थप छानबिन खुला राखेर घोराही सिमेन्टको आईपीओ सुचारु

सेयरमा फर्जी आवेदनका कारण स्थगन भएको घोराही सिमेन्ट इण्डष्ट्रीको प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया पुनः अगाडि बढेको छ । धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाएसँगै आईपीओ निष्कासन प्रक्रिया फेरि खुलाइएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । योसँगै बोर्डले कम्पनीको सेयरमा परेको फर्जी आवेदन अनुसन्धानका लागि प्रहरीमा पठाउने निर्णयसमेत गरेको छ ।
बोर्डले घोराहीको आईपीओको विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक पनि गरेको छ । अध्ययनबाट कैफियत देखिएको भन्दै थप छानबिनका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने निर्णय भएको बोर्डले जनाएको छ । खातामा पैसा नभई १० लाख कित्ताका दरले परेको आवेदन सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले गरेको देखिएकाले जालसाजी भएको बोर्डले प्रहरीसमक्ष थप छानबिनका लागि सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीको आईपीओमा १२ जना आवेदकले १० लाख कित्ताका दरले १ करोड २० लाख कित्ताका लागि आवेदन दिएका थिए । प्रतिकित्ता ४३५ रुपैयाँका दरले हिसाब गर्दा यो रकम ५ अर्ब २२ करोड हो । ठूलो परिमाणको फर्जी आवेदन परेपछि बोर्डले उपकार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो ।
बोर्डले घोराहीको आईपीओको विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक पनि गरेको छ । अध्ययनबाट कैफियत देखिएको भन्दै थप छानबिनका लागि नेपाल प्रहरीलाई सिफारिस गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
केही लगानकर्ताले बैंक खातामा पर्याप्त रकम नहुँदै सर्वसाधारण लगानीकर्ताहरूलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा धेरै कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा ती आवेदकको सम्बन्ध सेयर निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धक सञ्चालक र कर्मचारीसँग भने देखिएको छैन । निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समय थप गर्न सूचना प्रकाशित गरेको हुँदा त्यसबारे थप छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
आस्वा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा पनि प्रतिवेदनमा प्रश्न उठाइएको छ । यस्तै, आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्कासन तथा बिक्री प्रबन्धकको कामकारवाही सेयर निष्कासनकर्ता कम्पनीको कामकारवाही भन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताको निष्कासनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको प्रतिवेदनले बताएको छ ।
यस्तो अवस्थामा कम्पनीको सार्वजनिक निष्कासन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको सेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार २५० रुपैयाँ कम्पनीको खातामा रकमान्तर भइसकेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी छानबिन कार्य अगाडि बढाउने गरी हाललाई स्थगन भएको निष्कासन खुला गर्ने निर्णय बोर्डले गरेको छ ।
घोराही सिमेन्ट इण्डष्ट्रीको सार्वजनिक सेयर निष्कासनका लागि सि–आस्वा प्रणालीमा दर्ता भएका आवेदनको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ । आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिनेछन् ।
यस्तै, निष्कासन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ । थप गरिएको ३ दिनमा माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभए जेठ ३२ देखि असार ४ गतेसम्म निष्कासन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समयपछि बढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिनेछ ।