नयाँ फन्ड बिकाउन म्युचुअल फन्डहरू चारो छर्दै «

नयाँ फन्ड बिकाउन म्युचुअल फन्डहरू चारो छर्दै

म्युचुअल फन्डले बाध्यताले कमाइ नै निखारेर लाभांशका रूपमा सम्भावित लगानीकर्तालाई देखाउन मात्र चारो छरेको आभास दिएका छन् ।
स–साना रकम एकत्रित गरी ठूलो लगानी कोषको सिर्जना गरी जोखिम र प्रतिफलको सन्तुलन कायम हुने गरी प्रभावकारी लगानी व्यवस्थापनमार्फत एकाइधनी (युनिटहोल्डर) लाई उच्चतम प्रतिफल दिलाउनु सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आधारभूत सिद्धान्त हो । व्यक्तिगत वा म्युचुअल फन्डको लगानीमा अधिकतम नाफा प्रमुख उद्देश्य भए पनि जोखिम व्यवस्थापनका हिसाबले भिन्नता हुन्छ । फन्ड संस्थागत लगानीकर्ताका रूपमा आरक्षण र सहुलियत पाउनुका साथै कोष परिचालन र व्यवस्थापन गर्न दक्ष योजना व्यवस्थापक, डिपोजिटरी तथा सुपरिवेक्षण र नियमन गर्न विज्ञहरूको कोष सुपरिवेक्षक समूहको व्यवस्था हुन्छ । यसबापत व्यवस्थापकले २, डिपोजिटरी तथा सुपरिवेक्षक समूहले दुवैले ०.५ प्रतिशतसम्म शुल्क लिन्छन् । तर, सञ्चालनमा रहेका अधिकांश म्युचुअल फन्डको अवस्था हेर्दा जोखिम र लगानी व्यवस्थापन दुवैमा चुकेका देखिन्छन् ।


म्यचुअल फन्डहरूको उपस्थिति

हुन त विगतमा पनि १० वर्षे अवधीको एनसीएम म्युचुअल फन्ड थियो, तर बजारमा म्युचुअल फन्डहरूको विकास र विस्तार सामूहिक लगानी कोष नियमावली २०६७ जारी भएको पछि मात्र भएको देखिन्छ । २०६९ पुषमा आएको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ (एसआइजिएस—१) र चैतमा आएको नविल ब्यालेन्स फन्ड–१ (एनविएफ—१) आफ्नो ५ वर्षे अवधि पूरा गरेर खारेज भएका छन् ।
आर्थिक वर्ष (आव) २०७५-७६ मा धितोपत्र बोर्डबाट ६ वटा म्युचुअल फन्डको ६५ करोड ५० लाख इकाई बिक्री गर्न स्वीकृति दिएकोमा खुल्ला प्रकृतिको एनआईबीएल सहभागिता र बन्द प्रकृतिको नविल ब्यालेन्स फन्ड–२ र सिटिजन्स म्युचुअल फन्ड–२ बिक्रीपश्चात् बजारमा आएको छ ।
आव ७५-७६ को अन्तसम्म एक खुल्ला र १५ बन्दमुखीसमेत बजारमा उपस्थिति जनाएका १६ म्युचुअल फन्डले करिव १४ अर्ब ८३ करोड ५२ लाखको कोष सिर्जना गरी लगानी परिचालन गरेका थिए । यसमध्ये सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम (एसईओएस) अवधि सकिएर बन्द भइसकेको छ भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ (एनएमबीएसएफ–१) र लक्ष्मी भ्यालु फन्ड–१ (एलभिएफ–१) को क्रमशः आगामी कार्तिक र चैतमा अवधि सकिन्छन् । एनएमबी–५०, एनआईसी एसिया ब्यालेन्स फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ बिक्रीको चरण रहेका छन् भने स्वीकृतिको पखाईमा रहेका ग्लोबल आइएमई ब्यालेन्स फन्ड, सनराइज फस्ट म्युचुअल फन्ड र लक्ष्मी उन्नती कोष छन् समेत आउँदा १९ वटा म्युचुअल फन्डका योजनाहरू हुनेछन् । बजारमा ५, ७ र १० वर्ष अवधिका फन्डहरू रहेका छन् ।

