मुलुकभर दूध अभाव «

मुलुकभर दूध अभाव

डेरी उद्योगहरूले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र भारतबाट स्कीम मिल्क पाउडर (एसएमपी) आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो ।
दूध आपूर्ति कम हुँदा काभ्रैको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नोभा डेरीेले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाएको छ । “एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा आज (शनिबार) एक पोका दूध पनि बजारमा पठाउन सकिएन,” नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालिका सञ्चालक दिपक खड्काले भने, “बजारमा उच्च माग रहेको सिजनमा ३० प्रतिशत घटाएर पठाइरहेका छौं, विस्तारै उद्योग धरासयी हुने अवस्थामा छ ।” दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटरमात्र नियमित उत्पादन भइरहेकोमा त्यो पनि घटेर ६ हजारमा पुगेको उनले बताए ।
राजधानी आसपासका नोभाजस्ता तीन दर्जन डेरी उद्योग छन् भने मुलुकभर करिब २ सयको संख्यामा औपचारिक रूपमा दर्ता भइ सञ्चालमा आएका डेरी रहेको अनुमान छ । करिब ३० अर्बको लगानी रहेको निजी दुग्ध उद्योगहरूको लगानी डुब्ने खतरा रहेको भन्दै उद्योगीहरूले सरकारसँग दुग्ध आपूर्ति सहज बनाइदिन माग गरेका छन् । “हाम्रो उद्योग चल्ने कच्चा पदार्थले हो, अहिले झोल दूधको आपूर्ति ३० देखि ४० प्रतिशतले घट्न थालेको छ भने पाउडर दूध उपलब्ध नै छैन,” नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, “आयात नै हुनपर्छ भन्ने छैन तर हामीलाई आवश्यक पर्ने कच्चा पदार्थ यहाँ उपलब्ध हुनुप¥यो, नहुने भए केही समयका लागि भए पनि आयात गर्न दिनुप-यो ।” उनले पाउडर दूध उत्पादन गर्ने नेपालका तीन वटै उद्योगले पाउडर दूध दिन नसक्ने प्रतिक्रिया आएपछि मन्त्रालयसँग पटक पटक सहजीकरणको लागि अनुरोध गरेको बताए ।
आठ महिनाअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले स्वदेशी दुग्ध उत्पादनको क्षेत्रको प्रवद्र्धन गर्न भन्दै छोटो समयका लागि आयातमा अनौपचारिक रूपमा रोक लगाएका थिए । यसअघि चकलेट र विस्कुट उत्पादक कम्पनीहरूले एसएमपी आयात नहुँदा कच्चा पदार्थ अभाव भएको भन्दै गुनासो गरेका थिए भने हाल दैनिक बजारमा दूध पठाउन उद्योगहरूले नै कच्चा पदार्थ नपाउदा उद्योग नै बन्न गर्ने अवस्था आएको गुनासो गरेका छन् । नेपालमा फागुनदेखि भदौसम्म दूध कम उत्पादन हुने (लिन) सिजन र असोजदेखि माघसम्म दूध बढी उत्पादन हुने (फ्लस) सिजन चल्ने गरको छ । कम उत्पादन हुने समयभन्दा दुई महिनाअघि अनौपचारिक रूपमा पाउडर आयातमा रोक लगाएका मन्त्री चक्रपाणी खनाल एसएमपी आयात नखोल्ने अडानमा छन् भने झोल दूध आयातको लागि अनुमति दिइसकेका छन् ।
निजी डेरी मात्र नभइ औपचारिक दूध आपूर्तिको करिव आधा हिस्सा ओगट्ने सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले संकलन गर्ने दूध समेत दैनिक ३० देखि ३५ हजार लिटर घटेको छ । “साउन महिनामा धार्मिक कर्म गर्नु पर्ने भएकाले दूध कृषकस्तरमै बढी खपत हुन्छ भने सहरमा पनि माग बढ्न थाल्छ,” संस्थानका योजना, मानव संशाधन तथा बजार व्यवस्थापन प्रमुख संजीव झाले भने, “हाम्रो उत्पादनको माग पूर्ति गर्न भारतको पटना डेरीबाट झोल दूध ल्याउन प्रक्रिया अगाडि बढाएका छौं ।” उनले भदौदेखि केही राहत हुने र कात्तिकदेखि बल्ल आपूर्ति व्यवस्थामा सुधार हुन सक्ने बताए । हालै सम्पन्न संस्थानको वार्षिक उत्सवमा बोल्दै कृषि मन्त्री चक्रपाणी खनालले केही समयका लागि भारतबाट झोल दूध आयात खुलाउने घोषणा गरेका थिए ।
दूध अभाव उपत्यकामा मात्र नभएर पोखरा, चितवन र बुटवललगायतका सहरमा पनि बढ्न थालेको छ । “आइसक्रिम, चिज, पनिर, दहीलगायतका दूधका परिकारहरूको माग बढ्दो छ, यो राम्रो कुरा हो तर एसएमपी नभएपछि दूध नभएको समयमा उत्पादन कसरी उत्पादन गर्ने?,” बुटवलका दुग्ध उद्योगी तथा नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष मेघराज भण्डारीले भने, “माग भयो भने जसरी पनि बोर्डरबाट लुकिछिपी भए पनि ल्याउँछन्, कालोबजारी मौलाउछ, बरु केही समयलाई खुला गर्नुपर्छ ।”
साना डेरीहरूलाई झोल दूध ल्याएर चलाउन समेत गाह्रो हुने भएकाले एक महिनाका लागि मात्र भए पनि एसएमपी खुला गरिनुपर्ने उनको भनाइ छ । आफ्ना मातहतका डेरीलाई मात्र वार्षिक ३ हजार मेट एसएमपी आवश्यक पर्ने तर भएका उद्योगले आधा जति पनि उत्पादन नगरेको एसोसिएसनले जनाएको छ । यो सिजनमा दैनिक २० हजार किलो एसएमपी आवश्यक रहने र फ्लस सिजनमा पनि दैनिक ६ हजार किलो एसएमपी आवश्यक पर्ने एसोसिएसनको तथ्यांक छ ।
गत वर्ष मुलुकभर २२ लाख १२ हजार मेट्रिक टन झोल दूध उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । झोल दूधमा आवश्यक मात्रा फ्याटको मात्रा ४ प्रतिशत र एसएसएफ (ठोस) ८ प्रतिशत पु-याउन सबैजसो उद्योगले पाउडर दूध प्रयोग गर्छन् । अघिल्ला वर्षहरूमा ६ देखि ७ करोड रकम बराबरको पाउडर दूध आयात भएकोमा गत वर्षको आयातमा ५१ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा पाउडर दूध उत्पादन गर्ने सुजल डेरी पोखरा, चितवन मिल्क चितवन र दुग्ध विकास संस्थानको विराटनगर प्लान्टबाट मात्र हुदै आएको छ । झोल दूध नपाउदा डीडीसीको पाउडर प्लान्टले एसएमपी उत्पादन बन्द गरेको छ भने अन्यले पनि चलाउन सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्