एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए «

एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए

निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम गराउनदेखि हरेक दिन के भइरहेको छ भन्ने चासो राख्नेदेखि हरेक महिनाजसो आयोजनास्थल पुगेर आयोजनालाई सफल बनाएको विवरण सुनाउँछन् घिसिङ ।

नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैँले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जस लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ ।
त्यसकाविपरित पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ । राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन् । एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्दछ । कुनै समय देशबाट विद्युत्भार कटौतीको अन्त्य हुन्छ भन्दा धेरैले पत्याएका थिएनन् । धेरैले नपत्याएको त्यो काम सम्भव भयो ।
समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । जटिल समस्यामा फसेको आयोजनालाई सफल बनाउनुपर्छ भन्ने हिम्मतका साथ एकाध मान्छे मात्रै ताते भने पनि जटिलताको चक्रब्यूहमा फसेका आयोजनालाई उर्तान सक्छन् भन्ने तथ्य पुनः स्थापित भएको छ ।
कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक सर्त । पटकपटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण । र, समयमै सम्पन्न गर्ने उद्घोष पनि । तर आयोजनाले गति लिन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।
समय बदलियो, सबै खालका विवादसमेत समाधान भयो । प्राधिकरणले पनि नयाँ नेतृत्व पायो । सरकारले आयोजनामा कुनै पनि खालको अवरोध हुन नदिने दृढता व्यक्त ग¥यो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गराउन हर प्रकारको सहयोग उपलब्ध गरायो । जसका कारण लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरूपमा निर्माण सम्पन्न भएको छ ।
आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सवस्टेसनमा जोडिएको छ ।
लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । झन्डै रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामयावी परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना आज औपचारिकरूपमा सम्पन्न भएकोे छ ।
आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न शनिबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल नै पुगे । प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुशी साटे ।
आयोजनास्थल नुवाकोट र रसुवाको सीमामा पुगेका घिसिङलाई राससले सोध्यो, “कति मेहनत लाग्यो, एउटा आयोजनालाई पूरा गर्न ?” उनले भने, “दैनिक जसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहनत र प्राधिकरणको निरन्तरको प्रयासपछि आज बल्ल खुशीको अनुभूति गर्न पाएको छु ।”
‘गोरखा भूकम्प’ पछि सबैभन्दा जटिल समस्यामा फसेको आयोजना सुरु गर्न नै ठूलो मेहनत परेको स्मरण गर्छन् घिसिङ । निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम लगाउनु नै सबैभन्दा गाह्रो काम थियो ।
इञ्जिनीयरिङ, खरिद र निर्माण (इपीसी) ढाँचामा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रूप अफ कम्पनिज (सिजिजिसी) सँग ठेक्का सम्झौता भएको थियो । भूकम्पले बाँधस्थलमा सबैभन्दा ठूलो समस्या पारेको थियो । पहुँचमार्ग भूकम्पले ध्वस्त बनाएको थियो । जिम्मेवारी लिन कोही तयार नभएका बेला नेपाली सेनाले पहुँचमार्ग बनाइदियो ।
निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम गराउनदेखि हरेक दिन के भइरहेको छ भन्ने चासो राख्नेदेखि हरेक महिनाजसो आयोजनास्थल पुगेर आयोजनालाई सफल बनाएको विवरण सुनाउँछन् घिसिङ । भन्छन्, “प्राधिकरणका सबै क्रोनिक आयोजना अब पूरा भए भन्ने स्थानमा आइपुगेको छु । यसले सुखद् भविष्यका लागि मार्ग प्रशस्त गरेको छ । नयाँ आयोजना बनाउने उत्साहसमेत थपेको छ ।”
बुधबारदेखि सुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको कमाइ गर्न थाल्छ । राजधानी काठमाडौँको विद्युत् वितरणलाई थप विश्वसनीय बनाउनसमेत बल पुग्नेछ ।
कुलेखानी तेस्रोको पनि काम सकिएपछि प्राधिकरणले रुग्ण आयोजना पालेर बसेको छ भन्ने गुनासो पनि सकिनेछ । प्राधिकरण अब साना आयोजनामा होइन ठूला आयोजना ‘छलाङ’ हान्दैछ । घिसिङ भन्छन्, “क्रोनिक बनेका आयोजना सम्पन्न भएको छ । अब हामी केही ठूला परियोजना अगाडि बढाउने अवस्थामा पुगेका छौँ । नयाँ आयोजना सुरु गर्न पनि बल मिलेको छ ।” केही जलाशयुक्त आयोजनाको शुरुआत गर्दैछ प्राधिकरण, उनले थपे । कम्पनी ढाँचामा केही ठूला अयोजना सुरु गर्ने योजनासमेत उनले सुनाए ।
माथिल्लो त्रिशूली थ्री एको विद्युत्ले राष्ट्रियरूपमा आठ प्रतिशतको हिस्सा राख्दछ । यस्तै प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्छ । सानो मेहनत परेको छैन आयोजना सम्पन्न गर्न । आधा दर्जन मन्त्री, सोही संख्यामा सचिवको चासो, प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालयसम्मको निगरानी । संसदीय समितिको पनि उस्तै तिखो नजरको सामना गरेर आयोजना सफल बनाएर उत्साहित देखिएका घिसिङले भने, “मलाई बल्ल खुशी हुने स्थानमा आइपुगे जस्तो लागेको छ ।”
पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री वर्षमान पुनले पनि आयोजनाको विवरण हरेक दिन माग्दै समस्याको समाधानमा विशेष पहल गरे । आयोजनालाई समस्यामा पारी रहने प्रवृत्तिप्रति असाध्यै सचेत देखिएका मन्त्री पुनले कार्यकारी निर्देशक घिसिङलाई कुनै पनि समस्या आउन नदिन र चनाखो भएर हेर्न बारम्बार निर्देशन दिएका थिए । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् ।
मन्त्री पुनको सोही निर्देशन र चासोले आज आइपुग्दा आयोजना सफलताको शिखरमा उक्लिएको छ । ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै समस्यै समस्याको उल्झनमा फसेको आयोजनाले सफलताको यात्रा तय गरेको छ ।

२०६७ साल जेठ १४ मा ठेक्का सम्झौता भएको आयोजना शुरुमा २०७१ साल जेठ १७ गते सक्ने लक्ष्य राखिएको थियो । क्षमता बढाउने विवाददेखि भूकम्प, नाकाबन्दीको समस्यामा फसेको आयोजना ११ वर्षपछि सकिएको छ । प्राधिकरण चिनियाँ कम्पनी गेजुवाबीच आठ करोड ९१ लाख ७८ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो ।
रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन । थोरै मान्छेले मात्रै अप्ठ्यारो कामलाई सफल बनाउँछन् र आफ्नो नाम राख्छन् भन्ने तथ्य पुनःस्थापित भएको छ । नुवाकोटको किस्पाङ–५ सिम्लेमा पुगेका घिसिङले अन्त्यमा भने, “आयोजना सफल बनाउन प्राधिकरणका कर्मचारी जस्तै सञ्चारकर्मीको पनि उत्तिकै हात छ, उहाँहरूलाई पनि मेरो बधाई छ है ।”

रमेश लम्साल-रासस

 

प्रतिक्रिया दिनुहोस्