करोडौं लगानीको बाटामा चल्दैनन् गाडी «

करोडौं लगानीको बाटामा चल्दैनन् गाडी

अर्घाखाँची जिल्लामा आर्थिक वर्ष ०७५-७६ मा बाटोका लागि अर्बाै रुपैयाँ विनियोजन भएको थियो ।
प्रदेश नम्बर ५ सरकारले मात्रै करिब १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारकै जोड सडक खन्नमै थियो । हिउँदको समयमा धुलाम्मे हुने अर्घाखाँचीका सड्क वर्षामा हिलाम्मे भए । प्रदेश सरकारले पाणिनी गाउँपालिकाको भन्ज्याङ–धातिवाङ–नेटा सडकका लागि १ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको थियो । बाटो डबल कटिङ भएर बस चढ्ने आशामा रहेका यहाँका बासिन्दा बस चढ्न पाएनन्, वर्षाभरि जताततै पहिरो खस्दा पैदल यात्रामा घुम्तीसम्म आउनुपरेको स्थानीय बताउँछन् । चैतमा बाटो डबल कटिङ सुरु भएको असारको पहिलो सातासम्म काम सञ्चालन भएको थियो, काम सकिएको दुई दिनपछि पानी आउन सुरु ग-यो, बाटा भत्किए धातिवाङका गोविन्द पौडेलले भने । महिनौ दिनसम्म धातिवाङमा बुटबलबाट यातायातका साधन आएका छैनन् । बुटवल जानका लागि सदरमुकाम सन्धिखर्क आएर जान बाध्य छन् ।
जिल्लाका अधिकांश गाउँपालिकाको केन्द्र पुग्ने सडक र वडा कार्यालयको सडक सम्बन्ध विच्छेद भएको छ । वडा कार्यालयदेखि गाउँपालिका तथा जिल्ला सदरमुकाम सन्धिखर्क जोड्ने सडक अवरुद्ध हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् । हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढा भएका हुन् । जिल्लाको धनचौरमा पनि वर्षाकै कारण यातायातका साधन सञ्चालन हुनसकेका छैनन् । बाटाहरु डबल कटिङ नहुँदासम्म यातायातका साधन सञ्चालन भएका थिए, डबल कटिङ भएपछि सड्क हिलाम्मे भए, ग्राभेल नहुन्जेल गाउँका स्थानीय बासिन्दालाई यात्राका लागि निकै गाह्रो छ, धनचौरका लेखनाथ पाण्डेले भने ।
भूगोलले धेरै क्षेत्र ओगटेको सितगंगा नगरपालिकाले मोटरबाटोलाई बर्सेनि प्राथमिकतामा राखेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा पनि स्तरोन्नतिका लागि ४ सडकलाई प्राथमिकतामा राखेको नगरप्रमुख सूर्य अधिकारीले बताए । ग्रामीण भेगबाट सदरमुकाम सन्धिखर्क पुग्नका लागि जिल्लावासी पैदल हिँडेर सन्धिखर्क तथा स्थानीय सरकारको केन्द्रमा पुग्ने गर्छन् । असार मसान्तको समयमा भुक्तानी लिनका लागि पैदल हिँडछन् ।
जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण भत्किएका सडक मर्मत गर्नका लागि स्थानीय सरकारले काम सुुरु गरेका छन् । बाटो मर्मत गर्नका लागि कति रुपैयाँ खर्च लाग्छ, प्राविधिकको स्टिमेटअनुसार काम अगाडि बढाएका छौँ, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्