दाङका ७ स्थानीय तहको बजेट पारित
जिल्लाका ७ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेका छन् । भने ३ वटा स्थानीय तहले हालसम्म बजेट पारित गर्न सकेका छैनन् । तुलसीपुर उप महानगरपालिका, बबइ गाउँपालिका र दगीशरण गाउँपालिकाले हालसम्म आउँदो आर्थिक वर्षको बजेट पास गरेका छैनन् । तुलसीपुर उप महानगरपालिकाको सार २७ र २८ मा बस्ने नगरसभाले बजेट पास गर्ने उपमहानगरका स्रचना अधिकारी बावुराम न्यौपानेले जानकारी दिए ।
दगिशरण गाउँपालिकाको असार २७ मा बस्ने गाउँसभाले बजेट पारित गर्ने गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिए । बबइ गाउँपालिकाको पनि असार २७ मा बस्ने गाउँसभाले बजेट पारित गर्ने गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीले जानकारी दिएका छन् । घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, बंगलाचुली र शान्तिनगर गाउँपालिकाले बजेट पारित गरेको जनाएका छन् । उनीहरु मध्ये केहीले पेश भएकै दिन र केहीले अर्कों दिन बजेट पारित गरेको जनाएका छन् ।
बजेट पारित गरेका स्थानीय तहले कसैले बहुमतको आधारमा र कसैले सहमतीमा पारित गरेको जनाएका छन् । जिल्लामा रहेका १० स्थानीय तहमध्ये दुई उप महानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (३) राजस्व र व्यय अनुमानमा प्रत्येक वर्ष असार १० भित्र बजेट पेश गर्नुपर्ने र असार मसान्तसम्म पारित गरि सक्नु पर्ने व्यवस्था छ ।
त्यसैको आधारमा स्थानीय तहहरुले बजेट असार १० मा ल्याएका हुन् । असार असान्तसम्म बजेट पारित गरेर साउन १ बाट बजेट कार्यान्वय हुने गरेको छ । घोराही उप महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँ बिनियोजन गरेको छ । चालुतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार रुपैयाँ र पुँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । ‘समृद्ध तुलसीपुरः सबैका लागि, सँधैका लागि’ नारा लिएर बजेट प्रस्तु गरिएको थियो । चालुतर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालनतर्फ कुल खर्च ४७ करोड ७ लाख १८ हजार रहेको छ । विकास र शसक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमतर्फ कुल खर्च १ अर्व ३० करोड ८८ लाख रुपैयाँ रहेको छ ।
यसैगरी वित्तीय खर्चतर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेट खर्च अनुमानको ०.८४ प्रतिशत हो । दंगीशरण गाउँपालिकाले ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट ल्याएको छ । चालुतर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगत तर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन गरिएको हो । लमही नगरपालिकाले २०८०/८१ को लागी ८५ करोड बढीको बजेट ल्याएको छ । लमही नगरपालिले ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेट ल्याएको छ ।
राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागी ६१ करोड बढी बजेट ल्याएको छ । उक्त गाउँपालिकाले चालु तर्फ ४४ करोड ९५ लाख ३६ हजार र पुँजीगततर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसैगरी गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागी ६३ करोड रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले ६३ करोड १४ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको हो । राप्ती गाउँपालिकाले ६५ करोड ७६ लाखको बजेट विनियोजन गरेको छ ।
विनियोजन गरिएको बजेट चालुतर्फ ३१ करोड ५८ लाख रहेको छ । पुँजीगततर्फ ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । बंगलाचुली गाउँपालिकाले ५७ करोड २५ लाख ८४ हजार बजेट ल्याएको छ । शान्तिनगर गाउँपालिकाले ४६ करोड १३ लाख ९३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले चालुतर्फ ३० करोड ३४ लाख ४१ हजार र पुँजीगततर्फ १५ करोड ७९ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी बबइ गाउँपालिकाले ४७ करोडको बजेट ल्याएको छ ।