बडवाइजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै «

बडवाइजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै

राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डहरूको उत्पादन र बिक्री वितरण गर्नेे सम्बन्धमा एक खास साझेदार सहकार्यको सम्झौता भएको छ ।
राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबी इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेसनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो भन्दै ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्रान्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको जनाएको छ । अब, यस क्षेत्रले चाँडै नै एबी इनबेभका स्थानीय रूपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्राण्डहरू जस्तैः बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबी इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरू कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन पाउने कम्पनीले जनाएको छ ।
राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समूहले नेपालमा बहुसंख्यक डिस्टिलरीहरू, अनुसन्धान र विकास एवं वितरण इकाइहरूसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रूपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । जावलाखेल ग्रुपको उत्पादनहरूको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्रान्डहरू जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमन्ड जसले आ–आफ्नो समूहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका छन्, ती उत्पादनहरू पर्दछन् । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहका अनुसार उपभोक्ताहरूलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरूको अतुलनीय छनोट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्रान्डहरूको सूची कायम गर्न कटिबद्ध रहेको भन्दै एबि इनबेभसँगको सहकार्य कम्पनीका लागि अत्यन्त गर्वको विषय भएको बताए ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले पनि विश्वव्यापी उद्योगी साझेदारहरूद्वारा मान्यता प्रदान गरिएको आयातित उच्च गुणस्तरीय कच्चा पदार्थहरूको प्रयोग गरेर विश्वको अत्युत्तम बियरहरू उत्पादन गर्ने क्षमताका साथ नेपालमा अत्याधुनिक प्रविधिजन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बियर उत्पादन गर्ने इतिहास रचेका जनाए ।

 

प्रतिक्रिया दिनुहोस्