असारे विकासको असरल्ल परिणाम «

असारे विकासको असरल्ल परिणाम

इलाम-असार मसान्तमा वर्षभरीको कामको अन्त्य हुन्छ । अर्थात् आर्थिक वर्षको अन्त्य हुने महिना भएकाले धेरै विकास निर्माणका काम असार मसान्तमा नै हुने गरेका छन् । वर्खायाममा गरिएका कामले दिगो विकास हुन नसक्ने विज्ञहरूले बताइ रहे पनि सरकारले हरेक आर्थिक मसान्तमा वर्षभरीका कामको अन्त्य गर्ने गरिरहेको छ ।
असार मसान्तमा गरिएका काम गुणस्तरहीन भएकै कारण लामो समय टिक्न नसक्ने ज्वलन्त उदाहरण इलाम चुलाचुली गाउँपालिका र सन्दकपुर गाउँपालिकाका खोलामा निर्माणाधीन पुल खोलाले बगाएर पूर्णरूपमा क्षति पु-याएकोलाई दिन सकिन्छ ।
चुलाचुली गाउँपालिका–१ अन्तर्गत कमल खोलामा निर्माण सम्पन्न भएको तटबन्ध पूर्णरूपमा बाढीले बगाएको छ । प्रदेश–१ सरकारको ७० लाख रुपियाँको लागतमा उपभोक्ता समितिमार्फत् सम्पन्न भई असार २७ गते स्थानीय सरकारलाई जिम्मा लगाइएको तटबन्ध बाढीले बगाएपछि अहिले गाउँ नै डुवानको खतरामा छ । उक्त तटबन्ध भत्किएपछि ५० बढी घरपरिवार अहिले जोखिम मोलेर बसिरहेका छन् । वडा नम्बर १ का वडाध्यक्ष पूर्ण लावतीले हिउँद भरी खोला छेक्न काम गरे पनि बर्खा लागि सक्दा बगाइ दिने गरेकाले आफूहरू समस्यामा परेको बताए । उनले प्रदेश र संघीय सरकारले तटबन्ध निर्माणमा चासो दिनुपर्ने बताए ।
गत आर्थिक वर्षमै गाउँपालिकाले कमल खोलामा स्थायी तटबन्ध निर्माणका लागि १८ करोड रुपियाँ लागतको डीपीआर गरेर प्रदेश र संघीय सरकारमा पठाए पनि कतैबाट ध्यान दिएकोे छैन । वडा नम्बर तीन, चार, पाँच र छ मा समेत स्थानीय खोलाले कटान गरिरहेको छ । कटानका कारण उक्त वडामा समेत दर्जनौ परिवार विस्थापित भइसकेका छन् । कमल, रतुवा, चाजो, मावा बाघद्वारलगायतका दर्जनौ ठूला–साना खोलाले जताततै कटान गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालले विपद्को समयमा स्थानीयको ज्यान जोगाउनेवाहेक आफूहरूसँग कुनै उपाय नभएको बताइन् । उनले गाउँपालिकाको सानो बजेटले टालटुले काम मात्र हुने भएकाले राज्यले नदीनाला व्यवस्थित गर्न ध्यान दिनुपर्ने बताइन् । उनले एकातिर छेक्दा अर्कातिर बगाउने भएकाले व्यवस्थित बसोबासमा समस्या भएको भन्दै चिन्ता ब्यक्त गरिने ।
उपाध्यक्ष दाहालले चुलाचुलीलगायतका चुरे क्षेत्रको जोखिम न्यूनीकरणका लागि माथिल्लो क्षेत्रदेखि नै व्यवस्थित गर्नुपर्ने बताइन् । उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सांसद धिरेन्द्र शर्माले तटबन्ध निर्माणका लागि प्रदेश सरकारले समेत ठोस कार्यक्रम नल्याएको जानकारी दिए । कमल खोलामा तटबन्ध निर्माणका लागि चालू आर्थिक वर्षमा १० लाख रुपियाँ मात्र रकम विनियोजन भएको बताए । सांसद शर्माले तटबन्ध निर्माणका लागि आफूहरूले संघीय सरकारसँग पहल गरिरहेको बताए ।
त्यस्तै माईखोलामा आएको बाढीले निर्माणाधीन पुल नै बगाएको छ । उक्त पुल गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल असार महिनामा नै आएको बाढीले बगाएको हो । ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो ।
तीन करोड १७ लाख रूपैयाँमा निर्माण भइरहेको पुल साधारण बाढी नै थाम्न नसकेर ढलेको स्थानीयको भनाइ छ । सन्दकपुर गाउँपालिका–५ का वडाध्यक्ष जीतबहादुर साँवाले ढलान गर्न ठीक्क पारिएको समयमा बाढी आएर बगाएको बताए । पुल बन्यो भनेर ढुक्क भएका उनी जस्तै स्थानीयमा पुनः खोला तर्न समस्या हुने भन्दै चिन्तामा छन् । भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा यो पुलको ठेक्का स्थानीय निकायको चुनावकै बेला लागेको थियो । शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो ।
भौतिक पूर्वाधारण मन्त्रालयको बजेटमा यो पुलको ठेक्का स्थानीय निकायको चुनावकै बेला लागेको थियो । शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो । तर, लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि नबढाएको बुझिएको छ । वैशाखबाट पुल निर्माण थालिएकाले पनि यस्तो भएको स्थानीयको भनाइ छ ।
बाढीले पुलको होमपाइपहरू, रड, फर्माहरू बगाएको छ भने पिलर ढालेको छ । ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरूपले क्षति भएको छ । ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको थियो । यो पुल सम्झौताअनुसार गत वर्षको मंसिरमै सक्नुपर्ने भए पनि जिल्ला पूर्वाधार कार्यालयले समयमा बजेट निकासा गर्न नसक्दा काम रोकिएको ठेकेदार चिपालुको भनाइ छ । आठ महिना त पूर्वाधार कार्यालय नै जिल्लामा नबसेको उनी बताउँछन् ।
साबिक सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने गरेको छ । काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय तथा सवारी धनी समस्यामा छन् ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्