Logo

आधारभूत विकास कुर्दै भेरीखोला

तातोपानी गाउँपालिका–७ की स्वयम्सेविका कलकोशे कुँवरलाई पालिकाले मोबाइल दिएको छ । गाउँमा बेतलबी डाक्टरका रूपमा काम गर्ने स्वयमसेविकालाई सूचना आदान प्रदानलाई सहज बनाउन मोबाइल दिइएको हो । तर गाउँमा टावर नै नआउने भएपछि कालकोशेजस्तै सयांैका मोबाइल प्रयोगविहीन छन् ।

मुलुकमा संघीयता आएर तीन तहका सरकार सञ्चालनमा आएको करिब ६ वर्ष बित्दा पनि पनि दुर्गम भेरीखोला क्षेत्रमा अझै आधारभूत विकास हुन सकेको छैन । घरको कोठामा बसेर देशविदेशको हरेक घटनाको जानकारी लिने, सूचना थाहा पाउने सुविधा प्रविधिको विकासले दिएको छ । तर विडम्बना तातोपानी गाउँपालिका–७ र ८ को भेरीखोला क्षेत्र अहिले पनि संचार, सडक, स्वास्थ्य, शिक्षाजस्तो आधारभूत विकास कुरिरहेको छ ।

अहिले पनि तातोपानी–७ र ८ का सर्मी, सुर्की, कयारकोट, बारगाउँ, ताम्ती, टोप्ला, डुंग्रीलगायतको आधा दर्जनबढी गाउँ संचार सेवाका लागि भौंतारिरहेका छन् । कुनै मान्छे घुम्न अवलोकन गर्न भेरी खोलाका सर्मी सुर्कीलगायतका गाउँमा गएपछि सम्पर्कविहीन हुन्छ । नत टावर आउँछ, नत इन्टरनेट चल्छ । संचार सुविधा नहुँदा कृषि, पर्यटन, जलविद्युतको अथाह सम्भावना भएर पनि भेरीखोला क्षेत्र मुलुककै दुर्गमजस्तै कहलिएको छ ।

संघीयताको ६ वर्ष बढी समय बित्दा पनि भेरीखोला क्षेत्रमा दिगो र भरपर्दो संचार सुविधा नपुग्दा नागरिकले सास्ती पाएको तातोपानी–७ का वडाध्यक्ष तिलकबहादुर रावतले बताए । उनले भने, “संघीयताले ६ वर्ष नाघ्यो । अन्य क्षेत्रमा आधारभूत विकास भएर ठूलो विकासमा समाज लम्किँदैछ । हामी भने अहिलेसम्म कोठामा बसेर सहजै फोन गर्न पाउने सुविधा छैन । गाउँमा सडक पुगे पनि गाडी पुग्न सक्दैनन् ।” भेरीखोला क्षेत्रका सबै बस्तीमा ग्रामीण सडक पुगेका छन् ।

तर नागरिकले सुविधा पाउन सकेका छैनन् । ताम्ती स्वास्थ्य चौकीमा चालु आवमा एक सय जना संस्थागत सुत्केरी गराउने लक्ष्य थियो । तर असार दोस्रो सातासम्मको तथ्यांकनुसार स्वास्थ्य चौकीमा २१ जनामात्रै सुत्केरी भएका छन् भने ४० जना महिला घरमा सुत्केरी भएका छन् । उपचार गर्न नपाउनु, सुत्केरी हुन स्वास्थ्य चौकी नआउनु केही सारो गाह्रो पर्दा सम्पर्क नगर्नु संचार असुविधादेखि सहज सडक नहुनु मुख्य समस्या रहेको ताम्ती स्वास्थ्य चौकीका सहायक इन्चार्ज सन्तोष मल्लले बताए ।

हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य हुने सडकमा एम्बुलेन्स चल्ने त कल्पना नै छैन । स्ट्रेचरमा बोकेर लैजान पनि सम्भव छैन । जसका कारण अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य छन् । स्वयम्सेविका कलकोशे कुँवर भन्छिन्, “मोबाइल छ टावर नहुँदा कुरा गर्न पाइँदैन । सडक छ गाडी सहज नहुँदा गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउन मुस्किल छ । स्वास्थ्य चौकी पुग्न घण्टौ लाग्ने भए पनि सामान्य चेकजाँचदेखि उपचारबाट नागरिक वञ्चित छन् । भेरीखोला क्षेत्रलाई हेर्नु पर्‍यो किन सधै उपेक्षामा ?”