असार मसान्तको अवस्था

मसान्तसम्म सञ्चालनमा रहेका १६ म्युचुअल फन्डहरूको अपरिस्कृत मासिक विवरणबाट ६ वटा फन्डहरूको खुद सम्पत्ति मूल्य (न्याभ) ऋणात्मक रहेको देखिन्छ । आव ७४-७५ को तुलनामा एनआईबिएल समृद्धि फन्ड–१ (एनआईबीएसएफ–१), एनएमबीएसएफ–१ र एसईओएसको न्याभ घटेको छ भने अरुको सामान्यरूपमा बढेको छ । सिटिजन्स म्युचुअल फन्ड–१ (सिएमएफ–१) र सिद्धार्थ इक्विटी फन्ड (एसईएफ) ले ७४-७५ असार मसान्तको तुलनामा ११.०६ र १०.४१ प्रतिशतले न्याभ बढाउन सफल भएका छन् ।


प्रतिफलको अवस्था

म्युचुअल फन्डहरूबाट न्याभमा वृद्धि हुँदा सम्पत्ति बढेर र नगद लाभांश गरी दुई किसिमको प्रतिफल अपेक्षा गर्न सकिन्छ । सञ्चालन रहेका हालसम्म ५ वटाले आव ७५-७६ का लागि लाभांश घोषणा गरेका छन् भने न्याभ नै ऋणात्मक भएका ६ वटाबाट लाभांशको अपेक्षा गर्न सकिन्न ।
आव ७४-७५ सम्म वितरित लाभांश र ७५-७६ असार मसान्तको खुद सम्पत्ति हेर्दा २०७१ सालमा बजार छिरेका एलभीएफ–१ ले ६५.८०, एनएमबिएसएफ–१ ले ८१.३०, एनआईबीएसएफ–१ ले ५१.९० र एसईओएसले ६६.१० प्रतिशतको प्रतिफल आर्जन गरेको देखिन्छ । तर, २०७२ र २०७३ मा बजार छिरेका ग्लोबल आईएमई सम्मुनत योजना–१, नविल इक्विटी फन्ड र एनआईबिएल प्रगति फन्डले लाभांश दिनु त परको कुरा न्याभ समेत अंकित मूल्य रु. १० भन्दा घटाएर लगानीकर्तालाई नोक्सानी पुर्याएका छन् । २०७३ मै आएको एनएमबी हाइब्रिड (एनएमबीएचएफ–१) ले भने ७५-७६ को १० प्रतिशत लाभांश घोषणा गरेको छ तर उसको प्रतिफल पनि निकै कम १० प्रतिशत हाराहारी मात्र देखिएको छ । बरु २०७४ मा सिटिजन्स म्युचुअल फन्ड–१ ले १३.५०, एनआइसी एसिया ग्रोथ फन्ड –एनआईसीजिएफ) ले ११.८०, सानिमा इक्टिी फन्ड (एसईएफ) ले १०.३० प्रतिशत कमाउँदा लक्ष्मी इक्विटी फन्ड अझै ९ प्रतिशत घाटामा छ । एनआईसीजीएफले ७५-७६ का लागि १० प्रतिशत लाभांशसमेत घोषणा गरेको छ ।
म्युचुअल फन्डको विगतको लाभांश हेर्दा पाँच वर्षमा एसआईजिएस—१ मा २४२ प्रतिशत र एनविएफ—१ मा १ सय ७५ प्रतिशत हाराहारी प्रतिफल दिएको देखिन्छ । तर, यसपछिका म्युचुअल फन्डहरूको प्रतिफल सन्तोषजनक देखिएको छैन । विशेष गरी २०७२ र २०७३ मा आएका फन्डहरूले लगानीकर्ताहरूलाई उल्लेख्य घाटामा पु¥याएका छन् भने त्यसपछिकाहरूको अवस्था केही सहज देखिन्छ ।
हुन त सेयर बजारको जोखिम रहने म्युचुअल फन्डहरूले बजार घटेकै कारण अपेक्षित प्रतिफल हासिल गर्न नसकिएको र बरु २५ प्रतिशत हाराहारी बजार घट्दासमेत एकाइको न्याभ उल्लेख्य रूपमा सुरक्षित राख्न सकेको सगौरव बताउँछन् । तर, योजनाका विवरण–पत्रमा प्रक्षेपित लाभांश र न्याभसँग हालको अवस्थाको तुलना गर्दा क) योजना व्यवस्थापकहरूले बजार जोखिम सही तरिकाले आंकलन गर्न असमर्थ भएका, वा ख) गलत विवरण प्रस्तुत गरेर फन्डका एकाइहरू बेचेको, वा ग) बजारको प्रकृतिअनुरुप लगानी व्यवस्थापन गर्न असमर्थ भएको देखिन्छ ।
यसै वर्ष लाभांश घोषणा गरेका एनएमबीएचएफ–१, एनआइसीजिएफ र एसईएफले पनि नयाँ योजनाका एकाइहरू बिक्री गर्ने बाध्यताले कमाई नै निखारेर लाभांशका रूपमा सम्भावित लगानीकर्ताहरूलाई देखाउन मात्र चारो छरेको आभास दिएका छन् । यिनीहरूको लाभांश र कुल प्रतिफल हेर्दा लगानी गर्न अगाडि दोहोर्याएर सोच्नु र विवरणपत्र पढ्नुपर्ने देखिन्छ । केही योजनाहरूले त न्याभ बढ्ने र पुनःलगानीको कुरा उल्लेख गर्दै लाभांशको कुरा नै लेखेका छैनन् भने कतिले कुन वर्ष न्याभ कति हुने समेत उल्लेख गरेको देखिँदैन ।

