजार १ सय ७४ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले संस्था दर्ता वा नवीकरण, हातहतियार नामसारी वा नवीकरण, न्यायिक दण्ड जरीवाना, परीक्षा दस्तुर एवं बेरुजु असुलीलगायतका शीर्षकमा सो राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा संस्था दर्ताबाट ३ लाख ७३ हजार ६ सय ८१ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै हातहतियार नामसारी वा नवीकरणबाट ६८ हजार २ सय २५ रुपैयाँ, न्यायिक दण्ड जरिवाना तथा जफतबाट ४ लाख ५० हजार २ सय ५५ रुपैयाँ, बेरुजु असुलीबाट १० हजार र अन्य प्रशासनिक काम कारबाहीबाट ४२ हजार ७ सय ६३ रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ५५ वटा संस्था दर्ता भएका छन् । यस्तै २ सय ५५ नावालक परिचयपत्र, ५७ वटा ठाडो उजुरी, १ हजार चारवटा विविध सिफारिस, १ सय ५३ हातहतियार नवीकरण, ६ वटा हातहतियार नामसारी र २ हजार ३ सय ८३ भूपू सैनिक पेन्सन सिफारिस भएको प्रशासनले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै २५ लाख १३ हजार ७३ रुपैयाँ दैवी प्रकोपमा खर्च भएको कार्यालयले जनाएको छ । यस्तै द्वन्द्वपीडितका लागि २ लाख ५४ हजार ४ सय र द्वन्द्वकालमा मृत्यु तथा बेपत्ता परिवारका लागि ७ लाख रुपैयाँ खर्च भएको प्रशासनले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा विपद्बाट १४ जनाको मृत्यु, २६ जना घाइते, १६ निजी घर पूर्ण क्षति, १० निजी घर आंशिक क्षति र दुईवटा सरकारी भवन क्षति भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्