पालिकाले भेरीखोला क्षेत्रलाई विशेष क्षेत्रका रूपमा घोषणा नगरेको पनि होइन । संघीयताका ६ वर्ष बित्दा विकास नै नभएको पनि होइन । राज्यको करोडौ लगानी भएको छ । तर संचार सेवा विस्तारका लागि ठोस पहल लगानी नहुँदा भेरीखोलाका नागरिक सधै सम्पर्कविहीन भएर बाँचिरहेका छन् । वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायतका क्षेत्रका नियमित गतिविधि, प्रगति विवरण अनलाइन प्रविष्टी गर्नुपर्ने, अनलाइनबाटै राजस्व संकलनदेखि जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायतका काम हुन्छन् ।

तर टावर नै राम्रो नआउने भएपछि उल्लेखित सेवा पाउनबाट भेरीखोलाबासी वञ्चित भएको स्थानीय शेरबहादुर रावतले बताए । पञ्चायतकालका वडाध्यक्षसमेत भएका रावतले भने, “संघीयतापछि विकास भएको कुरालाई नकार्न सकिन्न । तर आवश्कयतामुखी विकास हुन सकेन । भेरीखोला क्षेत्रमा भरपर्दो ग्राभेलको सडक, छुट्टै एम्बुलेन्स, गाउँगाउँमा स्वास्थ्य क्लिनिक, फोरजी इन्टरनेट सेवालगायतका आधारभूत विकास चाहिएको हो ।” तर अहिलेसम्मको लगानीले आधारभूत विकास अपेक्षित रूपमा नहुनु, नागरिकले ढुक्कले इन्टरनेट चलाउन त परै जावस् फोन गर्न पनि नपाउनु दुःखद पक्ष हो ।

यसमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने स्थानीय लालबहादुर रावतले दुःखेसो पोखे । वडाध्यक्ष तिलकबहादुर रावत भेरीखोला क्षेत्रलाई विशेष क्षेत्र भनिए पनि नीति कार्यक्रमदेखि बजेटमा प्राथमिकतामा नपरेको बताउँछन् । भूगोल र जनसंख्याका आधारमा आउने बजेट भागभण्डामै सीमित हुन्छ । अधिकारको लडाइँ जारी छ । भेरीखोलाबासीको साथ सहयोगले समृद्ध भेरीखोला बनाउन कार्यकालभर खट्नेसमेत उनले प्रतिबद्धता गरे ।

कुनै मान्छे भेरीखोला आउँदा सम्पर्कविहीन भएको संज्ञा दिने गरेका छन् । यो हाम्रो लागि निकै दुःखद पक्ष हो । कृषि, पर्यटन, जलविद्युत लगायतका सम्भवनाले भरिपूर्ण क्षेत्र राज्यको नजर नपुग्दा अहिले पनि आधारभूत विकास कुर्न बाध्य छ । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले भेरीखोला क्षेत्रमा भरपर्दो र दिगो संचार सुविधा पुर्‍याउन निरन्तर पहल भइरहेको बताए । उनले भने, “संघदेखि प्रदेशसम्म निरन्तर पहल गरिरहेको छु । स्थानीय तहमा स्रोत कम, आवश्यकता बढी हुँदा सबै क्षेत्रको विकास एकै पटक सम्भव छैन ।

वडामा जाने बजेट एकै क्षेत्रमा खर्च गर्न सकिन्छ । तर वडाबाट आवश्यकता पहिचान गरेर आउँदा अर्कै योजना आउँछन् । जसका कारण संचार, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता ओझेल पर्छन् ।” भेरीखोला क्षेत्रको विकासलाई प्राथमिकता दिने भन्दै संघ प्रदेशमा चुनिएका सांसद आजभोलि आफ्ना समस्याप्रति अनुदार भएको स्थानीय दलबहादुर रावतको दुःखेसो छ । चुनावमा केके गर्छौं भनेर भोट मागेका संघीय सांसद ज्ञानेन्द्र शाही, प्रदेश सांसद देवेन्द्रबहादुर शाहीलगायतका सांसद आश्वासन दिएर फेरि नआएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्