म्युचुअल फन्डमा लगानी निर्णय

पैसा बचत वा लगानीका लागि सेयरमा लगानी, म्युचुअल फन्ड, मुद्दती बचत वा ऋणपत्रजस्ता सहज विकल्पहरू उपलब्ध छन् । लगानी परिचालन तथा जोखिम व्यवस्थापन र सेयर बजारको अवस्था अनुसार लागत र प्रतिफल फरक हुन सक्छ । म्युचुअल फन्ड सामूहिक रूपमा सञ्चालन गरिने हुँदा व्यवस्थापन, डिपोजिटरी, सुपरिवेक्षक र केही अन्य खर्चहरू लाग्छ नै । आफंैले लगानी व्यवस्थापन गर्दा पनि प्रत्यक्ष र अप्रत्यक्ष लागत हुन्छ । मुद्दती र ऋणपत्रमा भने व्यवस्थापन लागत शून्यसरह र निश्चित प्रतिफल हुन्छ ।
म्युचुअल फन्डमा लगानी गर्ने वा नगर्ने निर्णय गर्दैगर्दा क) आफ्नो लगानी व्यवथापन र जोखिम लिने क्षमता, र ख) अपेक्षित प्रतिफललाई विचार गर्नुपर्छ । म्युचुअल फन्डमार्फत नै लगानी गर्दा क) योजना व्यवस्थापकको पृष्ठभूमि र प्रतिफलको अवस्था, र ख) विवरणपत्र राम्ररी अध्ययन गर्नुपर्छ ।
म्युचुअल फन्डहरूले योजनाको नाम जे राखे पनि र विवरणपत्रमा जे लेखे पनि सामान्यतः उनीहरूले लगानी गर्ने भनेको मुख्य रूपमा सेयर, मुद्दती र ऋणपत्र नै हुन् । एकत्रित र ठूलो कोष, दक्ष जनशक्ति, जोखिम व्यवस्थापकीय सीप, बजार पहुँच, प्रविधिमा लगानी क्षमता आदिका साथै पुँजीगत लाभकर, आयकर, लाभांश करमा छुट अनि आईपीओमा प्राप्त हुने आरक्षणले गर्दा सेयरमा व्यक्तिगत लगानी भन्दा म्युचुअल फन्डमा लगानी आकर्षण र बढी प्रतिफलको अपेक्षा रहन्छ । तर, विगतका केहीलाई छोड्ने हो भने सञ्चालनमा रहेका प्रायः म्युचुअल फन्डमा भन्दा स्वयम् लगानी व्यवस्थापन वा मुद्दती निक्षेप वा ऋणपत्रमा बढी प्रतिफलको सम्भावना देखिएको छ ।
आफंैले सेयरमा लगानी गर्दा जोखिम विश्लेषण र लगानी व्यवस्थापनका सबै काम आफैं गर्नुपर्दा केही अप्रत्यक्ष लागतको सिर्जना त हुन्छ, तर सही ढंगले लगानी परिचालन र जोखिम व्यवस्थापन गर्न सके सहज र प्रतिफलदायी हुन सक्छ । फन्डले पाउने सुविधा र कर छुट भने पाइँदैन र बजारमा तिनैसँग प्रतिस्पर्धा गनुपर्ने हुन्छ ।
जहाँसम्म लगानी र जोखिमको ज्ञान नभएका तर सेयरमा थोरै–थोरै भए पनि लगानी गरौं भन्ने साना लगानीकर्ताहरूका लागि भने केही कम प्रतिफल भए तापनि म्युचुअल फन्डहरू उपयुक्त हुन सक्छन् । यसको विपरित सेयर बजारको जोखिम लिन नचाहने र नियमित निश्चत प्रतिफल चाहने व्यक्तिहरूका लागि भने बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेप वा ऋणपत्रहरू नै बढी सुरक्षित र उपयुक्त हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्