विद्युत समस्या समाधान गर्न छलफल

विद्युत आपूर्तिको दीर्घकालिन समाधानका लागि उद्योग संगठन मोरङमा छलफल भएको छ । प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवाल र भार सम्प्रेशण केन्द्रका निर्देशक सुरेश भट्टराईसँगको छलफलमा अगामी वर्ष सुख्खायाममा औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति सहज बनाउने प्राधिकरणको योजना र भोल्टेज तथा ट्रिपिङको समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको जटिल समस्या भएकोले आगामी दिनमा विद्युत आपूर्तिको सुनिश्चितता खोज्न गत साता काठमाडौं आएको उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई भेटी तत्कालको समस्या समाधानका लागि आग्रह गरेको थियो । उक्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले यो वर्ष जस्तो सुख्खायाममा विद्युत आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरे ।
त्यसैगरी गरी अध्यक्ष सुरानाले यस क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिको गत १५ दिनको तथ्यांक प्रस्तुत गर्दै ट्रिपिङ तथा लो भोल्टेज, फ्लक्चुएशनको समस्या समाधान गर्नुपर्ने जिज्ञासा राखेका थिए । प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक सिलवालले सुख्खायाममा हुने विद्युत अभाव समस्याको समाधानका लागि ढल्केवर–इनरुवा चार सय केभिए प्रसारण लाइन तथा र वर्जुको सबस्टेशन निर्माण कार्य छिट्टै सम्पन्न गर्ने बताए ।
व्यवस्थापकीय पक्षका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फल्क्च्युएशनको जस्ता समस्या न्यूनिकरणका लागि उद्योगमा स्विचिङको व्यवस्था, कटहरी करोडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायीको गुनासो सुनुवाइका लागि प्राधिकरणले कल सेन्टरलाई पूर्णरुपमा संचालनमा ल्याई प्रभावकारी सेवा प्रवाह गर्ने जानकारी दिए ।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले ट्रान्सफरमर परिक्षणका लागि हेटौडा पुर्याउनु पर्ने वाध्यता अन्त्यका लागि प्रदेश स्तरीय ट्रान्सफरमर परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्बन्धित पक्षसँग समन्वय हुनुपर्ने धारणा राखेका थिए ।