Logo

लोपोन्मुख जडीबुटीको संरक्षण

प्राकृतिक स्रोतसाधनको समुचित संरक्षण र सदुपयोगले आर्थिक समृद्धि हासिल हुने कुरामा दुईमत हुन सक्दैन । तर, विडम्बना के छ भने राज्य सञ्चालकहरूको दिमागमा दिगो विकास, आर्थिक उन्नयन र सबैका लागि स्वास्थ्य भन्ने राष्ट्रिय नीतिमा हाम्रा बहुमूल्य जडीबुटीको उचित प्रयोग भन्ने साझा धारणा बन्न सकेको छैन । कुनै पनि देशको आर्थिक विकास र आर्थिक उन्नयन त्यहाँ उपलब्ध स्थानीय स्रोत र साधनको समुचित उपयोगमा भर पर्छ । हाम्रो देश जैविक विविधतामा सम्पन्न छ, तर उक्त विविधताबाट देशले चाहेजति फाइदा लिन सकिरहेको छैन ।

कैयौं बहुमूल्य जडीबुटी संरक्षणको अभावमा लोप भएर जाने अवस्थामा पुगेका छन् । देशको शासनसत्ता सञ्चालकहरूले यो वास्तविकतालाई बुझेर अघि बढ्नुपर्ने आवश्यकता छ । नेपालको कुल भूभागको करिब ३२ प्रतिशत भूभाग जंगलले ओगटेको छ । करिब १५ प्रतिशत भूभागमा साना–साना बुटा तथा झाडीले ओगटेको छ । विभिन्न प्रजातिका वनस्पतिहरू जस्तै- साल, सिसौ, निम, सिमल, गुराँस, हर्राे, बर्राे, अमला, चिराइतो, जटामसीजस्ता वनस्पति विभिन्न हावापानी र भौगोलिक अवस्थितिअनुरूप पाइन्छन् । नेपालमा करिब ७ हजार प्रजातिका वनस्पति पाइन्छन् ।

यीमध्ये १० प्रतिशत जडीबुटी प्रजातिअन्तर्गत पर्छन् । तर, हालसम्म करिब २ सय ४० प्रजातिका जडीबुटीको मात्र रासायनिक परीक्षण भएको छ । यी जडीबुटीजन्य वनस्पतिहरू उच्च हिमालयदेखि तराईका समथर भूभागसम्म उपलब्ध छन् । यस्ता जडीबुटीहरू मानव समुदायमा आदिकालदेखि नै प्रयोग हुँदै आएका छन् । अधिकांश नेपाली किसानले यिनै औषधिजन्य वनस्पतिको भरमा आफ्नो जीविकोपार्जन पनि गर्दै आएका छन् । धेरै यस्ता वनस्पति आयुर्वेदिक दृष्टिकोणले समेत महत्त्वपूर्ण भएकाले लोप हुनबाट जोगाउन सबैको दायित्व र जिम्मेवारी हुनुपर्छ ।

आज चेतनाको अभावले हो या महत्त्व नबुझेर हो, हाम्रा अमूल्य जडीबुटीहरू लोपोन्मुख अवस्थामा छन् । नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको देशका लागि यो ठूलो क्षति हो । यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पनि पार्न सक्छ । एकातर्फ प्राकृतिक वनस्पतिले वातावरण सन्तुलन कायम गरी मनोरञ्जन दिइरहेको हुन्छ भने अर्कातर्फ पर्यापर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ । प्राकृतिक वनस्पतिहरूमा औषधीय गुण पनि लुकेको हुनाले यसको संरक्षणमा सरोकारवाला सबैको ध्यान जानु जरुरी छ । मानिसले केही महत्त्व नै नदेखेका, आफ्नै खुट्टाले कुल्चेर हिँडेका जडीबुटीमा औषधीय गुण लुकेको हुन्छ ।

यस्तो अथाह सम्भाव्यता बोकेका जडीबुटीलाई केवल आयुर्वेद चिकित्साले मात्र पहिल्याउन सकेको छ । तुलसी, निम, हर्राे, बर्राे, गुर्जाे, बज्रदन्ती, जटामसी, पाँचऔलेलगायत थुप्रै नाम र पहिचान नभएका वनस्पतिको महत्त्व आयुर्वेदमा छ । इसापूर्व तेस्रो शताब्दीको कौटिल्यको अर्थशास्त्रमा पनि नेपालबाट भारततिर जाने जडीबुटीको उल्लेख भएको पाइन्छ । त्यस्तै आजभन्दा करिब ३ सय वर्षभन्दा पूर्व मल्लकालदेखि नै नेपालमा जडीबुटीको व्यावसायिक प्रयोग हुँदै आएको पाइएको छ । तर, २०३८ सालदेखि मात्रै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन हुँदै आएको छ ।

नेपालमा जुनसुकै प्रकारका रोगका लागि पनि औषधि बन्न सक्ने जडीबुटी उपलब्ध छन् । आयुर्वेदिक चिकित्सा पद्धतिमा प्रयोग भएका जडीबुटीले सामान्यदेखि जटिलसम्मका रोगहरूको उपचार सम्भव भएको छ । विभिन्न समस्याहरू जस्तै-अपच, कब्जियत, पायल्स, मधुमेह, रक्तचाप, अनिन्द्रा, पेटको गडबडी, छालाको रोगहरूमा समेत जडीबुटीको प्रयोगले उपचार सम्भव भएको पाइएको छ । जडीबुटी खासगरी औषधियुक्त र सुगन्धित तेलधारी गरी दुई किसिमका हुन्छन् । कतिपय जटिल रोगको उपचार परम्परागत आयुर्वेदिक ज्ञानबाट मात्र सम्भव नहोला, तर आयुर्वेदिक जडीबुटीसम्बन्धी ज्ञान भएका हाम्रै गाउँघरका धामी धन्वन्तरीहरूले स्थानीय स्तरमा उपलब्ध जडीबुटीको प्रयोग गरी उपचार गर्ने गरेको पाइन्छ ।

