नौ बुँदे सहमतिपछि सुक्खा बन्दरगाह सुचारु «

नौ बुँदे सहमतिपछि सुक्खा बन्दरगाह सुचारु

वीरगन्ज-भन्सार क्लियरिङ एजेन्टहरूले काम नगरेपछि ठप्प भएको सुक्खा बन्दरगाह भन्सार शनिबारदेखि सुचारु भएको छ । हिमालयन टर्मिनल प्रालिको मनोमानी र प्रमुख कार्यकारी अधिकृतको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै काम ठप्प पारेर भन्सार क्लियरिङ एजेण्टहरू आन्दोलनमा उत्रिएका कारण दुईदिन ठप्प भएको सुक्खा बन्दरगाह भन्सार शनिबारदेखि सुचारु भएको हो ।
भन्सार क्लियरिङ एजेण्ट संघ र टर्मिनलबीचको विवाद नौ बुँदे लिखित सहमतिपछि सुल्झिएको छ । दुवै पक्षबीच भएको नौबुँदे सहमतिमा सिपिङ कम्पनीहरूको कन्टेनर मूलगेटमा रोक्न नपाउने, टर्मिनलको गल्तीले कन्टेनर लोड नभएको खण्डमा सम्पूर्ण जिम्मेवारी टर्मिनलले लिने, भन्सारको चारवटै गेटहरू खुला राख्ने, हिमालयन टर्मिलनमा कुनैपनि सूचना लिन जाँदा अभद्र व्यवहार नगर्ने सहमति भएको छ । यस्तै साउन १७ र १८ गते भन्सारमा काम ठप्प हुँदा भएको क्षतिको सम्पूर्ण जिम्मेवारी हिमालयन टर्मिनलको हुने, टर्मिनलबाट कार्यादेश पत्र (जब कार्ड) काट्ने समय निर्धारण गर्ने, सहायता कक्ष (हेल्पलाइन) को व्यवस्था गर्ने, प्रत्येक महिनाको एकपटक बैठक बस्नेलगायत सहमति भएको छ ।
बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीको व्यवहार अशिष्ट रहेको र सेवा लिन आउने सेवाग्राहीसँग पनि अभद्र व्यवहार गर्ने गरेकोले काम गर्न सक्ने अवस्था नरहेको भन्दै भन्सार क्लियरिङ एजेण्टहरू बिहीबारदेखि आन्दोलित थिए । भन्सार क्लियरिङ एजेण्टहरू काम नै बन्द गरेर बसेका कारण दुई दिन सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली पनि प्रभावित भएको थियो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक औसतमा १२ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत चौधरी पटक पटक विवादमा आउने गरेका छन् । विभिन्न सरोकारवालाहरूसँगको छलफलमा समेत चौधरीले खरो स्वभाव देखाउने गरेका छन् । टर्मिनलमा विभिन्न शीर्षकहरू शुल्कहरू लिने गरेको भएपनि सुविधाहरू केही पनि नदिएको व्यावसायीहरूले बताएका छन् । टर्मिनल भित्र पार्किङको शुल्क लिइन्छ । तर, न त खानेपानी न त शौचालयकै व्यावस्था गरेको छ । टर्मिनलभित्र शौचालय र खानेपानीको सुविधा नहुँदा पार्किङ शुल्क तिरेका सवारी साधनका चालकहरूलाई शौचालय र खानेपानीका लागि टर्मिनल बाहिर आउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । टर्मिनलको व्यवहार व्यवसायीहरूलाई पनि मन परेको छैन । तर, कयौं पटक गुनासो गर्दा समेत कुनै सुधार हुन नसकेपछि व्यवसायीहरूले गुनासो नै गर्न छाडेका छन् । आयात तथा पारवहन सहजीकरणका लागि वीरगन्जमा पटक पटक विभिन्न सरोकारवालाहरूसँगको छलफलमा पनि उनले व्यवसायीहरूकै गल्ती देखाउने गरेका छन् ।
उनको व्यवहारले आयातकर्ताहरू उनीसँग संवाद गर्न समेत मन नपराउने गरेको एक आयातकर्ताले बताए । प्रमुख कार्यकारी अधिकृत चौधरी आपूm अनुकूलको काम गर्न रुचाउने र नेपाली आयातकर्ताहरूलाई दुःख मात्रै दिन खोज्ने प्रवृत्तिको भएकोले काम गर्न समस्या भएको उनको भनाइ छ । टर्मिनलका प्रमुख कार्यकारी अधिकृत चौधरीको कार्यशैलीले आफ्ना कर्मचारीहरू पनि काम गर्न जान नमान्ने गरेको एक क्लियरिङ एजेण्टले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

 

प्रतिक्रिया दिनुहोस्