यसले पैसा र समयको समेत बचत भएको छ भने कतिपय अवस्थामा सामान्य रोगहरूसमेत निको भई स्थानीय स्तरमा लोपोन्मुख जडीबुटीको संरक्षणमा सचेतना वृद्धि भएको छ । सरकारले जडीबुटीसम्बन्धी खोज र संरक्षणको कार्यलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राखेर आयुर्वेद चिकित्सालयहरूको संख्या बढाउनेतर्फ लाग्नुपर्छ । यसले देशको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ । सृष्टिकालदेखि नै आयुर्वेद चिकित्सा पद्धतिमा मानिसको विश्वास र भरोसा रहिआएको छ । अब सरकारले आयुर्वेद चिकित्सालाई प्राथमिकतामा राखी आफ्नै भूमिमा उपलब्ध जडीबुटीको समुचित उपयोगको नीति बनाउनु जरुरी छ ।

अहिले औषधि र औषधिजन्य कच्चा पदार्थ खरिदमा देशको अरबौं रुपैयाँ विदेशिएको छ । यसले वर्षैपिच्छे विदेशी ऋणको भार बढेको छ । आफ्नै देशमा उपलब्ध कच्चा पदार्थलाई पूरै बेवास्ता गरेर आयातमुखी मात्रै हुँदा राष्ट्रहित प्रतिकूल भएको छ । वर्षैपिच्छे राष्ट्र ऋण बढेको बढ्यै छ । त्यसलाई घटाउने उपाय जडीबुटीको समुचित उपयोग विकल्प बन्न सक्छ । नेपालले सीमित मात्रामा औषधिजन्य कच्चा पदार्थ विदेशमा निर्यात गर्ने गरेको पाइन्छ, तर अवैधानिक र जथाभावी निर्यातले त्यस्ता बहुमूल्य जडीबुटीहरू लोप हुन सक्नेतर्फ पनि उत्तिकै ध्यान जानुपर्छ । उपयुक्त संरक्षण नीतिको अभावमा अहिले करिब १० प्रजातिका वनस्पति लोपोन्मुख अवस्थामा छन् ।

नेपाल सरकार वन विभागले साइटिसको लोपोन्मुख प्रजातिको सूचीमा राखिएका यी १० प्रजातिका जडीबुटीको खोजी गर्न थालेको छ । सतुवा जटामसी, कुडकी, सुगन्धवाल, भूतकेश, लोठसल्ला, पाँचऔले, वनलसुन नीरमसी तथा बिखुमा खोजी र पहिचानको पर्खाइमा छन् । जमिनको अत्यधिक दोहन, भूक्षय, बाढीपहिरोजस्ता प्रकोपले पनि बहुमूल्य जडीबुटीहरू विनाशको बाटोमा छन् । उपयुक्त नीति बनाएर होस् वा संरक्षित क्षेत्र घोषणा गरेर होस्, जडीबुटीको तस्करीलाई निरुत्साहित गर्नुपर्छ । वनविनाश नियन्त्रण र दुर्लभ मानिने वनस्पतिको संरक्षणको नीतिले पनि त्यस्ता लोपोन्मुख जडीबुटीको संरक्षणमा टेवा पुग्छ ।

जडीबुटीको सही पहिचान हुन नसक्नु र यस क्षेत्रलाई चाहिने दक्ष जनशक्तिको अभावले पनि समस्या समाधानमा अवरोध छ । जडीबुटीको व्यावसायिक खेती प्राविधिक तालिम, बजारीकरणको व्यवस्था, जनचेतनाजस्ता अभियानले पनि लापोन्मुख जडीबुटीको संरक्षणमा सहयोग पुग्छ । यसतर्फ सरकारको चासो बढ्नु जरुरी छ । जडीबुटी हाम्रा सम्पदा हुन्, यो बुझ्न जरुरी छ । अहिले हाम्रो ध्यान आधुनिक चिकित्सातर्फ केन्द्रित भएकाले जडीबुटीको महत्त्व घट्न थालेको हो । तर, कतिपय अनुभवी व्यक्तिले जडीबुटीबाटै अहिलेसम्म उपचार गरिरहेका छन् । नेपाली जनजीवनलाई रोग र बेरोजगारबाट मुक्त राख्न जडीबुटीको महत्त्वलाई प्रचारप्रसार गर्नु जरुरी छ ।

नेपाली समाजमा गाँजालाई लागूऔषधका रूपमा सरकारले परिभाषित गर्दै आएको थियो । कतिपय अवस्थामा किसानका खेतबारीमा लगाइएको गाँजालाई प्रहरी प्रशासनले नष्ट पनि गर्दै आएको थियो । तर, आव २०८०/८१ को बजेट वक्तव्यमा गाँजाको औषधिजन्य प्रयोगका लागि सम्भाव्यताको अध्ययन गर्ने भनिएकाले यसको व्यावसायिक खेती गर्ने सम्भाव्यताको ढोका खुलेको छ । ढिलै भए पनि सरकारले यसको महत्त्व बुझेको छ । यसले बाँझो जमिनलाई सदुपयोग गरी आय आर्जन गर्ने एउटा महत्त्वपूर्ण बाटो खुलेको छ । यसले देशको अर्थतन्त्रसमेतलाई उकास्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्